मकवानपुर । राष्ट्रियसभा सदस्य पदका लागि वाग्मती प्रदेशमा विहीबार भएको मतदानपश्चात् मतगणना शुरु भएको छ ।
विहान नौ बजेबाट शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । निर्वाचन आयोगका अनुसार साढे ४ बजेबाट मत गणना शुरु भएको हो । साँझ ६ बजेसम्म मतगणा सकिने बताइएको छ । आयोगका अनुसार राष्ट्रियसभा सदस्यका लागि चारजना प्रदेश सांसदले मतदान गरेनन् । वाग्मतीमा रहेका १०९ सांसदमा १०५ जनाले भोट हालेका छन् । ११० सदस्यीय प्रदेशसभाका पशुपति चौलागाईंको निधन भएपछि १०९ कायम भएको छ । स्थानीय तहतर्फ पाँचजनाले भोट दिएनन् । निर्वाचन आयोगका अनुसार ११९ पालिकातर्फ २३८ मतदाता थिए । जसमा २३३ जना मतदानमा सहभागी भएका हुन् ।
राष्ट्रिय सभाका लागि एमालेका रामबहादुर थापा बादल र स्वतन्त्र हैसियतमा डा. खिमलाल देवकोटा प्रतिस्पर्धामा छन् । स्वतन्त्र भनिएका देवकोटालाई माओवादी–कांग्रेसको समर्थनमा एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालले संरक्षण दिएका छन् । नेपाल मजदुर किसान पार्टीका कृष्ण तामाङको समेत उम्मेदवारी रहेको छ ।
वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा डा. खिमलाल देवकोटाले अग्रता लिएका छन् ।
स्थानीय तहका २३३ मतदातामध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधवकुमार नेपाल पक्षको समर्थन रहेका देवकोटाले १२८ र नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादलले १०३ मत पाएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाएका छन् ।