सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

निषेधाज्ञाले कोरोना संक्रमण घट्दै जाने विज्ञहरुको भनाइ

काठमाडौं । विगत ८ महिनादेखि महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाएको छ ।

यो महामारीले विश्व नै पाँच महिनासम्म लकडाउनमा रहनु परेको थियो तर सधैं यसरी विश्व लकडाउनमा रहने अवस्था नहुने भएकाले अहिले अधिकांश मुलुकमा लकडाउन अन्त्य भएको छ । तर कोरोना भाइरसको संक्रमण भने विश्व भरी नै बढ्दै गएको छ ।

यो महामारीबाट नेपाल पनि अछुतो रहको छैन । नेपालमा पनि कोरोना संक्रमण देखा परेपछि कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि सरकारले गत चैत ११ गतेदेखि साउन ७ गतेसम्म पाँच महिना लामो लकडाउन गरेको थियो ।

लकडाउनको अवधिको पछिल्लो चार महिनामा केही संक्रमण दर कम भए पनि सरकारले साउन ६ गते देखि लकडाउनको अन्त्य गरे पश्चात पुनः काठमाडौं उपत्यकासहित देशैभर कोरोना संक्रमण तथा मुत्यु समेत ह्वातै बढ्दै गएको छ ।

यसरी संक्रमण बढ्दै गएकाले अहिले ४८ जिल्लामा संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लागू गरिएको छ । यसरी निषेधाज्ञा जारी पश्चात बढ्दै गएको कोरोना संक्रमण रोक्न निषेधाज्ञाले सकारात्मक प्रभाव बनाउने विज्ञहरुले दाबी गरेका छन् ।

भिडभाड तथा मानिसहरुको चाप कम भएमा संक्रमण फैलिन नपाउने भएकाले निषेधाज्ञाले सकारात्मक प्रभाव पर्ने गर्छ । निषेधाज्ञामा मानिसहरुको ट्राभल नहुने भएकाले संक्रमण परिक्षण गर्न पनि सजिलो हुने र उपत्यकामा कोरोना कस्तो अवस्थामा रहेको छ भन्ने तथा संक्रमण नियन्त्रणका लागि स्थान पहिचान हुने भएकाले एक सातामा कोरोना संक्रमण घट्ने तथा बढ्ने आँकलन गर्न सकिने स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्कीले बताए ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले पनि निषेधाज्ञा सुरु भएको एक सातापछि यसको सकारात्मक परिणाम देखिन सुरु हुने बताएका छन् । उनले भनेका छन् उपत्यकामा जारी निषेधाज्ञाले संक्रमण विस्तारमा कस्तो प्रभाव पारेको छ भन्ने अबको एक साता भित्रै नतिजा आउँछ।

त्यस्तै, सरुवा रोग विशेषयज्ञ डा.शेर बहादुर पुनले पनि लकडाउन तथा निषेधाज्ञा गर्नु कोरोना संक्रमणको कम गर्न तथा भाइरस फैलिन नदिनु रहेकाले निषेधाज्ञाले संक्रमण दर कम गर्ने बताएका छन् ।

यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले पनि राजधानीमा अझै निषेधाज्ञापछिको अवस्था स्पष्ट हुन नसकेको तर उपत्यकाबाहिर दूई साता अगाडि देखि नै निषेधाज्ञा जारी रहेकाले संक्रमण विस्तारमा कमी हुने संकेत मिलेको बताए ।

विज्ञहरूले निषेधाज्ञाको मौकामा संक्रमण रोकथाम र बिरामीको उपचारका लागि तयारीमा जुट्नसमेत सुझाएका छन् । ‘कर्फ्यु , निषेधाज्ञा, लकडाउनले कोभिड–१९ संक्रमण नरोकिने भएकाले निषेधाज्ञा नै अन्तिम विकल्प नभएको ईडीसीडीका पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले बताए ।

स्वास्थ्य सुरक्षा सतर्कता अपनाई सबैले सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरे मात्रै कोरोनासँग जुध्न सहज हुने देखिन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »