नेपालको एकदिने “Working Visit” मा आएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका स्टेट काउन्सीलर (State Councilor) तथा रक्षामन्त्री जनरल वेई फेङ्गहे (General Wei Fenghe) जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी भएका छन् ।
रक्षामन्त्री जनरल वेई (General Wei) जंगी अड्डामा आई सर्वप्रथम उनको सम्मानमा आयोजना गरिएको सम्मान गारत ग्रहण तथा निरिक्षण गरेका थिए । तत्पश्चात् उनले प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापासंग प्रधान सेनापति कार्यालयमा भेटवार्ता गरेका थिए । उक्त भेटवार्ताको क्रममा आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यको सम्बन्धमा छलफल भएको थियो ।
सो भेटवार्ता पछि वेई फेङ्गहे सहीतको प्रतिनिधि मण्डलसमक्ष नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा छोटो श्रव्य-दृश्य सामग्री प्रस्तुत गरिएको थियो । तत्पश्चात चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरुमा छलफल भएको थियो जसमा मुख्यत: कोभिड-१९ महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदानका कार्यहरुलाई सूचारु गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगतिको बारेमा छलफल भएको थियो । छलफलको दौरान परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।
रक्षामन्त्री जनरल वेई (General Wei) र प्रतिनिधिमण्डलले दुवै विषयहरुलाई सकारात्मक रुपमा लिइ उच्चस्तरीय भ्रमण लगायतका द्धिपक्षीय सहयोगका कार्यहरु यथाशिघ्र सुचारु गर्ने बारेमा आश्वासन दिएका थिए । त्यसै अवसरमा जनरल वेई ले नेपाली सेनाको कोभिड-१९ महामारी विरुद्धको प्रतिकार्यको सहयोगका लागि समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।
यस भ्रमणले दुई देशका सेनाबीच रहँदै आएको सौहार्दपूर्ण सम्बन्धलाई सुमधुर, मजबुत एवं विस्तार गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।