नेपालगन्ज, जनता समाजवादी पार्टी(जसपा)ले आन्दोलन गर्ने घोषणा गरेको छ । मंगलबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको जानकारी पूर्वसहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले गराउनुभयो ।
पूर्वसहरी विकास मन्त्री राईका अनुसार संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटनविरूद्ध विभिन्न आन्दोलनका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको जानकारी गराउनुभयो ।
पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाण्डौमा केन्द्रिकृत जनप्रदर्शन गर्ने निर्णय गरिएको पूर्व सहरी विकास मन्त्री राईले जानकारी गराउनुभयो ।
साथै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै बैठक सुरू गर्न सभामुख अग्नी सापकोटालाई आग्रह गर्ने निर्णय गरिएको बताए ।
’प्रतिनिधिसभा अहिले पनि जीवित छ । त्यसकारण हामीले सभामुखलाई प्रतिनिधि सभाको बैठक आह्वान गर्न आग्रह गर्ने निर्णय गरेका छौं,’ उनले भने ।
बैठकले विघटनको घोषणा हुनु असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै पूर्णरूपमा खारेज गरेको समेत बताउनुभयो ।
’प्रधानमन्त्री र राष्ट्रपतिले जुन संविधान उल्लंघन गर्नुभएको छ त्यसप्रति हाम्रो घोर आपत्ति छ, विरोध छ र हामी प्रतिनिधि सभा अहिले पनि जीवित छ भन्ने मान्यता राख्छौं । हाम्रो निर्णय यो भएको छ,’ भनी बताउनुभयो ।