मंसूर अली इद्रिशी
नेपालगञ्ज, बाँके युनेस्को क्लबले बर्दियाको राजापुर ८ मा बालविवाह विरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उदेश्यले जनचेतनामूलक र्याली र सभाको आयोजना गरिएको छ । क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको ‘बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना’ अन्तर्गत सो जनचेतना र्यालीको आयोजना गरिएको हो ।
कम उमेरमा गरिने विवाह तथा जबरजस्ती गरिने विवाह विरुद्ध समाजमा चेतना फैलाएर रोकथाम र नियन्त्रण गर्ने उदेश्यले सो र्यालीको आयोजना गरिएको क्लबले जनाएको छ । बालविवाह विरुद्ध विभिन्न नाराहरु लगाउँदै सो र्यालीले वडाको विभिन्न भागको परिक्रमा गरेर सभामा परिणत भएको थियो ।
सो र्यालीमा वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरु, बरघर, प्रहरी, महिला स्वयं सेविका, नागरिक सञ्जालका प्रतिनिधिहरु, बालबालिका, सामुदायीक वनका सदस्य र पदाधिकारी लगायतको सहभागिता रहेको थियो । सभामा बोल्ने अधिकांश वक्ताले भविष्यका कर्णधार बालबालिका भएकोले उनिहरुको रेखदेख, शिक्षा र पालन पोषणमा विशेष ध्यान दिनुका साथै उमेर नपुग्दै गरिने र हुने विवाहलाई पुर्ण रुपमा रोक्नु पर्नेमा जोड दिएका थिए ।
सो अवसरमा सहभागिहरुले बालविवाह रोकथामका लागि हरेक प्रयास गर्ने प्रतिवद्धता पनि जनाएका थिए । अहिले बर्दिया जिल्लाका विभिन्न पालिकामा बालविवाह रोकथाम र नियन्त्रणका लागि बाँके युनेस्को क्लबले स्थानीय सरकारसंग मिलेर विभिन्न काम र गतिविधीहरु गर्दै आएको छ ।
बालविवाह विरुद्ध निति निर्माणदेखि बजेट विनियोजन र कार्यान्वयन गराउने कार्यमा क्लबले विशेष अभियाननै सञ्चालन गरेको छ ।