नेपालगन्ज, नेपाल आई. टी. एफ. तेक्वान्दो संघ बाँकेले लुम्बिनी प्रदेश खेलकुद परिषदका नवनियुक्त सदस्य सचिव भीम ओली र बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहलाई बधाई, शुभकामना एवम् सम्मान गरेको छ ।
नेपालगन्जस्थित होटल इन्द्रेणीमा आयोजित एक कार्यक्रममा नवनियुक्त सदस्य सचिव ओली र अध्यक्षलाई सम्मान गरिएको अध्यक्ष वीरेन्द्रजङ्ग शाहीले बताए । बधाई तथा शुभकामना कार्यक्रममा सदस्य सचिव ओलीले लुम्बिनी प्रदेशको खेलकुदको समग्र विकासका लागि आफूले भूमिका खेल्ने बताए ।
उनले आठौँ राष्ट्रिय प्रतियोगिताका क्रममा बनेका भौतिक संरचना संरक्षणमा चुनौती देखिएको बताउँदै बाँकेमा निर्माण भएका संरचनाको संरक्षण गर्ने दायित्व खेलाडी र खेलप्रेमीको भएको धारणा राखे । उनले भने, ‘म मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भएको बेला धेरै संरचना बनेका छन् ।
यसको संरक्षण गर्ने दायित्व फेरि मेरो काँधमा आएको छ,’ उनले भने, ‘तर मैले मात्र गरेर सम्भव छैन । यसमा सवैको साथ र सहयोग आवश्यक छ ।’ सो अवसरमा बाँके जिल्ला अध्यक्ष शाहले बाँकेका सवै खेल संघसँग मिलेर समग्र खेल विकासको योजना बनाइने बताए । उनले खेल संघ र खेलाडीलाई समग्र खेलकुदको विकासमा लाग्न सुझाव दिए ।
कार्यक्रममा बाँके जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष आतंक बस्नेत, एमाले लुम्बिनी प्रदेशका सदस्य नरेन्द्र ओली, नेकपा एमाले बाँकेका सचिवालय सदस्य कमल बस्नेत, खजुरा गाउँपालिकाका वडा अध्यक्ष तीलक वीर सुनार लगायतको सहभागिता रहेको थियो ।