सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके युनेस्कोद्धारा २५ हजारलाई जमुनाहा नाकामा खाना,पानी र मास्क वितरण


नेपालगञ्ज, बाँके युनेस्को क्लबले भारतबाट स्वदेश फर्किएका २५ हजार भन्दा बढी नागरिकलाई जमुनाहा नाकामा तयारी खाना, पानी र मास्क वितरण गरेको छ ।


प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग र नेपालगन्ज उपमहानगरपालिकाको समन्वय तथा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको सहकार्यमा गत जेठ २२ गतेबाट नाकामा शुरु गरिएको तयारी खाना, पानी र मास्क वितरण कार्यलाई आइतवार समापन गरिएको छ ।


बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले समापन कार्यक्रममा बोल्दै गत १ दिनको अवधीमा भारतबाट फर्किएका २५ हजार १२ जना सर्वसाधारणलाई जमुनाहस्थित होल्डिंग सेन्टरमा तयारी खाना, पानी र मास्क वितरण गरिएको बताउनुभयो ।


उहाँका अनुसार शुरुमा एक महिनाका लागि मात्र वितरण गर्ने लक्ष्य राखिएपनि पछि स्थानीय प्रशासन र उपमहानगरपालिकाको आग्रहमा समय थप गरिएको थियो ।


सो वितरण कार्यको समापन गर्दै नेपालगञ्ज उपमहानगरका उपप्रमुख उमाथापा मगरले प्लान र बाँके युनेस्को क्लबले करिब तीन महिनासम्म सीमानामा गरेको यो सहयोग अतिनै सराहनीय रहेको उल्लेख गर्दै भविष्यमा पनि सहयोग गर्न आग्रह गर्नुभयो ।


उहाँले कोभिड १९ को समस्या र सीमानाको समस्या पनि अझै केही समय यथावत रहने जनाउँदै थप सहयोगका लागि पनि दुबै संस्थालाई अनुरोध गर्नुभयो । उपप्रमुख थापा मगरले नेपालगञ्जमा बनिरहेको आइसोलेसन अस्पतालका लागि सहयोग गर्न पनि सो अवसरमा आग्रह गनुृभयो ।
सो अवसरमा बोल्दै प्लान इनटरनेसनल नेपाल नेपालगन्जका फाइनान्स म्यानेजर रमेश केसीले जमुनाहमा गरिएको यो कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै निकै जटिल अवस्थामा चुनौतीपूर्ण काम पुरा गरेको बताउनुभयो ।


करिब तीन महिना अगाडीको समयमा भारतबाट फर्किनेहरु भोकै प्यासै र मास्क समेत नलगाएर फर्किने गरेकोले उनिहरुलाई सहज होस भनेर खाना, पानी र मास्क वितरण शुरु गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो ।


यस्तै क्लबका अध्यक्ष राजेन्द्र चौधरीले प्लानको सहयोगमा जमुनाह र कोहलपुरको होल्डिंग सेन्टर लगायत क्वारेन्टाइनहरुमा समेत सहयोग गरिएको बताउनुभयो ।


सो कार्यक्रम अन्तर्गत भारतबाट आउने हरेकलाई एक प्याकेट तयारी खाना, दुई प्याकेट विस्कुट, एउटा स्याउ, एक बोतल पानी, एक थान मास्क र सानो गाडीमा एउटा पानीको जार र ठुलो गाडीमा दुई वटा पानीको जार वितरण गरिंदै आएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »