काठमाडौँ । उदयपुरको कटारी नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष, इन्जिनियरको घर तोडफोड गरेको छ । कटारी नगरपालिका ४ सिम्ले स्थित नगरपालिका भवन बनाउनको लागि छुटिएको जग्गामा स्थानीयहरुले रातारात घर बनाएपछि नगरपालिकाले घर भत्काएको थियो ।
सार्वजनिक जग्गा किता नं. १०८, ७८ र १८८ गरी २ विगहा ६ कठ्ठा जग्गामा निषेधज्ञाको मौका छोपी रातारात घर बनिरहेपछि नगरपालिकाले घर भत्काई दिएपछि स्थानीयहरु आन्दोलित भएर मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी), उपमेयर भिमकुमारी राउत, कटारी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कृष्णराज दनुवार, इन्जिनियर ओम मिश्रको दुई वटा घरमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिए । कटारी नगरपालिका र नगरपालिकाका मेयरको सिमाना सिमाना जोडिएको छ भने कटारी नगरपालिका वडा नं. ४ का वडाध्यक्षको घर पनि नगरपालिकाबाट ५० मिटरको दुरीमा रहेको छ ।
यस्तै आन्दोलनकारीले जनप्रतिनिधि र इन्जिनियरसहित इलाका प्रशासन कार्यालय कटारीका कार्यालय, इलाका प्रहरी कार्यालय कटारीमा समेत तोडफोड गरेको प्रहरीले जानकारी दिए । इलाका प्रशासन कार्यालयका गाडी समेत तोडफोड गरेको प्रहरीले जानकारी दिए । आन्दोलनकारीहरुले घरको झ्यालका सिसा, ढोका, लगायतमा क्षति हुन गएको प्रहरीले जानकारी दिए ।यस्तै आन्दोलनको क्रममा उपमेयर माथि हातपात भएको पनि बुझिएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले आधा दर्जन अश्रुग्यास प्रहार गरेको स्थानीयहरुले जानकारी दिए । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिए ।
नगरपालिकाले मान बहादुर दनुवार र सन्त बहादुर सुनुवारको घर भत्काई दिएको छ । आन्दोलनकारीको नेतृत्व बालकेष्ण थापा र सन्त बहादुर दनुवारले गरेको छ । वर्षौदेखि भोगचलन गर्दै आएको जग्गामा बनेको घर निषेधज्ञामा भत्काई दिइएको आन्दोलनकारीहरुको भनाई रहेको छ ।
यता कटारी नगरपालिका ४ का वडाध्यक्ष तथा नगर प्रवक्ता कृष्णराज दनुवारका अनुसार नगरपालिका भित्रका जग्गा संरक्षणको लागि अख्तियारले पत्र नै काटेर संरक्षण गर्न अनुरोध गरिएकोमा सो ठाउँको जग्गा संरक्षणका लागि पटक पटक सूचना जारी गर्दा अटेर गरेर बनाईरहेको घरमा सामान्य भत्काई दिइएको स्वीकार गरेका छन् । उनका अनुसार पटक पटक सूचना जारी गर्दै सार्वजनिक जग्गा खाली गर्न अनुरोध गर्दा पनि भूमाफियाहरुले जग्गा खरिद विक्री गर्ने गरेकोले भूमाफियाले बेचेको सार्वजनिक जग्गामा घर बनाईरहेको पाएपछि भत्काएको प्रवक्ता दनुवारले बताए ।उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले आन्दोलनमा भीड बढेकाले जिल्लाबाट थप सुरक्षाकर्मी पठाएको जानकारी दिएका छन् । ‘जनप्रतिनिधिका घर, गाडी तोडफोड भएको जानकारी आएको छ,’ उनले भने, ‘जिल्लाबाट थप सुरक्षाकर्मी पठाउँदै छौँ, बाँकी विवरण आउन बाँकी रहेको छ ।, नगरपालिकाको जग्गामा बनेको घरमा डोजर चलाएपछि समस्या भएको हो ।’
नागरिक बहस अनलाइनबाट साभार