सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एमाले तेस्रो धारका नेताहरू र ओली बिच कार्यान्वयन गर्ने समझदारी

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेको तेस्रो धारका नेताहरूबीच एमाले एकता कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयन गर्ने समझदारी बनेको छ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजनगरी नयाँ पार्टी दर्ताको प्रक्रिया अगाडी बढाएपछि उहाँको साथ छाड्नुभएका नेताहरूले ओलीसँग सोमबार वार्ता गरेका हुन्। वार्तामा ओली सहमति कार्यान्वयनका लागि सकारात्मक देखिएका छन्।

निर्वाचन आयोगले नेपाल नेतृत्वको पार्टी दर्ताका लागि भदौ ९ गते सनाखत गर्न आयोगमा आउन भनेको छ । त्यसको दुईदिनअघि एमाले अध्यक्ष ओली एकता कार्यदलको सहमति कार्यान्वयनका लागि तयार भएका हुन्।

ओलीले पार्टीमा विधानविपरीत काम गरिरहेको, एकलौटी निर्णयहरू गरिरहेको र आफ्नो समूहभन्दा बाहिरका नेताहरूलाई कारबाहीको डण्डा चलाइरहेको आरोप लगाइरहेका नेताहरू नै अहिले ओलीसँग वार्तामा रहेका छन्।

नेता नेपालले अन्तिम समयसम्म पनि प्रयास जारी राख्दा एकता सम्भव नभएको भन्दै नयाँ पार्टी दर्ताको प्रक्रिया थालेपछि नेपालको साथ छाडेको नेताहरू अहिले संगठित बनेका छन्। उनीहरू अझै पनि आफूहरू एकताको पक्षमा रहेको बताउँदै आएका छन्।

नेपाललाई साथ नदिएका स्थायी कमिटी सदस्यहरूसँग आफ्नो निवास बालकोटमा सोमबार भएको बैठकमा अध्यक्ष ओलीले कार्यदलले तय गरेको सहमति कार्यान्वयन गर्दै पार्टी कमिटीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउन तयार हुनुभएको वार्तामा सहभागी नेताहरूले बताएका छन्।

एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बैठकमा स्थायी कमिटीले १० बुँदेको कार्यान्वयनमा जोड दिएको बताए। ज्ञवालीका अनुसार कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनको प्रक्रियालाई अझ तीव्रताका साथ अगाडि बढाउने विषयमा समझदारी बनेको बताए।

बैठक सौहार्द र उपलब्धिमूलक भएको उल्लेख गर्दै उनले पार्टी एकतामा देखा परेका समस्याहरू समाधानका दृढतापूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरे। उनले भने, ‘छलफलमा मुख्यतया पार्टीको एकतालाई सुदृढ गरेर मुुलुकका सामु उपस्थित चुनौतीहरूको सामना गर्न सक्नेगरी नेकपा (एमाले) लाई सुदृढ गर्ने विषयमा छलफलहरू केन्द्रित भएका छन्।’

बैठकमा अध्यक्ष ओलीले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा नेताहरूलाई ब्रिफिङ गरेका थिए। प्रवक्ता ज्ञवालीका अनुसार अध्यक्ष ओलीले राष्ट्रिय राजनीतिमा उत्पन्न भएका जटिलताहरू, प्रतिकूलताहरू, संविधानको अपव्याख्या गर्दै मुलुकलाई पश्चगमनको बाटोमा लैजान भइरहेका प्रयासहरूका बारेमा तेस्रो धारका नेताहरूसँग छलफल गरेका थिए।

ओलीले जनताको आन्दोलन र बलिदानले प्राप्त भएका उपलब्धिहरूलाई खोस्ने, तिनीहरूलाई समाप्त पार्ने दिशातिर भइरहेका प्रयासहरूलाई असफल बनाउन एकता जरुरी रहेको पनि बताएका छन्।

ज्ञवालीले स्थायी कमिटी सदस्यहरूले कार्यदलको प्रस्तावलाई कार्यान्वयनमा लैजानुपर्ने कुरामा जोड दिएको बताउनुभयो । अध्यक्ष ओली र नेताहरूबीच सहमति कार्यान्वयनमा लैजाने विषयमा सहमति भएको पनि उनले बताए।

उनले भने, ‘उहाँहरूले मुलत्ः असार २७ गते कार्यदलको तर्फबाट गरिएको १० बुँदे प्रस्ताव, त्यसलाई कार्यान्वयन गरेर लैजाने कुरामा जोड दिए। छलफलले १० बुँदे प्रस्तावलाई कार्यान्वयनको प्रक्रिया जुन अब सुरु पनि भइसकेको छ। त्यसको कार्यान्वयनलाई अझ तीव्रता दिने, त्यसको कार्यान्वयनलाई अगाडि बढाउने निर्णय गरेको छ।’

यता, माधव नेपालको साथ छाडेका एमाले सचिव योगेश भट्टराईले पार्टीलाई एकताबद्ध बनाउनको लागि आफू जिम्मेवार रहेको प्रतिबद्धता अध्यक्ष ओलीले जनाएको बताए। मंगलबार बस्ने स्थायी कमिटीको बैठकले १० बुँदे कार्यान्वयनका लागि मितिसहितको कार्ययोजना ल्याउने र लगत्तै केन्द्रीय कमिटी बैठक आह्वान गरेर सहमतिलाई परिष्कृत गर्दै कार्यान्वयनमा लैजाने उनले उल्लेख गरे।

एमालेको केन्द्रदेखि वडा तहसम्मको कमिटी २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनको लागि स्थायी कमिटी बैठकमा कार्ययोजना प्रस्तुत हुने उनले बताए। उनले भने, ‘छलफलमा अध्यक्षले अत्यन्तै सकारात्मक धारणा राख्नुभएको छ । पार्टीलाई एकतावद्ध बनाउने कुरामा आफू जिम्मेवार छु भन्ने कुरा उनले राख्नुभएको छ । पार्टीमा सबै साथीहरूलाई समान व्यवहार गर्ने, सबै साथीहरूको पुराना जिम्मेवारीहरूलाई यथावत राख्नेकुरामा अध्यक्षले प्रतिबद्धता दिएका छन्। कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने ऐतिहासिक अभिभारा पूरा गर्न नेकपा (एमाले) लाई एकताबद्ध गर्ने कुरामा आफू लाग्ने अध्यक्ष कमरेडको भनाइ आज हामीसमक्ष राख्नुभएको छ।’

पार्टी अहिले संगीन मोडमा रहेको र एकताका लागि कार्यदलले तयार पारेको सहमति कार्यान्वयन आवश्यक रहेको कुरा आफूहरूले ओलीलाई भनेको उहाँले बताउनुभयो । ओली आफ्ना कुराहरूमा सकारात्मक रहनुभएकाले कार्यान्वयन हुनेमा पनि आफूहरू विश्वस्त रहेको उनले बताए।

उनले भने, ‘हामीले यो एउटा संगीन मोडमा नेकपा (एमाले)को एकतालाई बचाइ राख्नको लागि मुलत्ः १० सदस्यीय कार्यदलले गरेको १० बुँदे प्रस्तावलाई कार्यान्वयन गर्नुपर्छ भन्ने कुरालाई हामीले जोड दियौँ । त्यसमा अध्यक्ष कमरेड र हाम्रो बीचमा एउटा सहमति भएको छ।’

ओलीसँगको भेटमा २०७५ साल जेठ २ गते कायम भएका एमालेका केन्द्रदेखि, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, गाउँ, वडातह, टोल सम्मका सम्पूर्ण कमिटीहरूलाई क्रियाशिल बनाउने विषयमा सहमति भएको उनले बताए।

नेपालको साथ छाडेका नेताहरू एमालेमै रहन तयार भएपनि नेपाल लगायतका नेताहरू भने फर्किने लक्षण देखिएको छैन । ओली पक्षीय नेताहरू अब माधव नेपाल बाहेकको एमाले बन्ने भन्दै टिप्पणी गरिरहेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »