सिन्धुपाल्चोक। भोटेकोशी बाढीको कटान र सडक माथिबाट आएको पहिरोका कारण अरनिको राजमार्गको बाह्रबिसे लिपिङ मार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ ।
एक हप्तादेखि उक्त सडकमा पहिरो जान थालेपछि कुल २६ किलोमिटरको उक्त सडक खण्डमा सवारीसाधान संचालन पूर्ण रुपमा बन्द भएको हो ।
भोटेकोशी नदीको बाढीले डाक्लाङमा ठूलो पहिरो गएको छ । झण्डै दुई मिटर सडक नदीले कटान गरेको छ । सो सडकमा ट्रयाक समेत खन्न नमिल्नेगरि सडक बगेको छ ।
त्यस्तै सानो डाक्लाङ स्थित सडकमा माथिबाट आएको पहिरोले सडक अबरुद्ध छ । खोल्सामा बाढी आएका कारण सानो डाक्लाङमा भीषण पहिरो गएको छ । सडक बन्द भएको सातादिन बितेपनि सो सडक कहिले बन्छ केही पत्तो छैन् ।
बाह्बिसेदेखि नै लिपिङसम्मको सडक बाढीले दजनौं खण्डमा बिगारेको छ । बाढीले खाग्दल, जम्बु, शिरिशे, इलाका प्रहरी चौकी बाह्बिसे छेउका सडक बगरमा परिणत बनाएको छ । बाह्बिसेदेखि लिपिङसम्मको सडकखण्ड चिराचिरा परेका छन् ।
बिभिन्न खण्डमा भासिएका छन् । सडक बग्न थालेपछि सडक माथि र सडक आसपास रहेका ३५ घरधुरी जोखिममा रहेका छन् ।