काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमणको संख्या बढदै गएको छ। दिनप्रतिदिन ८ सय भन्दा माथिको संख्यामा संक्रमितको संख्या बढिरहेको छ।
काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ३ हजार ७ सय १८ पुगेको छ। नौ दिनयता काठमाडौंमा संक्रमितको संख्या दैनिकजसो १ सयले वृद्धि हुँदै गएको छ। साता दिन भन्दा बढीमा काठमाडौंमा १ हजार ५ सय ५१ संक्रमित थपिएका छन्।
यो समाचार तयार पार्दा सम्म इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राप्त तथ्यांक अनुसार काठमाडौंमा ३ हजार १ सय ८५, ललितपुरमा ५ सय १० र भक्तपुरमा ३ सय २४ संक्रमित रहेका छन्। उपत्यका भित्रका ठूला महानगरपालिकामा संक्रमित बढदै गइरहेको छ।
काठमाडौं महानगरपालिकाबाट प्राप्त तथ्यांक अनुसार चार वटा वडामा १ सय भन्दा बढी संक्रमित रहेका छन्। महानगरपालिकाका कोभिड फोकलपर्सन ज्ञानु वलीका अनुसार ३२ वडा कोटेश्वरमा सबैभन्दा बढी संक्रमित रहेका छन्।
महाराजगञ्जमा १३१ जना काठमाडौं महानगरपालिका-३ महाराजगञ्ज क्षेत्रमा सुरक्षाकर्मी, स्वास्थकर्मी र स्थानीय बासिन्दासहित १ सय ३१ संक्रमित पुगेको ३ नम्बर वडाका अध्यक्ष दीपक केसीले जानकारी दिए।
त्यस्तै कुलेश्वर क्षेत्रमा ९० संक्रमित वडा १४ को बल्खु र कुलेश्वर क्षेत्रमा सबैभन्दा बढी संक्रमित रहेको वडाअध्यक्ष शोभा सापकोटाले जानकारी दिइन्।