काठमाडौं– सामाजिक सञ्जाल ट्विटरले गलत सूचना तथा जानकारी ट्विट गर्नेविरुद्धमा उजुरी लिने व्यवस्था गरेको छ।
गलत सूचनाको प्रवाह बढेको र त्यसले नकारात्मक असर पानै थालेको भन्दै ट्विटरले गलत सूचना प्रवाह गर्नेविरुद्ध उजुरी दिन मिल्ने व्यवस्था गर्न लागेको हो।
गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी गर्न मिल्ने व्यवस्था गरेपछि गलत सूचना प्रवाह हुने क्रम न्यूनीकरण हुने विश्वास ट्विटरका सञ्चालकहरूको छ।
यसअघि पनि ट्विटरले व्यक्तिगत रूपमा अपमानित गर्ने, गाली बेइज्जती गर्ने, अर्काको स्वन्त्रता हनन् गर्नेजस्ता कार्यका विरुद्धमा उजुरी दिन पाइने व्यवस्था गरेको थियो।
गलत सूचना प्रवाह सम्बन्धमा पनि त्यही प्रक्रिया र प्रकृतिले उजुरी दिन सकिने व्यवस्था गर्न लागिएको सञ्चालकहरूले जनाएका छन्।
विषेश गरेर राजनीति, जनस्वास्थ्यलगायत विषयमा आउने गलत सूचनालाई न्यूनीकरण गर्ने ट्विटरको प्रयास हो ।
कुनै ट्विटर ह्यान्डलबाट पटक पटक गलत सूचना प्रवाह भएको पुष्टि भएमा त्यसलाई निष्क्रिय पारिदिनेसम्मको योजना ट्विटरले बनाएको जनाइएको छ।
अहिले सुरुमा परीक्षणका रूपमा अमेरिका, अष्ट्रेलिया र दक्षिण कोरियाका प्रयोगकर्ताहरूले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिन सक्ने व्यवस्था गरिएको छ। यो सुविधा केही महिनापछि अन्य देशहरूबाट पनि उपलब्ध हुने अधिकारीहरूले जानकारी दिएका छन्।