नेपालगञ्ज , राष्ट्रिय प्रजातान्त्रिक युवा संघ नेपालगञ्ज समितिले बंगलादेशमा मन्दिर तथा हिन्दु आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनाको निन्दा गरेको छ ।
संघले बंगलादेशको सरकारसँग जिहादी आक्रमणकारीहरुविरुद्ध कठोर कदम चाल्न माग गरेको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई जिल्ला प्रशासन कार्यालय बाँके मार्फत ज्ञापन पत्र बुझाउँदै बंगलादेशमा रहेका हिन्दु समुदायको सुरक्षाको माग गरेको राप्रपा नेता एवं नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले सारा खबरलाई जानकारी दिनु भयो ।
युवा संगठनका अध्यक्ष रबि शंकर बर्मा नेतृत्वको टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री मार्फत प्रधानमन्त्री हसिना समक्ष ज्ञापन पत्र बुझाएको हो ।
राजधानी ढाकामा सयौं मानिसहरुले अहिले विरोध प्रदर्शन गरिरहेका छन् । देशमा चलेको धार्मिक हिंसा अन्त्यको माग गर्दै उनीहरु विरोधमा उत्रेका हुन् ।
हालसम्म अधिकांश हिन्दु धार्मिक स्थलहरुमा हमला भएको छ । ज्ञापन पत्र बुझाउन राप्रपाका नेता एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।