नेपालगन्ज, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेले अहिले सम्मकै ठुलो परिमाणमा स्मार्ट मोबाइल फोन बरामद गरेको छ ।
तस्करी समाप्त पार्ने उद्देश्यका साथ अघि बढेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेका सशस्त्र प्रहरी उपरीक्षक अशोक बम आएको ३ हप्तामै ठुलो सफलता हासिल गर्दै गएका छन् । सशस्त्र प्रहरी उपरीक्षक बमको आदेश र सशस्त्र प्रहरीका अन्य अधिकृतसहित जवानहरुको कडा मेहनतले सशस्त्र प्रहरी बाँकेले धमाधम अवैध सामाग्री नियन्त्रण गर्दै आएको छ ।
अवैध सामाग्री नियन्त्रणकै क्रममा कालाबन्जार बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीको कमान्डको टोलीले भारतबाट नेपाल ल्याउदै गरिएको ११ लाख रुपैयाँ बराबरको अवैध स्मार्ट मोबाईल फोन बरामद गरेको छ ।
आइतबार बिहान ३ बजे गस्तीमा रहेको सशस्त्र प्रहरी निरीक्षक डाँगीको कमान्डको टोलीले डुडुवा गाउँपालिका वडा नम्बर २ बेेेतहनीबाट भारतबाट ल्याउदै गरेको ८५ थान स्मार्ट मोबाइल फोन बरामद गरेको हो ।
राप्ती नदीको किनारैकिनार साइकलमा मोबाइल बोकेर आउदै गरेका तस्करहरुले सशस्त्र प्रहरीलाई देख्नासाथ सामान फालेर फरार भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ । त्यस्तै सशस्त्र प्रहरी निरीक्षक डाँगीले मोबाइलको साथमा ९३ थान लेडिज कुर्ता समेत बरामद गरेका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेका अनुसार बरामद गरिएका मोबाइल फोनहरुमा रियलमी, भिभो, ओप्पो लगायत अन्य कम्पनीका रहेका छन् । त्यस्तै बरामद गरिएका फोनहरुको मूल्य ११ लाख २० हजार र कुर्ताको मूल्य ३७ हजार २०० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी निरीक्षक डाँगी तस्करी बिरुद्ध खरो रुपमा उत्रिने प्रहरी अधिकृतमा पर्ने गर्छन् । आफुले कमान्ड सम्हालेको १ हप्ता नपुग्दै उनले यति ठुलो परिमाणमा अवैध मोबाइल बरामद गर्न सफल भएका छन् ।
तस्करहरुले राप्ती नदीको किनारैकिनारबाट भारतबाट अवैध ल्याने गरेता पनि सशस्त्र प्रहरीले उनीहरुको कार्य बिफल बनाउदै आएको छ । सशस्त्र प्रहरीले कोरोना महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको समयमा करिब ३० लाख रुपैयाँ बराबरको अवैध सुर्तीजन्य सामाग्री समेत बरामद गरिसकेको छ ।
आज बिहान बरामद गरिएका मोबाइल फोन र कुर्तालाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।