वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नं. १३ राधेमाई टोलको उत्तरतर्फ रहेको करवोला । जोगीको कुटी छ । त्यही कुटीभन्दा थोरै उत्तरपश्चिम हुँदै श्रीसिया नदी बगेको छ ।
त्यही नदीको किनारमा वडा नं. १३ ,१४ का हिन्दूको अन्त्येष्टि गर्ने घाट रहेको छ । आइतबार दिउँसो १ बजेको टण्टलापुर घाममा नदी किनारमा केही मान्छेहरु काठको मचान मिलाउँदै छन् । शव जलाउनको लागि काठको चाङ मिलाउनेहरु मुस्लिम समुदायका देखिन्छन् । मुस्लिम समुदायमा शव गाड्ने चलन छ । तर उनीहरु शव जलाउनका लागि दाउराको बन्दोबस्त गर्दै थिए । त्यति नै बेला वडा नं १३ का वडाध्यक्ष तुफान अन्सारी पनि घाट पुग्नुभयो।
लालबाबु साहको शव अस्पतालमै थियो । केही मुस्लिमहरु घाटमा पुगेर आवश्यक तयारी गर्दै थिए । हिन्दूहरुको शव अन्त्येष्टि गर्ने विधिका बारेमा मुस्लिमहरु कोही जानकार थिएनन् । वडाध्यक्षले जुक्ति निकाल्नु भयो । नजिकैको करवोला मठमा जानु भयो । उहाँले हिन्दू व्यक्तिको शव जलाउनु परेको र आफूहरुलाई अप्ठेरो भएको भन्दै सहयोग गर्न आग्रह गर्नु भयो । वडाध्यक्ष अन्सारीको आग्रह मानेर केही व्यक्ति घाटसम्म गए । त्यसपछि एम्बुलेन्समा लालबाबु साहको पार्थिव शरीर पनि ल्याइयो ।
दिउँसोको २ बज्नै लाग्दा साहका आफन्तमध्ये एक जना ज्वाईं र एक जना सम्धी आइपुगे । मुस्लिम समुदायका व्यक्तिहरुको सहयोगमै अन्त्येष्टिको काम अगाडि बढ्यो । लालबाबु साहको ठूलो छोरो आइसोलेशनमा भएकाले कान्छो छोरा १७ वर्षका राजबाबु मात्र किरियापुत्रीको रुपमा थिए । उनलाई सदगदको विधि थाहा थिएन । मृतकका ज्वाईं र सम्धीलाई पनि थाहा थिएन ।
घाटमा किरिया बस्ने र अरुको कपाल काट्नका लागि हजाम पनि लैजानु पर्छ । तर हजाम पनि नपाएको वडाध्यक्ष अन्सारीले बताउनु भयो । मृतकका सम्धीले किरियापुत्रीको कपाल काट्ने प्रयास गरे । तर जानेनन् । ‘म मुस्लिम हुँ मैले काट्दा पनि हुन्छ भने म काटिदिन्छु’ भनेर एम्बुलेन्सका चालकले प्रस्ताव गरेपछि त्यहाँ पुगेका हिन्दू सबैले हुन्छ भनेपछि हिन्दू किरियापुत्रीको केशको मुण्डन एक मुस्लिमले गरे ।
कोरोना जितेर डिस्चार्ज भएको चार घण्टामै ज्यान गयो, मलामी पाइएन
वीरगञ्ज महानगरपालिका वडा नं १३ नेपाल आयल निगमको पछिल्तिरको टोलका ५५ वर्षीय लालबाबु साह शनिबार कोरोना भाइरसको सङ्क्रमणलाई परास्त गरेर राति घर नपुग्दै अर्को अस्पतालमा भर्ना हुँदा पनि घरमा सबैको मुहारमा चमक थियो ।
तर यो चमक लामो समय रहन पाएन । कोरोना भाइरसको सङ्क्रमणको पीसीआर रिपोर्ट नेगेटिभ त आएको थियो । तर उहाँमा श्वासप्रश्वासमा समस्या देखियो र झाडापखाला पनि सुरु भयो । कोराना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बनाइएको प्रोटोकलका कारण कोराना मुक्त भएपछि उहाँलाई कोभिड अस्पतालमा राख्न मिलेन ।
डाक्टरले अर्को अस्पतालमा राख्न सुझाव दिए । डाक्टरको सुझाव अनुसार उहाँलाई राति नारायणी बयोधा अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । उपचारको क्रममै रातको ११ बजे उहाँको ज्यान गयो । कोरोना जितेर डिस्चार्जको भएको चार घण्टामै साहको जीवनलिला सकियो ।
प्रयोगशालाको परीक्षण रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएको चारघण्टामै ज्यान गएपछि परीक्षण रिपोर्टमै पनि शंका उत्पन्न भएको छ । उहाँको एक छोरामा पनि कोरोना सङ्क्रमण देखिएपछि होटल रानीपोखरीमा बनाइएको सामुदायिक आइसोलेशनमा छोराको पनि उपचार भैरहेको छ ।
उहाँको श्रीमती र अर्को छोराको पनि स्वाब परीक्षणका लागि लिइएको र घरकै क्वरेण्टीनमा रहेकोले अस्पतालमा जान पाएनन् । साउन १७ गते स्वाब दिनुभएका साहमा साउन १९ गते कोरोना पुष्टि भएको थियो । उहाँ साउन ३१ गते शनिबार साँझ कोरोना जितेर कोभिड अस्पतालबाट निस्कनु भएको थियो ।
आश्चर्य त त्यतिबेला भयो, जब लालबाबु साहको मलामी जान उहाँका छिमेकी र आफन्तजन अग्रसर भएनन् । कोरोनाको सङ्क्रमणबाट ज्यान जानेको सदगदका लागि सरकारले कार्यविधि बनाएको छ । आफन्तले शव छुन त पाउँदैनन्, निश्चित दूरीबाट हेर्न पाउँछन् । तर कोरोना सङ्क्रमण नभएकाहरुको सदगद आफ्नो धर्म, संस्कृतिअनुसार गर्न पाउने कुरामा कुनै रोकतोक छैन ।
सामाजिक दूरी कायम गर्दै सङ्क्रमण हुन नपाओस् भन्ने सुरक्षाको कुरालाई ख्याल राखेर सदगद गर्न पाइने भए पनि साहका छिमेकी र आफन्तजनले मलामी जानसमेत चासो नदेखाएको कुराले यतिबेला वीरगञ्जमा निकै चर्चा पाएको छ । यो खबर उज्यालो अनलाइनका लागि केसी लामिछानेले लेखेका हुन्।