काठमाडौं । दोलखा र रामेछापको संगमस्थल शैलुङ डाँडामा निर्माण गरिएको शैलुङ ज्याङ्छयुब छयोर्तेन (बोधि चैत्य) को निर्माण सम्पन्न भएको छ ।
३१४५ मिटरको उचाइमा रहेको शैलुङ डाँडामा शैलुङ रिगसुम गोन्पो सेवा समाजद्वारा २०७३ सालबाट निर्माण सुरु गरिएको छ्योर्तेन करिब ७ वर्षपछि सम्पन्न भएको हो ।
छ्योर्तेनको यही फागुन १६ र १७ गते धार्मिक अनुष्ठानसहित शुद्धीकरण शुप्राण प्रतिष्ठा (राब्ने) एवं वाङ (आयु अभिषेक) तथा उद्घाटन कार्यक्रमको तयारी पूरा भएको छ । छयोर्तेन उद्घाटन प्राचीन बौद्ध ङिङ्मा सम्प्रदायका गुरु क्याब्जे सेचेन रब्ज्याम रिन्पोछेद्वारा धार्मिक अनुष्ठानसहित शुद्धीकरण सुप्राण प्रतिष्ठा गरिनेछ ।
टुल्कु लोसाङ नाम्ग्याल रिम्पोर्छेले वि.सं २०७० सालमा शैलुङ भ्रमण गरेपछि गरिएको परिकल्पनाअनुसार विस २०७२ साल चैत्र २० गते (सालाङ) सिलान्यस गरी निर्माण सुरु गरिएको समाजका अध्यक्ष शेरप शेर्पाले जानकारी दिए ।
अध्यक्ष शेरपका अनुसार छ्योर्तेनका लागि सबैतिरबाट आर्थिक, भौतिक, नैतिक सबै प्रकारको सहयोग प्राप्त भएको बताए । उनले भने,‘यो महान् पुण्य कार्य गर्ने दुर्लभ अवसर हामीले प्राप्त गरेका छौँ । ’
‘छ्योर्तेनको निर्माण सबै तरतवरबाट सम्पन्न भएको छ’, समाजका महासचिव कुमार थोकरले भने,‘अब यसको उद्घाटन मात्र बाँकी थियो, त्यो अब यही फागुन १६ र १७ गते गर्ने भएको छ ।यसमा हामी लागि परेको छ, यो काम सकेपछि समाजले गरेको पहिलो ठुलो कार्य पूरा हुनेछ ।’
बोधि चैत्य निर्माणको लागि दोरम्बा–शैलुङ गाउँपालिका रामेछाप, दोलखाको शैलुङ र मेलुङ गाउँपालिका, जनप्रतिनिधिहरू, लोपेन सोनाम लामा लगायत देशभरका विभिन्न सहयोगी हातहरूले गरेको दानबाट निर्माण सम्पन्न गर्न सफल भएको कोषाध्यक्ष डम्बर मोक्तानले जानकारी दिए ।
कोषाध्यक्षले मोक्तानले भने, ‘धार्मिक कार्यमा सबैको सहयोगले नै यो छ्योर्तेन निर्माण गर्न सफल भएको हो ।’ छयोर्तेन निर्माणमा करिब ३ करोड ३० लाख लागत पुगेको कोषाध्यक्ष मोक्तानले बताए ।
छ्योर्तेनका लागि शोकसिङ (मेरुदण्ड) शैलुङ गाउँपालिका वडा नं ४ स्थित तायाम्राङ च्यातका पेमादोर्जे लामाले दान गरेका हुन् । लामाका अनुसार शोकसिङको बिरुवा साठी सत्तरी वर्षअघि सिन्धुपाल्चोकस्थित लिसंखुबाट सानो बिरुवा ल्याएर रोपिएको बताए ।
उनले भने,‘करिब ७० वर्षअघि सानो धुपीको बिरुवा रोपिएको थियो, त्यही बिरुवाको रुखले आज शोकसिङको रूपमा छ्योर्तेनमा राख्न पाउँदा ठुलो सौभाग्य ठानेको छु । छ्योर्तेनमा दान गर्न पाउँदा अति खुसी लागेको छ । ’
शोकसिङ विधिपूर्वक काटेर यसको दिशाअनुसार नै छ्योर्तेनमा राखिएको समाजका सदस्य एवं ताम्बा सङ्घका अध्यक्ष धावावाङ्गेल मोक्तानले जानकारी दिए ।
ज्याङछ्युब छ्योर्तेन (बोधि चैत्य) को महत्त्व
बौद्ध धर्मावलम्बीहरूले बुद्ध र बौद्ध महासिद्धा गुरुहरूका अवशिष्ट चिन्ह राख्नका लागि ढुङ्गा, माटो, इँटा र धातु आदिले बनाएको स्तूपहरूलाई चैत्य भनिन्छ।संसारभर आठ छुट्टाछुट्टै चैत्य छन्। ती हुन्- पद्मकटक चैत्य, बोधि चैत्य, मंगलद्वर चैत्य, रिद्धिसीद्धी प्रदर्शन चैत्य, देवअओेतरण चैत्य, संगपूनर्गठन चैत्य, सर्वबिजेता चैत्य र महापरी निर्वाण चैत्य।यी आठै चैत्य मध्येको एक हुन्- बोधि चैत्य।
भगवान् शाक्यमुनि बुद्धले महापरिनिर्वाण पश्चात् आफ्नो अस्तुधातु राखी चैत्य निर्माण गर्न भनी सारिपुत्र तथा उपासक उपासिकलाई आदेश दिएका थिए । फलस्वरूप तथागत बुद्ध महापरिनिर्वाण भएपछि आठ राज्यमा तथागत बुद्धको अस्तुधातु विभाजन गरी आठ वटा चैत्य निर्माण भएको थियो । ततपश्चात् चैत्य निर्माणले गति पाएको देखिन्छ । यी अष्ट चैत्यहरू मध्ये ज्याङछ्युब छ्योर्तेन (बोधि चैत्य) सबैभन्दा महत्त्वपूर्ण चैत्य हो ।
बोधगयामा भगवान् शाक्यमुनि बुद्धले सम्यक् सम्बोधि लाभ गरेको स्मरणमा मगध नरेश विम्विसारले पहिलो पटक यस प्रकारको चैत्य निर्माण गर्नु भएको इतिहास रहेको छ । बोधिको अर्थ ‘बुद्ध ज्ञान’ र चैत्यको अर्थ ‘चित्त’ अर्थात् बुद्धको चित्तको प्रतीकको रूपमा बोधि चैत्यलाई लिन सकिन्छ ।
गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछे यस पावन भूमिमा २०७० सालमा पाइला राख्नुहुँदा यस क्षेत्रको महत्त्वलाई बोध गर्नुभई बोधि चैत्यको आवश्यकता महसुस गरिएको हो । यसको निर्माण गरी प्राण प्रतिष्ठा (राब्ने) भएपछि यस भेग लगायत चारैतिर सुख, शान्ति र समृद्धि छाउने गुरुको मुखारविन्दबाट उल्लेख भएकोले उनकै सदिच्छा अनुरूप यस चैत्यको निर्माण कार्य अघि बढाएको हो ।
यस्तो पुण्य कार्यमा सहभागी हुनु भएमा यस लोकका साथै परलोकमा समेत सम्पूर्ण मित्र सुख प्राप्त हुने र अन्ततः मोक्ष मार्गमा पुग्न सकिने कुरा प्रमाणिक बुद्ध वचन, सूत्र र तन्त्रमा समेत उल्लेख छ ।
चैत्यको प्राण प्रतिष्ठा पश्चात् दर्शन गर्नाले, नाम मात्र श्रवण गर्नाले, स्मरण गर्नाले, शरीरले स्पर्श गर्नाले साथै पवित्र चैत्य रहेको स्थानको हावाले छोए मात्र पनि समस्त सत्वप्राणीहरू दुर्गति (नरक, प्रेत र पशु) को जन्मबाट मुक्त हुने कुरा बौद्ध सूत्र र तन्त्रमा उल्लेख छ । यसर्थ यस्तो महत्त्वपूर्ण पुण्य कार्यमा यहाँहरूको सबै प्रकारको सहयोग प्रार्थनीय छ ।
यसरी बन्यो छ्योर्तेन
दोलखा र रामेछापको संगमस्थल ३१४५ मिटरको उचाइमा अवस्थित धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक भूमि शैलुङमा टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेले २०७० सालमा पाइला टेक्नुहुँदा शैलुङमा ज्याङछ्युव छ्योतेनको परिकल्पना गरिएको र उनकै सदिच्छा अनुसार छ्योर्तेन निर्माणार्थ शैलुङ रिगसुम गोन्पो सेवा समाज स्थापना भयो ।
रिन्पोछेको शैलुङ भ्रमण पश्चात् यस विषयमा दोलखा र रामेछाप जिल्लाका स्थानीयहरूसँग चरणबद्ध छलफल चल्यो । स्थानीयहरूको पनि शैलुङ क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक हिसाबले प्रवर्द्धन गर्नुपर्छ भन्ने कुरा पहिलादेखिकै हो । केही प्राविधिक र प्रक्रियागत कुराहरू पुरा गरी दुवै जिल्लाका स्थानीयहरूको अग्रसरतामा विशुद्ध सामाजिक उद्देश्य लिएर शैलुङ रिगसुम गोन्पो सेवा समाजको स्थापना भयो ।
समाजको स्थापना लगतै २०७२ साल चैत्र २० गते छ्योर्तेन निर्माणका लागि सालाङ (भूमिपूजन) गर्यौँ । भूमिपूजन त गर्यौँ तर सबैभन्दा ठुलो कुरा त आर्थिक सङ्कलनको पाटो थियो । यो कार्य संस्थाले सबैभन्दा पहिले कार्यसमितिका सदस्यहरूबाटै सुरु गर्यौँ । लगत्तै काठमाडौँलाई कर्मथलो बनाएर बस्ने त्यस भेगको स्थानीयहरूलाई भेला गरायौँ । भेला निकै महत्त्वपूर्ण रह्यो । भेलामा केही रकम सङ्कलन भयो । धेरै जनाले सहयोगको प्रतिबद्धता जाहेर भयो ।
त्यसपछि निर्माण समिति गठन गरेर करिब ५५ फिट अग्लो छ्योर्तेनको निर्माण कार्यलाई अगाडि बढायौँ । छ्योर्तेन निर्माणमा स्थानीय तवरबाट श्रोत, साधन र चन्दा सङ्कलन गरी निर्माण गरिएका हुन् ।
संस्थाको परिचय
शैलुङ रिगसुमा गोन्पो सेवा समाज गैरनाफामूलक सामाजिक संस्था हो । बौद्ध धर्म, परम्परा, बौद्ध शिक्षा र बौद्ध दर्शनको प्रवर्द्धन, धार्मिक ऐतिहासिक र पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण गरी त्यस्ता सम्पदाहरूको पुनर्निर्माण, संरक्षण र प्रबर्द्धन उद्देश्यका साथ वि.स. २०७१ सालमा यो समाजको स्थापना हो। त्यस्ता सम्पदाहरूको भौतिक पूर्वाधारको विकास गरी आन्तरिक र बाह्य धार्मिक तथा सांस्कृतिक पर्यटनलाई आकर्षित गर्दे स्थानीयको आयआर्जनमा वृद्धि गर्न समाजले समुदायसँग सहकार्य गर्दछ । त्यसबाहेक वातावरण, शैक्षिक, सामाजिक, सांस्कृतिक, धार्मिक आदि पक्षहरूको सन्तुलित विकासको लागि समुदायकै सहभागितामा समाजले आफ्नो गतिविधिलाई अघि सार्दै आएको छ ।
समाजले बौद्ध परम्परा, शिक्षा, दर्शनको संरक्षण र प्रवर्द्धन गर्ने, धार्मिक क्षेत्रहरूको पहिचान गरी भौतिक पूर्वाधारको विकास गर्ने, धार्मिक पर्यटनको अवधारणालाई अघि बढाउने बौद्ध आध्यात्मिक दर्शनको माध्यमबाट वातावरण संरक्षण र संवर्द्धन गर्ने, विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी वन, जङ्गल र प्राकृतिक स्रोत साधनको संरक्षण गर्ने कार्य गर्दछ ।