नेपालगन्ज, बाँकेमा पहिलोपटक बिहीबारदेखि पाँचदिने पुष्प खेती तालिम सुरु भएको छ । चर्ती फ्लोराको आयोजना र जीआईजेडको सहकार्यमा नेपालगन्ज उप–महानगरपालिका–२०, इमामनगरमा तालिमको आयोजना गरिएको हो ।
चर्ती फ्लोराकी संचालक विन्दुचर्ती मगरले विशुद्ध महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताइन् । ‘हामीहरुले फूल खेती सुरु गर्नका लागि बुटवल, काठमाडौं जस्ता ठाउँहरुमा गएर सिकेका हौं । त्यसैले फूल खेतीबाट आत्मनिर्भर हुन चाहने महिला दिदी बहिनीहरुलाई टाढा जान नपरोस भनेर यहिँनै तालिमको आयोजना गरेका हौं,’ मगरले भनिन् ।
बाँकेमा फूल उत्पादन बजारको मागअनुसार हुन सकेको छैन । यहाँ उत्पादन हुने फूलले २० प्रतिशतमात्र स्थानीय बजारलाई पूर्ति गर्न सकेको मगरले बताइन् । मगरले भनिन्, ‘अहिले बाँकेमा एक÷दुईजना मात्र फूल उत्पादक रहेका छौं । तर यहाँको माग धेरै छ । जसका लागि हामीले अन्य जिल्ला र भारतबाट फूल आयात गर्छौं । यो तालिमले फूल उत्पादनमा वृद्धि गर्न सक्ने मइलले आशा लिएकी छु ।’
नेपालगन्ज उप–महानगर क्षेत्रभित्र रहेका १० जना महिलाहरुलाई तालिममा सहभागी गराइएको छ । तालिममा उनीहरुलाई फूल खेती गर्न, बगैचा व्यवस्थापन र फूलको बजारीकरणका बारेमा प्रशिक्षण दिइने छ । तालिम भदौं १५ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।
प्रशिक्षण पश्चात स्वयम्ले व्यवसायी रुपमा काम गर्ने तालिमका सहभागी महिलाहरुले बताए ।
उनीहरुलाई तालिमपश्चात एकपटक चर्ती फ्लोराले फुल खेती गर्न बिरुवा, मल र जैविक विषाधी उपलब्ध गराउने छ । कार्यक्रममा महिलाहरुलाई प्रशिक्षक वीर बहादुर हमाल र विष्णु चौधरीले प्रशिक्षण दिने आयोजकले जनायो ।