हिन्दूहरूको चाड बडादसैंमा घर जानेका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ। सरकारले आजदेखि दसैंमा घर जानका लागि लामो तथा मध्यम दुरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो।
काठमाडौंको गोंगबु बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ११ वटा टिकट काउन्टर थप गरिएको छ । नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टर छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अग्रिम टिकट बुकिङको सम्पूर्ण तयारी पूरा भएको बताए।
उनले अग्रिम टिकट लिने यात्रुलाई टिकट लिएपछि आफू जाने गन्तव्यस्थल, बस नम्बर, मिति र समय पहिचान गरेर बस्न अनुरोध गरेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।