सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दशैंमा गाउँ जान टिकट सहजै पाइने, यात्रुको चाप कम

काठमाडौं । सरकारले देखि लामो दूरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै दसैं तिहारमा गाउँ जाने यात्रुले सहजै टिकट पाउने भएका छन । विगतका वर्षमा भन्दा यसपटक गाउँ जाने यात्रुको कमी हुँदा सहजै टिकट पाउने भएका हुन् ।
सरकारले अग्रिम टिकट बुकिङ खुलाएको पहिलो दिन सोमबार विहानैदेखि गोंगबु बसपार्कमा स्वास्थ्य मापदण्ड पालना गरेर टिकट काट्नेहरुको लाइन देखिएको छ । अग्रिम टिकट बुकिङका लागि यातायात व्यवसायीले अनलाइन टिकट बुकिङ र गोंगबु बसपार्क, चाबहिल, कोटेश्वरलगायतको टिकट काउन्टरबाट टिकट काट्ने व्यवस्था मिलाएका छन् । यस्तै गोंगबु बसपार्कमा दसैंका लागि गाउँ जाने यात्रुका लागि ११ ओटा टिकट काउन्टर थप गरिएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार विगतका वर्षभन्दा यसवर्ष गाउँ जाने यात्रुको कमी भएको छ । ‘‘सोमबार अग्रिम टिकट बुकिङको पहिलो दिन हो । विहानैदेखि उपत्यकाका विभिन्न ठाउँबाट टिकट काट्ने व्यवस्था मिलाएका छौँ । यात्रुहरु एकदमै कम छन् । विगतका वर्षहरुमा साधारणतया अग्रिम टिकट बुकिङ खुलाएको पहिलो दिन बसापार्कमा यात्रुको ठूलो भिडभाड हुन्थ्यो । अहिले टिकट काट्ने यात्रुको संख्या निकै कम छ,” महासचिव सिटौलाले भने ।

महासंघका अनुसार कोरोना महामारीका कारण पहिले नै उपत्यकाका अधिकांश यात्रुले उपत्यका छोडिसकेका छन् । महासचिव सिटौला कोरोना महामारीका कारण निषेधाज्ञा हुँदा र सबै विद्यालय बन्द हुँदा यात्रु, विद्यार्थी, सर्वसाधारण पहिले नै गाउँ गइसकेको बताउँछन् । ‘‘हामीले अनलाइन टिकट र बसपार्कलगायत अन्य ठाउँमा स्वयं उपस्थित भएर टिकट काट्ने व्यवस्था मिलाएका छौँ । पहिले अग्रिम टिकट खुलाएको पहिलो दिन हजारौँको संख्यामा यात्रु टिकट काट्न आउँथे । अहिले त्यो अवस्था छैन । यस हिसाबले यात्रुलाई यसपालि टिकट काट्न पहिले जस्तो समस्या हुँदैन । सहजै टिकट पाउँछन्,” उनले भने, ‘‘दसैंमा गाउँ जाने यात्रु कम भएको कुराले हामी निराश भएका छैनौँ । यसको सकारात्मक पक्ष यात्रु सहजै गन्तव्य स्थलसम्म यात्रा गर्न पाउने अवसर पनि हो । सोमबार विहान यात्रुको न्यून उपस्थितिले नै सहजै टिकट पाउने देखिएको छ । टिकट काउन्टरबाट टिकट काटिसकेपछि आफ्नो गाडी नम्बर, सम्बन्धित काउन्टरको नम्बर पहिचान गरेर मात्रै यात्रा गर्नुहोला ।” यातायात व्यवस्था विभागले यसपटकको दसैंमा करिब १० लाख यात्रुले काठमाडौं उपत्यका छोड्ने अनुमान लगाए पनि यो संख्या घट्ने व्यवसायीको भनाइ छ । यातायात व्यवसायीहरुका अनुसार अग्रिम टिकट बुकिङको पहिलो दिन विगतका वर्षहरुभन्दा करिब २० प्रतिशतले यात्रुहरु घटेका छन् । गत बिहीबार यातायात व्यवस्था विभागले यातायात व्यवसायी, महानगरीय ट्राफिक प्रहरी महाशाखा, उपभोक्ता अधिकारकर्मीहरुसँगको छलफलपछि असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं, ललितपुर र भक्तपुर गरी १२ ओटा स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । यातायात व्यवसायीहरुले सरकारलाई सडक मर्मतसम्भार गर्न माग गरे अनुसार सडक मर्मत भइरहेको महासचिव सिटौलाको भनाइ छ ।

यातायात व्यवस्था विभागले यात्रुलाई सम्बन्धित टिकट काउन्टरबाट वा अनलाइनबाट टिकट काटेर सुरक्षित यात्रा गर्न आम यात्रु उपभोक्ताहरुलाई अनुरोध गरेको छ । विभागका महानिर्देशक नमराज घिमिरेले मोबाइल बैंकिङ, इसेवा, कनेक्ट आईपीएस, अनलाइन बैंकिङ एमबाट सजिलै टिकट काट्न सकिने भएकाले यात्रु वा उपभोक्ताहरुले उक्त प्रविधिमार्फत टिकट काटदा सहज हुने बताए । ‘‘यद्यपि बसपार्कमै टिकट काट्न गएको खण्डमा आधिकारिक टिकट काउन्टरको पोसाक र परिचयपत्र लगाएका कर्मचारीमार्फत टिकट काट्दा यात्रु ठगिनबाट जोगिनेछन् । यसमा ट्राफिक प्रहरीको सहायता कक्षले सघाइरहेको छ । यदि कतैबाट कोही पनि यात्रु ठगिन पुगेमा नजिकैको ट्राफिक प्रहरीले सञ्चालन गरेको यात्रु सहायता कक्षमा सम्पर्क गर्न सकिनेछ,” महानिर्देशक घिमिरेले भने ।

यस्तै महानगरिय ट्राफिक प्रहरी महाशाखाले यात्रु ठगिएमा महाशाखाको टोलफ्रि नम्बर १०३ मा सम्पर्क गरेर सहयोग लिन आग्रह गरेको महाशाखाका प्रवक्ता संजीव दास शर्माका अनुसार यात्रु बढी चढाएर लामो दूरीको यात्रा गराउने सवारी साधनको निगरानीका लागि कलंकी नागढुंगामा साधा पोशाक लगाएका ट्राफिक प्रहरी खटाइनेछ । ‘‘यातायात व्यवसायीहरुसँगको समन्वय बमोजिम टिकट काउन्टरको पोशाक लगाएर मात्रै टिकट बिक्री गर्न पाइने व्यवस्था मिलाइएको छ । अन्यथा बाहिरको पोशाकमा टिकट बेच्न पाइने छैन । यदि अरु मानिसले टिकट बिक्री गरेको पाइएमा प्रहरीले पक्राउ गर्नेछ,” प्रवक्ता दासले भने ।
काठमाडौंको गोंगबु बसपार्कबाट देशभरका करिब ६५ जिल्लामा जाने बसहरु गुड्छन् । सरकारले समायोजन गरेको भाडादर अनुसार २० देखि २८ प्रतिशत बढी भाडा तिर्नुपर्नेछ । यदि ठाउँ अनुसार तोकिएको भाडादर भन्दा बढी भाडा लिएको पाइएमा प्रहरीले पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाउने एसपी दासको भनाइ छ ।

भर्खरै

सम्बन्धित खबर

Language »