डोटी । सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार नै महिनौंदेखि सम्पर्कविहीन भएपछि जिल्लाको दीपायल सिलगढी नगरपालिका–३ पक्की पुलदेखि एरपोर्टसम्म जोड्ने सडकको काम अलपत्र परेको छ ।
दस्पायल सेतीनदीको पक्की पुलदेखि एयरपोर्ट जोड्ने १ हजार १ सय मिटर लम्बाइको उक्त सडक कालोपत्रका लागि धनगढीको देवसिंह निर्माण सेवासँग सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय दिपायल राजपुरले ठेक्का स्वीकृत गरेको थियो । सडक कालोपत्र नहुँदा उक्त सडक सामान्य पानी पर्दा हिलाम्मे तथा घाम लाग्दा धुलाम्मे हुँदै आएको छ । उक्त सडक दीपायल हुँदै मौवा मेल्लेकसहित बझाङ जिल्ला जोड्ने सडक हो । सडक कालोपत्र नहुँदा सडकभरि निकै ठूला खाल्डाखुल्डी परेका कारण दुर्घटना हुनसक्ने भन्दै स्थानीयवासी चिन्तित भएका छन् ।
भ्याटसहित रु एक करोड ४९ लाख ३० हजार ९३२ ठेक्का स्वीकृत भएर ०७४ कात्तिक २० गते सडक कालोपत्र गर्ने सम्झौता भए पनि उक्त निर्माण सेवाका निर्माण व्यवसायी सम्पर्कमा नआउँदा कालोपत्रको काम अलपत्र परेको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय दीपायल राजपुरका सव–इञ्जिीनियर अभिषेक मलासीले बताए । ‘निर्माण कम्पनीलाई ०७६ कात्तिक १९ सम्म गरी दुई वर्षको निर्माण सम्झौता अवधि थियो । त्यो सकिएको तीन महिना नाघिसकेको छ,’, उनले भने, ‘सम्पर्कमा आउन बारम्बार पत्राचार गर्दासमेत ठेकेदार सम्पर्कमा नआउँदा काम अलपत्र परेको हो ।’
ठेक्का सम्झोता भएको लामो समय बितिसक्दासमेत सडक कालोपत्र नहुँदा स्थानीयवासी निकै आक्रोशित भएका छन् ।
ठेकेदारको लापरवाहीका कारण फराकिलो र सफा सडक देख्ने आश गरेका स्थानीयवासी सडक कालोपत्र नहुँदा निकै निरास भएको स्थानीयवासी लालबहादुर कठायतले बताए । उनले भने, ‘काम नगर्ने ठेकेदारले किन ठेक्का लिनु, ठेकेदारको लापरवाहीले नागरिकलाई सास्ती किन दिने ।’
ठेकेदार कम्पनीका दुईजना साझेदारबीचमा आपसी ‘लेनदेन’ को विवादले काम सञ्चालन हुन नसकेको स्थानीयवासीको आरोप छ ।
देवसिंह निर्माण सेवाको फर्म प्रयोग गरेर बाजुरका ठेकेदार हर्कबहादुर शाह र भूपेन्द्रसिंह धामीले एकापसमा सहकार्य गरी काम गर्ने सहमति भएको र पछि एकापसमा मेलमिलाप नभएका कारण यहाँको कालोपत्रको काम अलपत्र छोडिएको भन्ने सुनिँदै आएको अर्का स्थानीयवासी नैनसिंह कठायतले बताए ।
सडक कालोपत्र गर्ने भन्दै उक्त योजनामा ठेकेदार कम्पनीले रु ३१ लाख पेश्की लिइसकेको कार्यालयले जनाएको छ ।
कालोपत्र गर्ने ठेक्का पाएको निर्माण कम्पनी अबको १५ दिनमा सम्पर्कमा आएर काम सञ्चालन नगरे सम्झौता गरिएको ठेक्का तोडिने सव–इञ्जिनीयर मलासीले बताए ।