काठमाडौँ । फोहोर लिएर बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा गएका ट्रकहरु स्थानीयबासीले काठमाडौं नै फर्काइदिएका छन् । काठमाडौं महानगरपालिकाका इन्जिनियर शंकरदीप श्रेष्ठकाअनुसार करिब डेढ सय ट्रक फोहोर बिसर्जन नगरी उपत्यका फर्किएका हुन् । बुधबार उपत्यकाका सडकमा छरिएका फोहोर उठाएर विसर्जनका लागि ती ट्रक बन्चरेडाँडा गएका थिए ।
बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले यसअघि सरकारसँग भएका सहमति पालना गरिनुपर्ने मागसहित बुधबार पनि आन्दोलन गरेपछि ल्यान्डफिलमा फोहोर विसर्जन हुन नसकेको हो ।
ठूलो संख्यामा स्थानीयवासी सडकमा उत्रिएपछि फोहोर बोकेका ट्रकहरूलाई उनीहरुले अवरोध गरेका थिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ३ सेल अश्रु ग्यास प्रहार गरेको नुवाकोटका एसपी रामप्रकाश शाहले जानकारी दिए । स्थानीयवासीले अवरोध गर्न थालेपछि प्रहरीले उनीहरुलाई तितरबितर बनाउन अश्रु ग्यास प्रहार गरेको थियो ।
फोहोर विसर्जनका लागि सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरी घरघरमा धरपकडसमेत गरेको पीडितहरुले बताएका छन् । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति उपाध्यक्ष सनत उप्रेतीले प्रहरीले घरमा रहेका र खेतमा काम गरिरहेका नागरिकलाई पनि धरपकड गरेको बताए । शान्तिपूर्णरूपमा यसअघिका सहमति कार्यान्वयन हुनुपर्यो भन्दा राज्यले प्रहरी प्रशासन लगाएर हामीमाथि ज्यादती गरेको उनको भनाइ छ । घरमै बसिरहेको अवस्थामा सरोकारवाला समितिका अध्यक्ष श्रीराम भण्डारीलाई प्रहरीले पक्राउ गरेको उप्रेतीले बताए ।
प्रहरीले बुधबार बिहानैदेखि माइकिङ गर्दै सडक अवरोध नगर्न स्थानीयलाई आग्रह गरेको थियो । पीडितहरुले पनि प्रहरीलाई आफूहरुको शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप नगर्न भन्दै माइकिङ गरेका थिए । त्यही बेला प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई हटाउन खोज्दा अश्रु ग्यास प्रहार भएको थियो ।
स्थानीयको आन्दोलनका कारण फोहोर बोक्ने ३ वटा गाडीको सिसा फुटेको इन्जिनियर श्रेष्ठले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाका अनुसार मंगलबार उपत्यकाबाट १५७ ट्रक (करिब १२ सय मेट्रिक टन) फोहोर ल्यान्डफिल साइटमा लगिएको थियो । जेठ १० र ११ गते बञ्चरेडाँडास्थित साइटमा फोहोर व्यवस्थापन गरिएको थियो । जेठको १२, १३ र १४ गतेसम्म सिसडोलमा अन्तिम विसर्जन गरिएको थियो । त्यसपछि स्थानीय अवरोधका कारण फोहोर ढुवानी रोकिएको थियो ।