काठमाडौं । प्रहरीको समन्वयमा केएमसी कलेजमा शंकास्पाद अवस्थामा मृतक भेटीएको रमा रायमाझीको लाशलाई पोष्मार्टमका लागि शिक्षण अस्पताल महाराजगंज लाने सहमती भएको छ । घटना घटेको करिब २६ घन्टापछि विद्यालयको प्रधानअध्यापक, विद्यालय व्यवस्थापन र मृतकको परिवार, काभ्रे जिल्ला नेपाली कांग्रेसको सभापति तृर्थ लामा र नेपाल प्रहरी बानेश्वरको प्रहरी वृत्त प्रमुख लगाएतका व्यक्तिहरु बसेर गरेको छलफल र वार्ता पछि पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगंजमा लैजाने सहमती भएको घटना स्थलबाट निरज रायमाझीले सारा खबरलाई जानकारी दिएको छ ।
काभ्रे तेमालकी २१ वर्षकी रमा रायमाझी डेढ वर्षदेखि काठमाडौं वुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा काम गर्थिन् । काम गरेर सोही स्कुलमा बहिनीको पढाइ खर्च व्यहोरेर घरमा बाबुआमालाई पैसा पनि पठाउँथिन् ।
उनले काम गर्न थालेदेखि बाबु ईश्वर रायमाझी र आमा कल्पना रायमाझी लाई धेरै भरथेग भएको थियो । तर अब ईश्वर र कल्पनाकी प्यारी रमा रहिनन् । उनी आफूले काम गर्दै आएको केएमसी स्कूलकै होस्टलमा झुण्डिएको अवस्थामा भेटिइन् ।
छोरी रमाको मृत्युको खबर सुनेपछि शनिबार राति नै तेमालबाट रायमाझी दम्पती काठमाडौं आइपुगेका छन् । स्कुल बाहिर छोरीको शव कुर्दै यी दम्पतीले गरेको बिलौनाले त्यहाँ पुग्ने जो कोहीको पनि आँखा रसाएको छ ।
‘मेरो त घरको दियो निभेको छ । पिलर ढलेको छ । सहारा गुमेको छ आशाका किरण बिलाएका छन्’, मृत्युको १८ घन्टासम्म पनि छोरीको शव हेर्न नपाएका ईन्द्र प्रहरीलाई अनुनय विनय गर्छन्, ‘म पनि तपाईंहरु जस्तै कसैको बुवा हुँ, ज्यूँदो त देख्न पाइनँ पाइनँ, मरेको लास हेर्न आएको छु मलाई मेरी छोरी हेर्न दिनुस् ।’
रमाको शव झुण्डिएको अवस्थामा फेला परेको भए पनि प्रहरीले मृत्युको कारण पत्ता लगाएको छैन । आफन्तले निष्पक्ष अनुसन्धान र न्यायको ग्यारेन्टी नगरी शव नउठाउने अडान लिएका छन् । त्यसैले प्रहरीले घटनास्थलमा कसैलाई छिर्न दिएको थिएन ।
मेरो मुटुको टुक्राको हत्या भएको छ । सधैं भरलाई घरको दियो निभेको छ । बल्लबल्ल छाउन थालेको खुसी लुटिएको छ । अन्तिम पटक लास त हेर्न दिनुस्’, बोल्दा घाँटी सुकिरहेको छ ईन्द्रको । उनी बेलाबेला पानी खोज्छन् र फेरि बर्बराउन थाल्छन्, ‘छोरीलाई न्याय चाहियो । मेरी छोरीले के गल्ती गरी रु’
सहर चिनेकी–जानेकी र घरको अवस्था बुझेर काम गर्न थालेकी छोरीको मृत्यु भएपछि रायमाझी दम्पतीको सपना टुटेको छ ।
गाउँमा खेती किसानी र ज्याला मजदुरी गरेर गुजारा गर्दै आइरहेका थिए रायमाझी दम्पतीले । तर त्यतिले मात्रै घर खर्च धान्न सकिने अवस्था थिएन । त्यही अवस्था पार लगाउन मेहनत गरिरहेकी थिइन् रमा ।
रमाको सम्झनामा ब्याकुल भएको मन शान्त पार्न रायमाझी दम्पती बेलाबेला एक अर्काको हात समाउँदै शान्त हुने कोसिस गर्छन् । तर मन बुझाउने कसरी रु एक अर्कालाई हेर्दै उनीहरुका आँखामा आशु टिल्पिलाउँछन् ।
सुक्क सुक्क गर्दै पीडाले छटपटाइरहेकी कल्पना बेलाबेला मुर्छा पर्छिन् । उनलाई आफन्त तथा छोरीहरुले बेलाबेला पानी पिलाइरहेका छन् । पानी छम्किरहेका छन् र हावा लगाइदिँदै छन् ।
मुर्छाबाट ब्यूँझएिकी कल्पना सुक्कसुक्क गर्दै श्रीमानको काखमा टाउको राख्छिन् । छोरीलाई न्याय दिलाउन उनले ईन्द्रसामु बिन्ती बिसाइरहेकी छिन् । सायद आफू भन्दा श्रीमानप्रति बढी विश्वास र भरोसा छ कल्पनाको ।
छोरीको मृत्युले कल्पनाको मन निचोरिएको छ । शनिबार रातिदेखि आँखाबाट आँसुका धारा बगिरहेका छन् । ‘मेरी छोरीले कसको के बिगारेकी थिई र ज्यानै लिनुपर्यो । गल्ती गरेको भए हामीलाई भनेको भए हुन्थ्यो ज्यानै त नलिइदिएको भए हुन्थ्यो । मेरो त सहारा नै खोसियो । अब मैले छोरी कसलाई भन्नु ?’ हात पिट्दै उनी भनिरहेकी छिन् ।
काभ्रेमा खेतिपाती र ज्याला मजदुरी गरेर गुजरा गर्छन् रायमाझी दम्पती । उनीहरु पैसा र राज्य शक्ति नभएकाले छोरीको मृत्युको अनुसन्धान नहुने हो कि भन्ने आशंका गर्छन् ।
‘बाटोमा प्लाष्टिक टिपेर, ज्याला मजदुरी गरेर गुजारा गर्ने भुईंमान्छे हौं । हामीसँग न पैसा छ न त आफ्ना मान्छे,’ ईश्वर भन्छन्, ‘कुन पापीले छोरीको हत्या गर्यो खोजिदिनुस् ।’
आमा कल्पना भक्कानिन्छिन् र भन्छिन्, ‘म एक आमा हुँ एक महिला हुँ । मेरो पनि मन छ छोरीलाई न्याय दिनुस् ।’
काठमाडौं । काभ्रेको तिमाल गाउँपालिका–८ की २१ वर्षीया रमा रायमाझी हरेक दिन बेलुकी साढे ७ बजे बानेश्वरस्थित डेरा कोठामा पुग्थिन् । शनिबार चाहिं ८ बजिसक्दा पनि उनी आइनन् ।
दिदी नआएपछि बहिनी गोमाले उनलाई फोन लगाइन्, रिङ गइरह्यो तर, उठेन । पटकपटक प्रयास गर्दा पनि फोन उठेपछि उनी रमाले काम गर्ने बुद्धनगरस्थित केएमसी स्कुलतिर गइन् ।
गेटमा पुग्दा सुरुमा उनलाई सुरक्षागार्डले स्कुल बन्द भएको भन्दै भित्र छिर्नै नदिने प्रयास गरे । तर उनले दिदी हराएको भन्दै जिद्धी गरेपछि भित्र छिर्न दिए । उनले होस्टलका म्यानेजरलाई दिदीबारे सोधिन्, दिदी होस्टलको सहायक म्यानेजर थिइन् ।
म्यानेजरले अनविज्ञता जनाए । गोमाका अनुसार सुरुमा उनलाई दिदी घर गइसकेको भनिएको थियो ।
कोठामा नहेरी ननिस्किने अडान लिएपछि म्यानेजर पनि त्यतातिर गए । विद्यार्थीहरु टीभी हेर्न जाने समय भएकाले कोठामा अरु कोही पनि थिएनन् । ढोका ढक्ढक्याउँदा भित्र चालचुल थिएन ।
‘त्यसपछि मैले हात र खुट्टोले बेस्सरी बल लगाएर ठेलेँ, भित्र दिदी झुण्डिरहनु भएको थियो’ उनले भनिन्, ‘त्यसपछि त्यहाँबाट म्यानेजर र अरु कर्मचारी गायब भए ।’ उनका अनुसार त्यसपछि प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिइएको थियो ।
गोमाको दाबी अनुसार रमाको शव भुइँमा खुट्टा टेकेको अवस्थामा थियो । ‘सानो ठाउँमा लुगा झुण्डाउनेमा कसरी मान्छे झुण्डिनसक्छ रु’ उनले प्रश्न गरेकी छन्, ‘यदी दिदीको हत्या भएको थिएन भने प्रशासनको मान्छे किन भागे ?’
केहीबेरमै विद्यालय परिसरमा उनका परिवारका अन्य सदस्य पनि आइपुगे र नारावाजी गर्न थाले । तिमालबाट पनि आफन्तहरु आउन थाले, उनीहरुले न्याय पाउने सुनिश्चितता नहुञ्जेल शव उठाउन नदिने अडान लिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर, टेकु र प्रहरी वृत्त, बानेश्वरको टोली पनि घटनास्थलमा पुग्यो । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञ डा। गोपाल चौधरी नेतृत्वको टोली पनि आयो । तर आफन्तले उनीहरुलाई पनि मृतक भएसम्म पुग्न दिएनन् ।
‘परिवारको सदस्य नआइ यस्तो केशमा प्रहरी आफैंभित्र जाने कुरा पनि भएन’ जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनाली भन्छन्, ‘त्यही भएर बुबाआमा नआउञ्जेललाई भित्र जान पनि जोड गरेका थिएनौं ।’
रायमाझीका आफन्त बिहान ३ बजेसम्म पनि विद्यालय बाहिरै बसिरहेका थिए । उनीहरुको आशंका थियो, ‘कतै राति नै प्रहरीले सुटुक्क शव उठाउने त होइन ?’
राति एक बजेतिर प्रहरी वृत्त, बानेश्वरका डीएसपी मिमबहादुर लामाले छलफलका लागि आउन भन्दै केएमसीका प्रिन्सिपल द्वारिकानाथ आम्गाईँलाई बोलाए । तर उनले ‘आफू असुरक्षित भएको’ भन्दै आउन नमानेको आफन्तहरु बताउँछन् ।
‘खासमा विद्यालय प्रशासनले कर्मचारीको मृत्यु भएकोमा अलिकति पनि संवेदनशीलता देखाएको छैन’ काका सन्तोष अधिकारीले अनलाइनखबरसँग भने, ‘वार्ताका लागि पनि उनीहरूले राति वास्ता गरेनन्, आइतबार पनि यतिबेलासम्म प्रिन्सिपलको मुख देख्न पाइएको छैन ।’
करिब ३ सय प्रहरीको घेरा रहेका बेला ३०र३५ जना आफन्त हुनुले उनलाई के असुरक्षा पैदा भयो भन्ने आफूहरुले बुझ्न नसकेको अधिकारीले बताए । उनका अनुसार बिहान ३ बजेतिर शव नचलाउने भन्ने सहमति भएपछि आफन्त घर गएका थिए । तर त्यही बेला विद्यालयबाट गाडी लगायतका त्यहाँ राखिएका वस्तुहरु निकालिएको उनले बताए ।
उनको भनाइमा भतिजी झुण्डिएको भनिएको कोठामा हेर्दा छट्पटाएको कुनै संकेत थिएन । ‘मान्छेले मर्ने बेलामा त बच्नलाई कुनै न कुनै प्रयास गर्छ नि’, उनले भने, ‘तर भतिजीको मुखको मास्क पनि जस्ताको तस्तै थियो ।’
प्रदर्शनमा सहभागी सुजिता तिम्सिना भन्छिन्, ‘स्कुल भनेको विद्यालयका लागि सबैभन्दा सुरक्षित ठाउँ हुनुपर्ने हो, तर होस्टलमा कर्मचारी माथि नै यस्तो घटना भएपछि कसरी हामीले छोराछोरीलाई विद्यालयमा पठाउने ?’ छोरी पनि सोही विद्यालयमा पढ्ने भएकाले आफू प्रदर्शनमा सहभागी भएको उनको भनाइ छ ।
प्रशासनले सुरुमा विद्यालयमा भएको क्लोज सर्किट (सीसी) क्यामरा हेर्न दिने बताए पनि पछि नदेखाएको आफन्त अधिकारीको भनाइ छ । ‘फेरि कोही आल्नोमा झुण्डिएर कसरी मर्न सक्छ ?’ उनी प्रश्न गर्छन्, ‘खुट्टा टेकेको अवस्थामा कसरी मृत्यु हुन्छ ?’
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विज्ञहरु चाहिं ओछ्यानमा सुतेको अवस्थामा पनि आत्महत्या भएको उदाहरणहरु रहेको बताउँछन् । रायमाझीको हकमा हत्या वा आत्महत्या के हो भन्ने विषयको निर्क्यौल गर्न पहिले प्रहरीलाई अनुसन्धानका लागि बाटो खुलाइदिनु पर्ने जानकारहरु बताउँछन् ।
तर प्रहरीले पनि यो घटनामा निष्पक्ष अनुसन्धान हुन्छ र दोषी देखिए जोकोहीलाई कारबाही हुन्छ भनेर परिवारलाई विश्वासमा लिने गरी वातावरण बनाएको छैन । मृतकका काका अधिकारीलाई शव उठाएपछि न्याय पाइन्न कि भन्ने लागेको छ । ‘प्रहरी पनि विद्यालय प्रशासनसँगै मिलेको हुनसक्ने’ उनको आशंका छ ।
‘अहिले जति पनि घटना भएका छन्, शव उठाएपछि न्याय पाइएका छैनन्’ उनको आरोप छ, ‘जति लड्ने शव नउठाउँदै हो, नत्र न्याय पाउन गाह्रो हुन्छ ।’ त्यसैले न्याय प्राप्त हुने सुनिश्चित नभएसम्म शव नउठाउने उनी बताउँछन् ।
मृतकका आमाबुबाले त प्रहरीले ‘पीडकलाई कारबाही गर्नुपर्नेमा उल्टै प्रलोभनमा परेर आफूहरुको प्रदर्शनलाई दबाउन खोजेको’ आरोप लगाएका छन् ।
अनुसन्धान अधिकृतहरुका अनुसार जीवित मान्छेलाई बेहोसीको अवस्थामा झुण्ड्याउनु परे एकजनाबाट मात्र सम्भव हुन्न । फेरि जबरजस्ती भएको घटनामा प्रतिकार हुने भएकाले कुनै न कुनै निशान हुनसक्छ ।
हत्यापछि झुण्ड्याइएको भए पनि पोष्टमार्टम रिपोर्ट वा घटनास्थलको अवस्थाले कुनै संकेत दिन सक्छ, त्यसैले पनि यस्ता खाले घटनामा शीघ्र अनुसन्धान महत्वपूर्ण मानिन्छ । तर अनुसन्धानमै अवरोध गर्दा न्याय प्राप्तिमै ढिलाइ हुने काठमाडौं प्रहरीका एसपी मैनाली पनि बताउँछन् ।
घटनास्थलमा जान नपाउँदा अहिले प्रहरी अनुसन्धानमा पनि अवरोध पुगिरहेको अधिकृतहरु बताउँछन् । यद्यपि, मृतकको मोबाइन नम्बरको प्राविधिक पक्षबाट विश्लेषण गरेर पनि प्रहरीले अनुसन्धान थालेको छ ।
स्रोतका अनुसार सरल र मिजासिली स्वभावकी रमाको व्यवहार पछिल्लो केही समयदेखि फेरिएको थियो । यस विषयमा पनि केन्द्रीत भएर प्रहरीले उनका नजिकका साथीहरुसँग पनि सोधपुछ गरिरहेको छ ।
एसपी मैनाली भन्छन्, ‘मुख्य कुरा त घटनाको कारण के हो भन्ने पोष्टमार्टमबिना थाहा हुँदैन, त्यसैले यसमा सहजिकरण गरिदिन परिवारसँग आग्रह गरिरहेका छौं ।’