नेपालगञ्ज, बाँके युनेस्को क्लबले जिल्लाका चार वटा पालिकालाई लक्षित गरेर रक्षा परियोजना सञ्चालनमा ल्याएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सञ्चालन गरिएको सो परियोजना बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सञ्चालन गरिएको क्लबका संरक्षक प्रवेज अलि सिद्दीकीले बताउनुभयो ।
उहाँले सो परियोजनाले चारवटा पालिकामा विशेष गरेर मानवेचविखन विरुद्धको अभियानमा काम गर्ने बताउनुभयो ।
क्लबका अध्यक्ष राजेन्द्र चौधरीले वेचविखनको उच्च जोखिममा रहेका माध्यामिकस्तरका बालबालिका, अन्य जोखिममा परेका र बेचविखनमा परेकाहरुलाई चेतना प्रदान गर्नुका साथै सहयोग उपलब्ध गराउने उदेश्यले सो परियोजना सञ्चालन गरिएको बताउनुभयो ।
सोही परियोजना अन्तर्गत माध्यामिक विद्यालयका बालबालिकामा सचेतना फैलाउने उदेश्यले १० वटा विद्यालयका शिक्षकहरुका लागि स्टीक एण्ड स्टोन प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरिएको छ । आइतवारबाट शुरु भएको तीन दिने सो तालिममा चारवटा पालिकाका १० माध्यामिक विद्यालयका शिक्षकहरुको सहभागिता रहेको छ ।
सो तालिमका मुख्य प्रशिक्षकमा शिवलाल पाण्डे रहनु भएको छ भने परियोजनाका कार्यक्रम संयोजक शान्त चौधरी र फिल्ड सुपरभाइजर शंकर सिंह थारुले सहजीकरण गरिरहनु भएको छ ।
बाँके जिल्लाको नेपालगञ्ज, कोहलपुर र खजुराजस्ता सहरी क्षेत्रहरु बेचविखनको अत्याधिक जोखिममा रहेकोले सन २०२२ सम्मका लागि यो परियोजना सञ्चालन गरिएको कार्यक्रम संयोजक चाधैरीले बताउनुभयो ।
उक्त परियोजनाबाट बेचविखनमा परेकालाई आपातकालिन सहयोग, जिविकोपार्जनका लागि सहयोग र शिपमूलक तालिम पनि प्रदान गरिने क्लबले जनाएको छ ।