सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाढीपहिरोले दिएको चुनौती, कहाँ कति क्षति भयो ?

काठमाडौँ । सोमबार रातिदेखिको वर्षाका कारण गण्डकी प्रदेशका ११ वटै जिल्लामा बाढीपहिरो र डुबानले क्षति पुर्‍याएको छ । मनाङ, म्याग्दी र लमजुङ बढी प्रभावित भएका छन् । अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।

बाढीले मनाङमा मर्स्याङ्दी नदीको पुल बगाउँदा नार्पाभूमि गाउँपालिका र नासोंका ५ वटा वडा सम्पर्कविच्छेद भएका छन् । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार बुधबार ताचै जाने मर्स्याङ्दीमाथिको बेलिब्रिज, थोंचे–चिल्चे जाने झोलुंगे पुल, थोंचेबाट तिल्चे जाने दूधपोखोलाको झोलुंगे पुल बगाएको छ ।

यस्तै, कोतोबाट नार्पाभूमि जाने मर्स्याङ्दीमाथिको झोलुंगे पुल र सिरान तालतर्फ जाने अर्को झोलुंगे पुल बगेका छन् । तिमाङखोलाको बेलिब्रिज भने मंगलबार बगाएको थियो । चामे, तिमाङ, धारापानी, ताल, तिल्चेलगायत ठाउँमा रहेका आधा दर्जन लघु जलविद्युत् आयोजना पनि बगेका छन् ।

बाढीले नासों गाउँपालिकाको कार्यालय, सीमा प्रहरी चौकी धारापानी, वडा ५ कार्यालय, थोंचे स्वास्थ्य चौकी, धारापानीस्थित प्रभु बैंक र प्राइम कमर्सियल बैंक बगाएको छ । ५ वटा पर्यटकीय होटल पनि बगाएको छ । प्रजिअ लामिछानेले प्राइम कमर्सियलमा कार्यरत एक कर्मचारी सम्पर्कविहीन रहेको बताए । मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेमा बस्तीमा पानी पसेर ३ घर बगाएको छ । डीएसपी सुवास खड्काका अनुसार मर्स्याङ्दी र आसपासका बाढीले तालगाउँ डुबानमा परेको छ । चामेको ५ र धारापानी क्षेत्रमा करिब १० घर बगेका छन् ।

सशस्त्र प्रहरी बल नं. ३२ गुल्म, मनाङका गुल्मपति डीएसपी होमनाथ पन्थीले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले पीडितको उद्धार गरिरहेको बताए । चामेका ६५ र तालगाउँका ५० घरपरिवार विस्थापित भएका छन् । तालगाउँका स्थानीय तालडाँडामा बसेका छन् भने धारापानीका ७० जना ओडार गाउँमा स्थानान्तरण भएका छन् । धारापानीका २० भन्दा बढी घर विस्थापित भएका छन् । बाढीले बेंसीसहर–चामे सडकको ठाउँठाउँमा छियाछिया बनाएको छ । चामेबाट धारापानी क्षेत्रका स्थानीयको उद्धार गर्न आएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ३३ जनाको टोली चामेबाट आउन नसकी फर्केका छन् ।

लमजुङमा निर्माणाधीन जलविद्युत् आयोजनाको संरचनासँगै करिब २० घर बगाएको छ । ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’, २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी १ जलविद्युत् आयोजनाको संरचना बगाएको छ । यस्तै, ङादीमा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना र ४०।२७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको संरक्षणमा पनि क्षति पुर्‍याएको छ ।

दोर्दीखोलामा आएको बाढीले दोर्दी–८ हिलेबजार क्षेत्रका २० घर बगाएको छ । वडा ६ को कीर्तिपुरबेंसीको ४० घर, ढोडेनीबेंसीको ६ र कर्तीबेंसीको १४ घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताए । हिलेबजारका स्थानीयलाई फलेनी माध्यमिक विद्यालयमा राखिएको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका–७ स्थित मिदीमखोलामा फसेका ८ स्थानीयको उद्धार गरिएको छ । उनीहरू मंगलबार धान रोप्न खेतमा गएका थिए । खोलामा बाढी आएपछि गाईफार्ममा रात गुजारेका उनीहरूको बुधबार उद्धार गरिएको इलाका प्रहरी कार्यालय भोर्लेटारका निरीक्षक बोधराज रेग्मीले बताए । म्याग्दीमा १०२ परिवार विस्थापित भएका छन् भने ८६ घर उच्च जोखिममा छन् । सबैभन्दा बढी बेनी नगरपालिकाको २, ३, ४, ५, ६ र ९ वडामा स–साना पहिरोले घर भत्केपछि ४२ परिवार विस्थापित भएका छन् ।

सदरमुकामसमेत रहेको बेनीबजार कालीगण्डकी नदी कटानको उच्च जोखिममा परेको छ । संरक्षणका लागि लगाइएको तटबन्ध भत्काई कटान सुरु गरेको बेनीका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए । अन्नपूर्ण गाउँपालिकामा १७, मंगलामा २०, मालिकामा ८, धवलागिरिमा २० परिवार विस्थापित भएका छन् ।

बाढी पहिरोको जोखिममा रहेको म्याग्दीको तातोपानी क्षेत्र ।

बागलुङमा ३० परिवार विस्थापित भएका छन् । सबै ग्रामीण सडक, राजमार्ग र पक्की पुलसमेत भत्केपछि आउजाउ ठप्प भएको बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले बताए । गत वर्षदेखि बागलुङ नगरपालिकाले निर्माण थालेको औद्योगिक क्षेत्र कालीगण्डकीले कटान गरेको छ । प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले विस्थापित ३० घरका १ सय ५५ जनालाई सुरक्षित स्थानमा सारिएको बताए । विस्थापित हुने काठेखोला, बडिगाड र ढोरपाटन नगरपालिकाका हुन् । ढोरपाटन नगरपालिका–९ मा भुजीखोलाले सडक बगाएपछि आउजाउ बन्द भएको सिकार आरक्षका कर्मचारी वीरबहादुर थापाले बताए ।

बडिगाड खोलाको बाढीले बुर्तिवाङ बजार, बडिगाड गाउँपालिकाको भीमगिठे, ग्वालीचौर र खरवाङ बजार जोखिममा पारेको स्थानीय कमल पौडेलले बताए । गलकोट नगरपालिकाको नरेठाँटी, हटिया र काँडेवासलगायतका बजार क्षेत्र जोखिममा परेपछि मंगलबारदेखि नै कतिपयले घर छाडेर सुरक्षित स्थानमा सरेका छन् । ‘बस्ती जोखिम भएकाले सुरक्षित स्थानमा बस्न भनेका छौं,’ गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले भने, ‘तत्काल उद्धारमा खटिन समेत नसकिने अवस्था भएपछि सुरक्षित बस्न भनेका छौं ।’ ताराखोलामा पहिरोले जलविद्युत् आयोजनामा क्षति पुगेपछि तीन दिनदेखि अन्धकार छ । दुई वटा ‘खानेपानी आयोजना बगेपछि बलेनीको पानी खान बाध्य छौं,’ स्थानीय महेन्द्र घर्तीले भने, ‘फोन सम्पर्कमा समेत समस्या भएको छ ।’

नारायणी नदीमा आएको बाढीले पूर्वी नवलपरासीको गैंडाकोट र कावासोतीमा ९६ घर डुबानमा परेका छन् । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार वडा २ को बोटेटोलमा ९१ घर डुबानमा परेपछि ३ सय २५ जनालाई अक्सफोर्ड कलेज र त्यहींको चर्चमा अस्थायी बसोबास गराइएको छ । कावासोती–१७ अमलटारीका ५ घर डुबाएको छ । गोरखामा १६ घर विस्थापित भएका छन् । करिब ९० मिटर सडक दरौंदीले कटान गरेपछि बारपाक सडक अवरुद्ध बनेको छ ।

मंगलबार आरुघाट गाउँपालिका–२ स्थित ठोट्नेरी खोलाले बगाएर बेपत्ता भएका गोविन्द चौधरीको शव बुधबार फेला परेको डीएसपी प्रकाश दाहालले बताए । बूढीगण्डकी नदीमा आएको बाढीले चुमनुव्री गाउँपालिका–३ सल्लेरीका चार घर बगाएको छ । २७ घरधुरी रहेको सल्लेरीमा अन्य घर पनि जोखिममा परेपछि स्थानीय बुधबार बिहानैदेखि घरका सामग्री सुरक्षित स्थानमा सार्न थालेका हुन् । विस्थापितलाई राहत सामग्री वितरणको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । धार्चे गाउँपालिका–५ माछिखोलास्थित बूढीगण्डकी नदी किनारका १० घर विस्थापित भएका छन् । बारपाक सुलिकोट गाउँपालिका–४ झोलुंगेका दुई घर उच्च जोखिममा परेपछि स्थानान्तरण गरिएको छ ।

कालीगण्डकी नदीको बहाव बढेपछि स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणी बजार डुबानमा परेर क्षतिग्रस्त ८ घरपरिवारलाई स्थानान्तरण गरिएको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसी राजेन्द्र अधिकारीका अनुसार उनीहरूलाई अस्थायी टहरोका लागि त्रिपाल दिइएको छ । कास्कीको मादी गाउँपालिकामा निर्माण भएका र निर्माणाधीन ४ जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । निर्माणाधीन ४४ मेगावाटको सुपरमादी आयोजनामा करोडौंका सामग्री बगेका छन् । यसैगरी १२ मेवाको नामार्जुङ मादीको पावरहाउस डुबानमा परेको छ भने २५ मेगावटाको अपर मादी र अर्को सिक्लेस हाइड्रोमा पनि क्षति पुगेको छ । मादी–७ मा ६ परिवारलाई अन्यत्र सारिएको छ ।

तनहुँमा पहिरोको जोखिम बढ्दै गएको छ । सानाठूला खोला नदीमा पानीको बहाव बढ्दै गएपछि तटीय क्षेत्रमा कटान गर्नुका साथै केही भूभाग डुबानमा समेत पर्न थालेका छन् । झरीका कारण सानाठूला पहिरो खस्दा केही घरमा क्षति पुगे पनि मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका धेरैजसो स्थानमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । सो प्रक्षेपणमा हिमाली र पहाडी भागमा धेरै पानी पर्ने उल्लेख छ । मनाङ, मुस्ताङ लगायतका जिल्लामा आएको बाढी–पहिरोले त्यो पूर्वानुमान मिलेको छ ।

बाढी–पहिरोले मनाङ, मुस्ताङ भन्दा धेरै बितण्डा सिन्धुपाल्चोकमा पनि पुर्‍यायो । माथिल्लो भागमा धेरै पानी नपरे पनि मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले पुर्‍याएको क्षतिलाई पनि मौसमविदले अनौठो मानेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकमा असार १ गते २९।२ मिलिमिटर मात्र वर्षा रेकर्ड भएको छ । विभागका प्रवक्ता एवम् वरिष्ठ मौसमविद श्रेष्ठ भन्छन्, ‘बलेफीमा त पूर्वसंकेत पाएर राति नै सूचना सम्प्रेषण गर्यौं, जसले गर्दा धेरै क्षति भएन । तर, मेलम्चीको सन्दर्भमा त्यति ठूलो क्षति पुर्‍याउने बाढी आउने गरी वर्षा नै भएको छैन ।’

पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङस्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने लार्के भन्ने ठाउँमा गएको ठूलो पहिरोले मेलम्ची नदी एक घण्टासम्म थुनिएर ताल बनेको र पछि बाँध फुटेर ठूलो बाढी आउँदा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

लेदोमाटोसहित एक्कासी आएको बहावका कारण मेलम्ची बजार भन्दा माथि नाकोटे भन्ने स्थानमा जडान गरिएको स्वचालित जल सतह मापन उपकरणले कामै नगरेको मौसम विज्ञान विभागले जनाएको छ ।

असार १ गते साँझ ६ बजेसम्म नाकोटे जलमापन केन्द्रमा जलसतह एक्कासी ४।७ मिटरबाट घटेर ३ मिटर मापन भएको थियो । तर साँझ पौने ७ बजेदेखि ७ बजेसम्मको बीचमा अकस्मात् जलसतह बढेर ६ मिटर पुगेको थियो ।

त्यसपछि स्वचालित जलसतह मापन उपकरणबाट तथ्यांक सम्प्रेषण हुन सकेन । विभागका प्रवक्ता श्रेष्ठ भन्छन्, ‘२० मिनेटकै बीचमा यसरी पानी बढ्यो कि हाम्रो सिस्टम नै बगायो । वार्निङ हामीकहाँ आउनु अगाडि नै सिस्टम गइसक्यो ।’ ‘हामीलाई एसएमएस पठाउनै १५–२० मिनेट लाग्छ, खोला विस्तारै बढेर बाढी आउने खालको भएको भए हामी पनि सतर्क हुन्थ्यौं, एसएमएस पठाएर सतर्क रहन भन्थ्यौं । तर त्यो मौकासमेत हामीले पाएनौं,’ उनले भने ।

बाढीको पूर्व खतराको संकेत पाउनासाथ जल तथा मौसम विज्ञान विभागले प्रभावित क्षेत्रका बासिन्दाहरुको मोबाइलमा एसएमएस पठाउँछ र मानिसहरु बाढी आउनु अगाडि नै सुरक्षित स्थानमा गएर बस्न सक्छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखालाई खतराको सूचना दिने यस्ता तीन सय वटा स्टेशन छन् ।

यसरी नेपालमा वर्षातको शुरुवातमा नै दिएको चुनौतीले सावधानका लागि उच्च सर्तकतता अपनाउनु पर्ने देखिन्छ । राजधानी नजिकको जिल्ला सिन्धुपाल्चोकसम्मका लागि विभिन्न संघ सस्थाहरुले राहतको वितरण गर्न थालिसकेका छन् तर बिगट जिल्लाहरुमा यस्तै घटना घटेमा के गर्ने ? प्रश्न खडा भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »