नेपालगञ्ज, नेकपा एमाले बाँकेको भोली पुस २३ गते सुरु हुने जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने भएको छ । ८ औं जिल्ला अधिवेशनको तयारीका बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकाल र सह इन्चार्ज मोहम्मद हारुनले जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने जानकारी दिनुभयो ।
इन्चार्ज ढकालले ७७ वटै जिल्लामा सर्वसम्मत नेतृत्व चयन हुने बताउनुभयो । एमाले विरुद्ध चौतर्फी आक्रमण भईरहेको भन्दै त्यसलाई निष्तेज पार्न सर्वसम्मत जिल्ला कमिटी गठन हुने ढकालको भनाई छ । सह इन्चार्ज हारुनले नेता र कार्यकर्ता सबैको बिश्वासको आधारमा सर्वसम्मत कमिटी बन्ने बताउनुभयो ।
१२० सदस्यीय जिल्ला कमिटी नै सर्वसम्मत बन्ने नेताहरुको भनाई छ । वडा, पालिका अधिवेशन तथा महाधिवेशन र जिल्ला अधिवेशनको प्रतिनिधी सर्वसम्मत चयन भएका कारण जिल्ला अधिवेशनले पनि कमिटी सर्वसम्मत चयन गर्ने नेताहरुको भनाई रहेको छ ।
पुस २३ गते विहान ११ बजे नेकपा एमालेको नेपालगञ्जस्थित पार्टी कार्यालयमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुनेछ ।
एमाले बाँकेका अनुसार आयोजक ४९७ सहित वडा र जनसंगठनबाट एक हजार ३८३ जना प्रतिनिधी छनौंट भई आएका छन् ।
एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जिल्ला अधिवेशनको तयारी करिब पुरा भएको जानकारी दिनुभयो । अधिवेशनको तयारीका लागि गठित उपसमितिले तिव्ररुपमा कार्य अघि बढाएको अध्यक्ष गुरुङको भनाई छ ।
एमाले अध्यक्षका लागि वर्तमान अध्यक्ष निरक गुरुङ, उपाध्यक्ष किस्मत कक्षपति, सचिव रत्न खत्री, नेताहरु डिल्ली विसी, घननाथ खनाल, अशोक कर्माचार्य, गोपाल गिरी, सतिश निरौला लगायतको नाम चर्चामा छ ।