उडिरहेकाे विमानमा एक्कासी सुत्केरी बेथा लागेकाे महिलाले के अपेक्षा गरेकाे हुन्छ ? तपाई हामीले कल्पना गर्न सक्ने घटना भन्दा टाडाकाे कुरा हाे तर याे सत्य घटना हाे। उडिरहेकाे विमानमा एक महिलालाई सुत्केरी बेथा लागेकाे घटनाबाहिरीएकाे छ।
अहिले सम्झिँदा डा. शैलजा वल्लभनेनी आफैँलाई पनि विश्वास लाग्दैन कि उनले जमिनभन्दा हजारौँ फिट माथि उडिरहेको विमानमा एक महिलालाई सुत्केरी गराइन्।
सुत्केरी गराउने बेला विमानमा कैँची, स्यानिटाइजर र पट्टी मात्र उपलब्ध थियो। आकाशमा जन्मिएको भारतको सम्भवतः यो पहिलो बच्चा हुनुपर्छ।
हुन त बच्चा जन्मिने बेला विमानमा रहेका अरू यात्रीले पनि सघाएका थिए। उनीहरूले महिला र नवजात शिशुका लागि आवश्यक तौलिया, प्याड र डाइपर लगायतका सामान उपलब्ध गराए।
सुत्केरी गराउने क्रममा विमानमा रहेका एकजना प्लास्टिक सर्जनले पनि डा. शैलजालाई सघाए।
बेङ्गलुरुस्थित क्लाउड नाइन अस्पतालमा भ्रूण चिकित्सा विशेषज्ञ रहेकी डा. शैलजाले बीबीसी हिन्दीसित भनिन्, “मलाई अहिले पनि विश्वास भइरहेको छैन कि मैले त्यसरी सुत्केरी गराउन सकेँ।”
दुई दिनअघि दिल्लीबाट बेङ्गलुरु गइरहेको विमानमा उनले एक महिलालाई सुत्केरी गराएकी हुन्।
उनी भन्छिन्, “विमानहरूमा यस्तो विशेष अवस्थाका लागि ‘बेसिक प्रेग्नेन्सी किट’ राख्नुपर्ने हो।”
उडानको क्रममा के भएको थियो?
दिल्लीबाट विमान उडेको आधा घण्टापछि एक चिकित्सक चाहियो भनेर विमानमा घोषणा भयो।
रियादमा प्लास्टिक सर्जनका रूपमा काम गर्दै आएका डा. नागराज सहयोगका अगाडि सरे।
डा. शैलजा भन्छिन्, “उनलाई सहयोग चाहिन्छ होला भनेर म विमानको पछाडिबाट उठेर गएँ। साढे सात महिनाकी गर्भवतीलाई सहयोग चाहिएको भनेर चालक दलका सदस्यले मलाई बताए।”
सुरुमा गर्भवती महिलाले पेट दुखिरहेको बताएपछि डा. शैलजाले गर्भ तुहिएको हुनसक्ने आशङ्का गरिन्।
योनिबाट रगत बगिरहेको छ वा छैन भनेर सोध्दा ती महिलाले सुरुमा छैन भनेकी थिइन्।
गर्भवती महिला शौचालयबाट निस्किरहँदा रगतका छिटा देखिएको डा. शैलजाले बताइन्।
उनी गर्भवती महिलानजिक पुग्दा शिशुको टाउको अलिकति बाहिर निस्किसकेको थियो।
डा. शैलजा भन्छिन्, “मैले कैँची लिएर त्यसलाई निस्सङ्क्रमण गरेँ र शिशुको नाल काटेँ अनि शिशुलाई पट्टीले बेरिदिएँ।”
“त्यसपछि अरू यात्रीहरू विभिन्न सामानसहित सहयोगका लागि अघि सरे अनि मैले शिशुलाई सफा गरेँ र शिशु सकुशल रहेको सुनिश्चित गरेँ।”
डा. शैलजाका अनुसार विमानमा दुइटा सुई (इन्जेक्शन) उपलब्ध थियो जसको प्रयोग महिलामाथि गरियो। पछि योनिबाट रगत बग्न रोकियो र सुत्केरीले शिशुलाई स्तनपान गराइन्।
विमानका चालक सञ्जय मिश्रासँग भारतीय वायुसेवामा काम गरिसकेको अनुभव थियो।
डा. शैलजा भन्छिन्, “पाइलट मिश्राले हैदराबादमा विमान अवतरण गर्न सकिने मलाई भन्नुभयो। तर शिशु र आमा दुवैको स्वास्थ्य सामान्य रहेको भन्दै मैले विमानलाई आकस्मिक अवतरण गराउन नपर्ने जानकारी गराएँ।”
डा. शैलजाका अनुसार ‘नर्मल डेलिभरी’ नभएको भए विमानमा बच्चा जन्माउने उनीहरूसँग अर्को कुनै विकल्प थिएन।
आकाशमा शिशु जन्माउनुपर्ने आपत्कालीन अवस्थाका लागि विमानहरूमा ‘आधारभूत प्रेग्नेन्सी किट’ राख्नुपर्ने उनको सुझाव छ।
डा. शैलजा भन्छिन्, “त्यति बेला विवेकको प्रयोग काम लाग्यो। शिशु र आमाको ज्यान कसरी बचाउन सकिएला भनेर मैले सोच्न थालेँ। र विमानभित्र जे जे उपलब्ध थिए तिनको प्रयोग गरी मैले सुत्केरी गराएँ।”
दश वर्ष महिला रोग विशेषज्ञको रूपमा काम गरेकी उनले पछि भ्रूण चिकित्सा विशेषज्ञ भएर काम गर्न थालिन्।
डा. शैलजा भन्छिन्, “विमानबाट ओर्लिएपछि सुत्केरी र शिशुलाई तत्काल अस्पताल पुर्याइयो। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार दुवैको स्वास्थ्य अहिले ठिक छ।”