सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मोहम्मद सलाहको ह्याट्रिकमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ५–० ले पराजित गर्‍यो

मोहम्मद सलाहको ह्याट्रिकमा लिभरपुलले आइतबार इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई ओल्ड ट्राफोर्डमा ५–० ले पराजित गरेको छ । इंग्लिस फुटबलको सबैभन्दा ठूला प्रतिद्वन्द्वीबीचको २ सय २ औं भिडन्तमा योर्गेन क्लोपको टोलीले प्रभावशाली जित हात पारेको हो ।

नाबी केइटा र डिएगो जोटाले लिभरपुललाई सुरुआतमै अग्रता दिलाएका थिए । त्यसपछि सलाह चम्किँदै ह्याट्रिक गोल गरेका थिए । सलाहले ३८ औं मिनेटमा आफ्नो पहिलो गोल गरेका थिए भने पहिलो हाफको इन्जुरी टाइममा दोस्रो थपेका थिए । मध्यान्तरपछिको पाँचौं मिनेटमा उनले आफ्नो ह्याट्रिक पूरा गरे ।
ओले गनर सोल्सायरको युनाइटेडको पीडा यतिमै सीमित भएन । केइटामाथि दुई खुट्टाले ट्याकल गरेपछि पाउल पोग्बाले रातो कार्ड पाए र युनाइटेड ६० औं मिनेटमा १० खेलाडीमा खुम्चियो । पोग्बा दोस्रो हाफको सुरुआतमा मात्र मैदानमा आएका थिए ।

लिभरपुलको ओल्ड ट्राफोर्डमा यो अहिलेसम्मको सबैभन्दा ठूलो जित हो । सन् १९२५ यता लिभरपुलले कुनै पनि मैदानमा युनाइटेडलाई सबैभन्दा ठूलो अन्तरमा पराजित गरेको हो । ‘यहाँ आएर ५–० को नतिजा निकाल्नु ठूलो जित हो, हामीले आफ्नो खेल खेल्न सकेनौं भने धेरै गाह्रो हुन्छ भन्ने थाहा थियो,’ सलाहले भने, ‘उनीहरूले सबै प्रयास गर्छन् भन्ने हामीलाई थाहा थियो । हामी आफ्नो खेल मात्र खेलिरहेका थियौं र अवसरको सिर्जना गरिरहेका थियौं । हामीले त्यही गरेका हौं र केही गोलमा भाग्यमानी पनि थियौं ।’

भर्खरै

सम्बन्धित खबर

Language »