नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले न्यायालयमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिलो छ्यापेको आरोप लगाएका छन्। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणामाथि महाअभियोग लगाउने विषयमा छलफल समेत नभएको भन्दै उनले उक्त आरोप लगाएका हुन्।
‘सर्वोच्चका न्यायाधीशले पुस ५ मा संविधान मिचेर प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्रीविरुद्ध उभिएर जुन फैसला गर्नुभयो, त्यसको प्रशंसा दुनियाँले गरेको छ,’ नेपालले भने, ‘सबैको राजीनामा माग्ने गलत काम हो, समाजका सबैको हुर्मत लिने केपी ओलीको कामै त्यही हो।’
सर्वोच्चमा प्रधानन्यायाधीशमाथि राजीनामाको दबाब बढ्दै गएको विषयमा आफूलाई थाहा नभएको उनले जिकीर गरे। उनले भने, ‘यसबारे मलाई धेरै नसोध्नुस्, मैले धेरै बुझ्न पाएको छैन, बसेर छलफल गरेर टुङ्गाउनुपर्छ।’ स्याङ्जामा पार्टी कार्यालय उद्घाटन गर्न जाने बेला पोखरामा आज पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीको चर्का आलोचना गरेका थिए।
उनले एमालेको भविष्य खत्तम रहेको दाबी गर्दै एमालेमा गएका दश भाइलाई छिटो समाजवादीमा फर्कन आह्वान गरे।‘ एमालेमा बस्नेहरुको हरिबिजोग हुनेवाला छ, त्यहाँ बस्ने मान्छेको बेहाल छ,’ उनले भने, ‘एमालेको भविष्य नै छैन, खत्तम छ।’
निर्वाचनपश्चात एमालेलाई टर्च बालेर खोज्नुपर्ने भन्दै उनले एमाले पार्टी केपी ओली सँगसँगै सती जाने बताए । एकीकृत समाजवादी पार्टी एमालेसँग मिल्ने कुरा कल्पना समेत नगरेको उनको भनाइ छ। एमाले दक्षिणपन्थी बाटोमा गएको उनले आरोप लगाए। केपी ओलीको बफादार भएसम्म उक्त पार्टीमा बस्न पाइने र बफादार नभए हरिबिजोग हुने अध्यक्ष नेपालले बताए । ‘ओलीजीलाई कम्युनिष्ट पार्टी र आदर्श मन पदैन, उहाँको आफ्नै नीति र विधि छ,’ उनले भने, ‘त्यहाँ बसेका मान्छेहरु निजी कम्पनीको सदस्यको रुपमा हुन बाध्य हुनेछन्।’ अध्यक्ष नेपालले ‘अर्ली इलेक्सन’को आवश्यकता नरहेको बताए। तीनै तहका निर्वाचन एकैपटक गर्न उपयुक्त हुने दाबी गर्दै नेपालले यसबारे गठबन्धनमा सल्लाह गर्ने बताए। ‘अर्ली इलेक्सन किन गर्नुपर्यो, बरु मिल्छ कि मिल्दैन थाहा छैन, तीनवटै निर्वाचन एकैपटक गर्नु पर्छ कि भन्ने लागेको छ। खर्च पनि कम हुन्थ्यो, राष्ट्रको सम्पत्ति जोगिन्थ्यो होला,’ उनले भने, ‘कानुनी अड्चन छ कि छैन कुन्नी। हामी सल्लाह गर्छौं।’