नेपालगन्ज,खानेपानीको अभावमा लामो समयदेखि चरम समस्या भोगीरहेका बाँके जिल्लाका अति विपन्न ९० परिवारका लागि बाँके युनेस्को क्लबले कतार च्यारेटी नेपालको सहयोगमा ९० वटा खानेपानी धारा जडान गरेको छ ।
बाँके जिल्लाको पिछिडिएको मानिने नरैनापुर गाउँपालिका वडा नम्बर २ र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का ९० अति विपन्न परिवारले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएकोले उनिहरुको घरमा खानेपानी धारा जडान गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले आर्थिक अभावका कारण खानेपानीको धारा राख्न नसकेकाहरुको घरमा कतार च्यारेटी नेपालको आर्थिक सहयोगमा धाराहरु जडान गरिएको बताउनुभयो ।
नरैनापुर गाउँपालिका २ मा ४५ घर परिवारका लागि ४५ वटा र नेपालगञ्ज २० मा ४५ वटा परिवारका लागि ४५ वटा गरेर ९० वटा हैन्डपम्प जडान गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।
उहाँले विपन्नताका कारण खानेपानीको अभाव झेल्दै आएकाहरुको घरमा स्थानीय तहको समन्वयमा धारा जडान गरिएको बताउनुभयो ।
जिल्लाको नरैनापुर र नेपालगन्जमा जडान गरिएका हैन्डपम्पबाट धारा जडान गरिएका वरिपरिका घरपरिवारपनि लाभान्वित हुने कतार च्यारेटी नेपालका इन्जिनियर आमिर फैजलले बताउनुभयो ।
कतार च्यारेटी नेपालका प्रोग्राम म्यानेजर ईर्शाद शेषले ती ९० वटा धाराबाट ९० परिवारका पाँचसय बढीले प्रत्यक्ष रुपमा खानेपानीको उपभोग गर्न पाउने बताउनुभयो ।
९० वटा धारा जडानका लागि ३३ लाख ६५ हजार ५५० रुपियाँ खर्च गरिएको क्लबले जनाएको छ ।
विगत केही समयदेखि बाँके जिल्लामा कतार च्यारेटी नेपालले क्लब मार्फत विपन्नहरुको आर्थिक अवस्थामा सुधारका लागि विभिन्न प्रकारका सहयोगहरु गर्दै आएको छ ।