एजेन्सी। भारतस्थित नेपाली दूतावास ‘प्रवासी नेपाली’ का समस्या समाधानप्रति उदासीन देखिएको छ । कोरोनाको तेस्रो लहर फैलिएका बेला उनीहरूको अवस्थाबारे जानकारी लिनसमेत दूतावासले कुनै सक्रियता देखाएको पाइँदैन । प्रवासी नेपालीका सरोकारवाला संघसंस्थाले दूतावासको रवैयालाई लिएर रोष प्रकट गरेका छन् । दूतावासले कोभिडको सन्दर्भमा एउटा सूचना जारी सम्पर्क नम्बर दिनुबाहेक केही नगरेको उनीहरूको गुनासो छ ।
संकटकै बेला दूतावासका अभिभावकको भूमिका खेल्नुपर्नेमा कुनै चासो नदिएको उनीहरूले बताए । विगतमा दूतावासले समन्वय मात्र गरिदिँदा प्रवासी संघरसंगठनले सक्रिय भएर काम गर्दै आएका थिए र त्यसको जस दूतावासले नै पाउँथ्यो । तर पछिल्लो समय दूतावासका कर्मचारी प्रवासीका विषयमा गुनासा सुन्न पनि तयार नहुने नेताहरूको भनाइ छ ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे यति बेला दूतावासले प्रवासी संघरसंगठनसँग कुनै सम्पर्क नगरेको बताए । ‘कोभिडको सन्दर्भमा मात्रै होइन, प्रवासी नेपालीका विभिन्न समस्याका विषयमा जुन ढंगले दूतावास सक्रिय भइदिनुपर्ने हो, त्यो हुँदै भएको छैन,’ उनले भने, ‘हामी आफैले भारत सरकार वा प्रदेश सरकारलाई आग्रह गरेर नेपालीको समस्या समाधान गर्ने कोसिस गर्छौं । दूतावास सक्रिय भइदिए समाधान छिटो हुन्थ्यो ।’
कोभिडका सन्दर्भमा दूतावासले जारी गरेको फोन नम्बरसहितको सम्पर्कको सूचना कर्मकाण्डी मात्रै रहेको माओवादीको भ्रातृ संगठन अखिल भारत नेपाली एकता मञ्चका उपमहासचिव आरबी खड्का बताउँछन् । ‘दूतावासबाट केही सहयोग हुन सक्छ भन्ने खालको विश्वास नै बन्न सकेको छैन,’ उनले भने, ‘जारी गरिएका फोनमा कल गरे फोनै नउठ्ने, उठे पनि समस्या समाधानमा कुनै पहलकदमी नहुने अनुभव प्रवासी नेपालीहरूको छ ।’ कोभिडको संक्रमणको दौरान वा अन्य कुनै विषम परिस्थितिका बेला सामूहिक भूमिकाले राम्रो परिणाम दिने गर्छ तर त्यसतर्फ दूतावासले कुनै अग्रसरता नै नदेखाएको उनले गुनासो गरे ।
दूतावास तीन महिनादेखि कार्यवाहक राजदूतको भरमा छ । तत्कालीन राजदूत नीलाम्बर आचार्य कात्तिक ३ मा बिदा भएका थिए । त्यसयता नियोग उपप्रमुख रामप्रसाद सुवेदी कार्यवाहक राजदूतको भूमिकामा छन् । पछिल्लो तीन महिनाको अवधिमा प्रवासी नेपाली संगठनका अगुवाहरूले दूतावासले कुनै सन्दर्भमा पनि समन्वय नगरेको बताउँछन् । ‘हामी आफैंले कार्यवाहक राजदूतलाई भेट्न खोज्दा पनि मुस्किल हुन्छ, विभिन्न समस्या आइरहेका हुन्छन् । कतिपय अवस्थामा तत्कालै उहाँलाई फोनबाटै वा भेटेर जानकारी गराउनुपर्ने हुन्छ । तर, उनी फोन सम्पर्क वा भेट दुवैका लागि अनिच्छुक देखिन्छन्,’ नाम उल्लेख नगर्ने सर्तमा एक प्रवासी नेताले भने, ‘उनको फोन उठ्दैन, कल ब्याक आउने त सम्भावना नै हुँदैन ।’
प्रवासी नेपालीका संघरसंगठनका नेतृत्वलाई भेट्ने सन्दर्भमा कार्यवाहक राजदूतले जहिले पनि आफूलाई व्यस्त देखाउँदै पन्छिने गरेको गुनासो उनीहरूको छ । संघरसंगठनहरूले भारतमा करिब २० लाख नेपाली कामदार रहेको दाबी गर्दै आएका छन् । तर, त्यसको यकिन तथ्यांक दूतावाससँग छैन । भारतमा रहेका कामदारले गत वर्ष सवा खर्ब रेमिट्यान्स नेपाल पठाएका संगठनहरूको दाबी छ । कतारपछि सबैभन्दा बढी रेमिट्यान्स भारतबाट नेपाल भित्रिन्छ । तर, भारतमा रहेका कामदारका विषयमा भने दूतावासले कुनै जिम्मेवारी नै बोध नगर्नु विडम्बना भएको खड्काले बताए ।
संक्रमण फैलिएका बेला प्रवासी नेपालीले कोरोनाविरुद्धको खोप लगाउन चाहेका छन् । तर, धेरैसँग भारतीय आधार कार्ड नहुँदा समस्या छ । ‘व्यक्तिगत सम्पर्क र भनसुनका आधारमा हामीले त्यस्ता समस्या समाधान गर्ने प्रयत्न गरिरहेका छौं,’ खड्काले भने, ‘तर, दूतावासलाई यस्ता कैयन् समस्याबारे जानकारी हुँदा पनि संस्थागत पहल गर्न सकेको छैन ।’ राजदूत नहुँदा कार्यवाहकले त्यसअनुसारको जिम्मेवारीबोध नगरेको पनि खड्काले बताए । दूतावासमा प्रवासीका विषयमा प्रभावकारी ढंगले काम गर्ने गरी केही कर्मचारीसहित श्रम डेस्कको स्थापना गरिनुपर्ने खड्काको सुझाव छ ।
दूतावासका एक अधिकारीले पनि नेपाली संघरसंगठनका नेतृत्वलाई कार्यवाहक राजदूतले महत्त्व नदिँदा भारतका अन्य सहरका नेपालीसँग टाढा रहेको दूतावास पछिल्लो समय दिल्लीका प्रवासीसँग पनि टाढिँदै गएको बताए । कार्यवाहक राजदूत सुवेदीले भने कोरोनाको तेस्रो लहरले कोही नेपाली अप्ठ्यारोमा परेको सूचना दूतावासलाई प्राप्त नभएको दाबी गर्छन् । ‘हामीले फोन नम्बर दिएर सार्वजनिक सूचना जारी गरेका छौं । वेभसाइटमा पनि राखिएको छ । कोही कसैलाई अप्ठ्यारो परे सम्पर्कमा आउन आह्वान गरिएको हो,’ उनले भने, ‘तर, कसैले सम्पर्क गर्नु भएको छैन ।’ आम नेपाली, श्रमिक, विद्यार्थी, व्यवसाय गरेर बस्नेहरुको समस्यामा अग्रसरता लिन र सहकार्य गर्न दूतावास तत्पर रहने उनको भनाइ छ ।
एमालेको भ्रातृ संगठन प्रवासी नेपाली संघका भारत अध्यक्ष लोकनाथ भण्डारीले दिल्लीमा नेपाली दूतावास छ र त्यसले प्रवासी नेपालीको हितमा काम गर्छ भन्ने आश्वस्त पार्न नसकेको बताउँछन् । ‘संकटकै बेला अभिभावकत्व खोज्ने हो । संक्रमण फैलिएका बेला संघसंस्थामार्फत पनि नेपालीको हालखबर बुझ्ने कोसिस गरेको भए दूतावासप्रति राम्रो सन्देश जान्थ्यो,’ उनले भने, ‘तर, त्यसतर्फ दूतावासले सामान्य सक्रियता पनि देखाएको छैन ।’
भारतमा ठूलो संख्यामा नेपाली रहेकाले तिनका व्यावहारिक समस्या कूटनीतिक नभई व्यावहारिक रूपमै समाधान गर्न दूतावास अग्रसर हुनुपर्ने उनले बताए । ‘दूतावासले समन्वय गरिदेऊ, धेरै विषयमा हामी संघसंस्थाहरूले भारतभरि नै काम गर्न सक्छौं भन्दा पनि सुनुवाइ हुँदैन,’ उनले भने । दुई देशबीचको सन्धिअनुसार नेपाली नागरिकताका आधारमा नेपालीले सबै सुविधा पाउनुपर्नेमा त्यो नभइरहेको उनले बताए । भारतीय आधार कार्ड बनाउन नपाउँदा नेपालीले अनेकन समस्याको सामना गर्नुपरेकोतर्फ दूतावास जानकार भए पनि मौन रहेको उनले बताए ।
पछिल्लो समय नेपाली पासपोर्टका आधारमा सिमकार्ड दिन बन्द गरिएको छ । अन्य सबै देशका यात्रुले विमानस्थलमै आफ्नो देशको पासपोर्टका आधारमा सिमकार्ड पाउँछन् । तर, नेपालको पासपोर्टमा भिसाको छाप वा अवधि नलेखिएकाले नेपालीलाई सिमकार्ड दिन रोकिएको छ । यो पछिल्लो समय दिल्ली आउने सबै नेपालीले भोगेको साझा समस्या हो । यस विषयमा दूतावास जानकार भए पनि समाधान गर्नेतर्फ सक्रियता छैन ।
‘यस्ता साना–ठूला कामहरूको चाङ छ, जसलाई दूतावासले समाधान गराउन सक्छ,’ जनसम्पर्क समितिका अध्यक्ष पाण्डेले भने, ‘तर, त्यो काम गर्ने वा समन्वय गरिदिने इच्छा शक्ति नै दूतावासमा देखिँदैन ।’
मनिषा अभिनीत चलचित्र ओस्कारको प्रतिस्पर्धामा
९४ औं एकेडेमी (ओस्कार) अवार्डमा प्रतिस्पर्धा गर्ने चलचित्रहरूको सूचीमा मनिषा कोइराला अभिनीत फिल्म ‘इन्डिया स्विट्स एन्ड स्पाइसेस’ पनि अटाएको छ। विभिन्न विधामा प्रतिस्पर्धा गर्ने २ सय ७६ वटा चलचित्रको नाम सार्वजनिक गरिएको छ।
यो सूचीमा आफू अभिनीत चलचित्र पनि परेको कोइरालाले आफ्नो इन्स्टाग्राममार्फत यसको जानकारी दिएकी छिन्। २०२१ मा रिलिज भएको यो चलचित्रको अमेरिकी कमेडी ड्रामाको निर्देशन र लेखक गीता मलिकले गरेकी हुन्। १९ नोभेम्बर २०२१ मा अमेरिकामा यो चलचित्र रिलिज भएको थियो। यसमा सोफिया अली, मनिषा कोइराला, ऋष शाह र आदिल हुसैनले काम गरेका थिए।
ओस्कार अवार्डको घोषणा २७ मार्चमा हुनेछ। त्यसअघि २७ जनवरीदेखि १ फेब्रुअरीसम्म मनोनयनका लागि भोटिङ गर्न सकिनेछ। ८ फेब्रुअरीमा ओस्कारमा मनोनयन हुने चलचित्रहरूको अन्तिम सूची सार्वजनिक हुनेछ।
यसैबीच ९४औं संस्करणको ‘ओस्कर एकेडेमी अवार्ड’ ले पुनः होस्ट पाउने भएको छ। सन् २०१८ पछि यो विश्व प्रतिष्ठित अवार्डले होस्ट पाउन लागेको हो। सन् २०१९ यता ओस्कार होस्टबिना हुँदै आएको थियो। हुलु ओरिजिनल्स र एबीसी इन्टरटेनमेन्टका प्रमुख क्रेग एविर्चले यस पटकको ओस्कार होस्टसहित आउने बताए पनि अवार्ड कसले होस्ट गर्ने भन्ने केही खुलाएका छैनन्। सन् २०१७ र २०१८ को ओस्कर अवार्डको होस्ट जिमी किमेलले गरेका थिए। सन् २०१९ मा केविन हार्टले होस्ट गर्ने भने पनि उनले वर्षांै पुरानो समलैंगिक ट्विटका लागि माफी नमागेपछि अवार्ड आयोजकले बिनाहोस्ट कार्यक्रम गर्ने निर्णय लिएको थियो।
पछिल्लो एक दशकमा अवार्डमा क्रिस रक (२०१६), नील पेट्रिक हेरिस (२०१५), एलेन डिजेनरेस (२०१४), सेठ मेकफर्लेन (२०१३), बिली क्रिस्टल (२०१२) र जेम्स फ्रेंको तथा ऐनी हेथवे (२०११) ले होस्ट गरेका थिए। सन् २०१९ को जस्तै एबीसीले सन् २०२० मा पनि होस्टबिना नै अवार्ड गर्ने निर्णय लिएको थियो। तर त्यो अवार्डमा दर्शकले चासो देखाएनन्।
सन् २०२१ मा कोरोनाका कारण ढिलो भएको अवार्ड युनियन स्टेसनबाट प्रसारण भएको थियो। जसका कारण आयोजकले आधाभन्दा बढी दर्शक गुमाउनु परेको थियो। यहीकारण ९४औं संस्करणको अवार्डका लागि होस्टलाई पुनः ल्याउने निर्णय गरिएको हो।