नेपालगञ्ज , नेकपा एकीकृत समाजवादी बाँकेको ठुलो हिस्सा बिहिवार नेपालगञ्जमा आयोजित कार्यक्रममा नेकपा एमालेमा प्रवेश गरेको छ । पार्टीका उपसचिव किशोर थापाको नेतृत्वमा युवा नेताहरु राजु तामाङ्ग, किरण ढकाल, मिलन शाह, राजु रुचाल, विकास काउँचा, रामवरण वर्मा सहित ४५ जना जिल्ला कमिटी सदस्य, गाउँपालिका कमिटी र वडा कमिटी तथा निर्वाचित जनप्रतिनिधीहरु एमालेमा प्रवेश गर्नुभएको हो ।
उनीहरुलाई पार्टीमा प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीले अबदेखि बाँकेमा नेकपा एस उस्स भएको टिप्पणी गर्नुभयो । उहाँले एमाले निर्माणमा सबैको योगदान भएको भन्दै मुलघरमा फिर्ता हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एस, राप्रपा, नेपाली काँग्रेस, जसपा र नेकपा माओवादी केन्द्रबाट गरि एक हजार ५०० बढि नेकपा एमालेमा प्रवेश गरेको जिल्ला सचिव रत्न खत्रीले जानकारी दिनुभयो । एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपतिको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुर्य ढकाल, मो। हारुन, शान्ति ढकाल, दिपा शर्मा, पशुपतिदयाल मिश्रा लगायतको सहभागिता थियो ।
नरैनापुरका आगलागीपीडितलाई एमालेको राहत
बाँकेको नरैनापुरका आगलागी प्रभावित ६ घर परिवारलाई नेकपा एमालेले राहत उपलब्ध गराउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहिवार नेपालगञ्जमा आयोजित कार्यक्रममा पार्टीको सामाजिक सेवा केन्द्र मार्फत १६ परिवारलाई ४८ वण्डल जस्तापाता र प्रति परिवार एक लाख रुपियाँका दरले १६ लाख रुपिया सहयोग दिने जानकारी दिनुभयो ।
केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज सुर्य ढकाल र मो। हारुनको सक्रियतामा प्रारम्भिक चरणमा बिहिवार नै राहत वितरण गरिने भएको छ ।