सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेगउमनपा वडा नं. १७ परसपुरमा वडाध्यक्षले गरे शहादत मस्जिद गुठी ईदगाह कर्बलाको जमीनमा राजनीति

मनोज कुमार कौशल
नेपालगन्ज, नेगउमनपा वडा नं. १७ मा अवस्थित रहेको शहादत मस्जिद गुठी ईदगाह कर्बलाको जमीनमा वडाध्यक्ष अजय पाठकले राजनीति गराएको कुरा सार्वजनिक भएको छ ।


१७ नं. वडा परसपुरमा रहेको शहादत मस्जिद इदगाह र कर्बला निर्माणको लागि जमिन दशकौंअघि शहादत दर्जीका छोरा गुलाम दर्जी, मन्सुर दर्जी, हातिम दर्जी, दिलदार दर्जीले दानमा दिएका थिए ।


उक्त जमिन दान दिने समयमा शहादत दर्जीको छोरा गुलाम हजरत दर्जी आफै मालपोत कार्यालयमा पुगी मस्जिदलाई जमिन दान दिएको कुरा मालपोतको श्रेस्ताबाट देखिन्छ । उनी शहादत दर्जीको वंशज मध्येका निजामुद्दीन दर्जी हालसम्म शहादत मस्जिद लगायतको देखरेख गर्दै आएका थिए । तर यसै समय उक्त शहादत मस्जिदमाथि आँखा प¥यो वडा नं. १७ का वडाध्यक्ष अजयकुमार पाठकको । उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट स्थानीय निर्वाचनमा वडाध्यक्ष पदको उम्मेदवार भए र सो निर्वाचनमा विजयी भएका थिए ।
अब केही महिनापछि पुनः स्थानीय निर्वाचन हुने भएको छ यस कारण एक विशेष समुदायको भोट बैंकमाथि कब्जा गर्ने उद्देश्यले वडाध्यक्ष पाठकले आफ्ना व्यक्तिबाट शहादत मस्जिदमाथि कब्जा गराएका छन् ।

२०७८ श्रावण २३ गतेका दिन वडाध्यक्ष अजय पाठकले शहादत मस्जिद ईदगाह कर्बलाको जमिनमाथि कब्जा गराउन एक्कासी भेला बोलाए भेला बोलाउने समयमा मस्जिदको जमिन दान दिने परिवार सदस्यलाई पनि बोलाउनु पथ्र्याे तर वडाध्यक्ष पाठकले यस्तो कार्य गरेनन् ।
उनीले केही समयमा नै मस्जिदको समिति निर्माण गराए यस गठित समितिको अध्यक्ष पदमा कौसर अली बेहना र क्रमशः सदस्य पदमा स्वयं आफै र त्यस्तै उपाध्यक्षमा सज्जन अली सल्मानी, कोषाध्यक्षमा मन्सुर अली दर्जीलाई चयन गराए । त्यस्तै अन्य सदस्य पदमा मक्सुद अली दर्जी, रज्जब अली बेहना, गफ्फार अली दर्जी लगायतलाई चयन गरि नयाँ कार्य समिति निर्माण गराइयो ।


यसमा आश्चर्यको कुरा के छ भने अहिले कोरोनाको तेस्रो लहर आउने कुराले गर्दा यसबाट स्थानीय प्रशासन चिन्तित छ । बाँके प्रशासनले कुनै पनि प्रकारको भेला, सेमिनार, गोष्ठी, धार्मिक कार्यक्रमको आयोजन गर्दा १५ जना भन्दा बढी व्यक्तिलाई एकै ठाउँमा सहभागी नहुने भनि सूचना जारी गरेको छ तर यसबारे जानकारी १७ नं. वडाको वडाध्यक्षलाई रहेन ।
उनीले शहादत मस्जिदमाथि जसरी भए कब्जा गराउने मनसाय राखी त्यहाँ १ सय २५ जना भन्दा बढी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थानीय नेता र कार्यकर्ताको भेला गराएर शहादत मस्जिदको नयाँ कार्य समिति निर्माण गराए । यसरी निजामुद्दीन इद्रिसीको पुर्खाले दान दिएर बनाएको मस्जिद इदगाह र कर्बलाको जमिनमाथि एक किसिमले वडाध्यक्ष अजय पाठकले आफ्नो पार्टीको कब्जा गराएका छन् ।


उनीको यस्तो कार्य यहींसम्म सीमित रहेन जानकारी अनुसार मस्जिदको जमिन दान दिने स्व. व्यक्तित्वहरु मुस्लिम समुदायको बरेलवी सोच ‘फिर्का’का सुन्नी मुस्लिम थिए । यस कारण यो मस्जिद बरेलवी समुदाय फिर्काको मातहतमा रहनुपथ्र्याे तर वडाध्यक्ष अजय पाठकले बदनीयत राखी सो शहादत मस्जिदको जमिनमाथि मुस्लिम समुदायको देवबन्दी समुदाय फिर्काको कब्जा गराउन उनीले देवबन्दी सोच फिर्काका व्यक्ति कौसर अली बेहनालाई समितिको अध्यक्ष बनाइ मुस्लिम समुदायबीच झैंझगडा गराउने षडयन्त्रसम्म गरेकोले एकतर्फ २ राजनीतिक पार्टीबीच मतभिन्नता बढेको छ भने अर्काेतर्फ २ वटा मुस्लिम समुदायको फिर्काबीच पनि विवाद बढेको देखिन्छ यस्तो कुरा भर्खरै देखिएको छ ।


शहादत मस्जिदमाथि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका कार्यकर्ताले समिति खडा गरी कब्जा गरेपछि यसको विरोधमा नेकपा एमालेको भातृ संगठनको रुपमा रहेको नेपाल मुस्लिम इत्तेहाद संगठन जिल्ला कार्य समिति बाँकेले साउन २७ गते एक प्रेस विज्ञप्ति निकालेर कडा प्रतिक्रिया जनाएको छ ।


इत्तेहाद संगठन बाँकेका अध्यक्ष मो. उमर हलवाई कबाडीले विज्ञप्तिमार्फत भनेका छन् कि, परसपुर वडा नं. १७ मा रहेको शहादत मस्जिद गुठी इदगाह र कर्बलाको व्यवस्थापन समिति १७ नं. वडाध्यक्ष अजय पाठकको रोहबरमा केही व्यक्तिहरुलाई बोलाइ राजनीतिक पूर्वाग्रह राखी गठन गरिएको कुरा संचार माध्यमबाट सूचना प्रवाह भइ जानकारीमा आएकोले हामीहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।
सो शहादत मस्जिद निजामुद्दीन इद्रिसीका पुर्खाले जग्गा दानमा दिएको पर्याप्त प्रमाणहरु छ तर समाजमा झैं–झगडा गराउन र राजनीतिक तवरले भोट बैंकको फोहोरी खेल खेल्ने मन्सायले यस्तो कार्य गराइएको छ यो कार्य पक्कै पनि राम्रो होइन । जहाँसम्म वडाध्यक्ष पाठकको निजामुद्दीन इद्रिसीमाथि आरोप छ कि उनीले मस्जिद निजीकरण गरेका थिए यस कुराको सबुद प्रमाण कहिंकतै पनि छैन । यस्ता अशान्ति फैलाउने झैझगडा गराउने मनसायले गरिएको क्रियाकलाप अब उपरान्त नगर्न नगराउन आग्रह गरेका छन् ।


शहादत मस्जिदको नयाँ समिति गठन एक्कासी वडाध्यक्ष पाठकले गराएपछि परसपुरमा बसोबास गर्ने स्थानीय वासिन्दा २ भागमा विभाजित भएका छन् । त्यहाँ रहेका देवबन्दी सोचका सुन्नी समुदायका मुस्लिम नयाँ गठित कार्य समितिको बचाउमा लागेका छन् भने अर्काे बरेलवी समुदायका सुन्नी मुस्लिम खुलेर निजामुद्दीन इद्रिसी अध्यक्ष रहेको पुरानो समितिको पक्षमा खडा भएका छन् ।


मस्जिद विवादबारे यस पत्रिकाले शहादत मस्जिदका पुरानो समितिका अध्यक्ष निजामुद्दीन इद्रिसीसँग जानकारी लिन खोज्दा उनीले भने, यो मस्जिद मेरो पुर्खाले जमिन दानमा दिएर निर्माण गराएका थिए यस कारण दशकौंदेखि म यसको संरक्षण संवद्र्धन गर्दै आएको छु तर वडाध्यक्ष पाठकले यस मस्जिदमाथि एक राजनीतिक दलको वर्चस्व बनाउन कोरोनाको समयमा बाँके जिल्ला प्रशासन कार्यालयको कुनै पनि सभा, सेमिनार, गोष्ठी, धार्मिक सभामा ५ जना भन्दा बढी व्यक्ति सहभागी हुन नपाउने निर्देशनलाई अपहेलना गरी त्यहाँ गोप्य ढंगले १ सय २५ जना भन्दा बढी व्यक्तिलाई सहभागी गराएर फर्जी रुपले नयाँ कार्य समिति खडा गराए ।

यो कार्य सहमति अनुसार पनि गर्न सकिन्थ्यो यो मस्जिद मेरो पुर्खाले जमिन दान दिएर बनाए पनि यो मेरो नीजि सम्पत्ति होइन बरु समुदायको हो । मलाई अध्यक्ष बन्ने रहर छैन अध्यक्ष जो कोही पनि बनोस् तर सबैको सहमतिले बनोस् मस्जिद भनेको राजनीतिक अखडा होइन कुनै पनि विशेष फिर्काको होइन सबैको हो यसमा धार्मिक कार्यको आयोजना मात्र हुनुपर्छ राजनीति भने कोहीले गर्नु हुँदैन ।


नयाँ कार्य समितिको गठन फर्जी रुपले गरिएकोले १७ नं. वडामा आक्रोश छ । अजय पाठक वडाध्यक्ष रहेपनि उनीले कोरोना नियन्त्रणको सम्पूर्ण प्रोटोकलको अपहेलना गरेका छन् यस कारण सम्बन्धितहरुबाट उनीमाथि कडा कारवाही हुनुपर्ने बताए । (स्रोतः आजको सामना)

भर्खरै

सम्बन्धित खबर

Language »