नेपालगन्ज,कोभिड–१९ कोरोना भाईरसको मार खेपिरहेको बाँके जिल्लामा हाल सहयोगी मनहरुले सहयोगलाई निरन्तरता दिईरहेका छन् ।
भेरी अस्पताल प्राङ्गणमा सञ्चालित अञ्जनी माता रसोई घर जो कोरोना संक्रमित बिरामीहरुको सेवामा दिन रात खटिरहेको अवस्था छ । भेरी अस्पतालमा रहेका ३ सयको हराहारीमा कुरुवा र बिरामीहरुलाई साँझ र बिहानको खाना खाने व्यवस्था गरिरहेको छ ।
भेरी अस्पताल भित्र रहेका कोरोना संक्रमितहरु तथा कुरुवाहरुलाई भोकै बस्न नपरोस् तथा धेरै आर्थिक भार पनि नपरोस् भन्ने उद्देश्यका साथ हाल दैनिक रुपमा विभिन्न सहयोगी हातहरुले हात अगाडी बढाईरहेका छन् ।
सोही क्रममा आज कसोधन वैश्य समाज मूल कार्य समिति, कसौधन वैश्य समाज युवा मञ्च र महिला मञ्च बाँके नेपालगन्जको संयुक्त सहयोगमा भेरी अस्पतालमा सञ्चालित अञ्जनी माता रसोईलाई खाद्यान्न सहयोग गरिएको छ ।
कसौधन वैश्य समाजका अध्यक्ष नन्द वैश्यको अगुवाईमा अञ्जनी माता रसोईका सञ्चालक जितेन्द्र सिंह ठाकुरलाई २५ बोरी स्टार चामल, २ बोरी अरहर दाल, २ बोरी सोयाबिन, २ बोरी आयोडिन नून, १ बोरी आलु सहयोग हस्तान्तरण गरिएको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा अञ्जनी माता रसोई तथा भेरी अस्पताल मेसु डा. प्रकाश थापाको नेतृत्वको टीमले मानवीय सेवामा समर्पित कार्यमा अग्रणी स्थान हासिल गरेको हुनाले उहाँहरुमा उत्साह थप्नका लागि कसौधन वैश्य समाजका पदाधिकारीहरुले गम्छाबाट सम्मान गरेको समाजका अध्यक्ष वैश्यले बताउनुभयो ।
सोही गरी सहयोगी मनहरुमा नेपालगन्ज कै एकजनाले नाम नछाप्ने सर्तमा गुप्त दान गर्दै अञ्जनी माता रसोईलाई नगद २१ हजार सहयोग गरेका छन् । सोही अनुसार कारकाँदो बस्ने कपिल नेपालले आफ्नो व्यक्तिगत लगानीबाट ५ बोरी चालम, १ बोरी दाल सहयोग गरेका छन् ।
कसौधन वैश्य समाजका अध्यक्ष वैश्यले अञ्जनी माता रसोईका सञ्चालक सिंहलाई साँझको खाना पनि कोरोना संक्रमितहरुलाई रु. २० कै मूल्यमा खुवाउन अनुरोध गरेका थिए ।
सहयोगीहरुबाट सहयोग दिंदै रसोई सञ्चालक सिंहले सबै जनाप्रति धन्यवाद प्रकट गर्नुभएको थियो भने अब आउने दिनमा साँझको खाना समेत रु. २० मै कोरोना संक्रमित बिरामी र कुरुवाहरुलाई खुवाउने बताएका छन् ।