काठमाडौं । तेह्रथुमको लालीगुराँस नगरपालिकाले जङ्क फूड/पत्रु खाना तथा पेय पदार्थ खान र बिक्रि वितरण नगर्न अनुरोध गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै नगरपालिकाले बिहे, पार्टी, व्रतवन्ध, मेलापात, काजक्रिया तथा सुधाई कार्यक्रममा जङ्क फूड प्रयोग नगर्न अनुरोध गरेको हो ।
यस्ता किसिमका खाना/ सेवनले मानिसको स्वास्थ्यमा असर गर्नुका साथै क्यान्सरजन्य रोगसमेत निन्त्याउने भएको हुँदा रोगबाट बँच्न र बचाउन यस्ता खाना तथा पेय पदार्थ निषेध गरिएको नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत सविना श्रेष्ठद्वारा जारी सूचनामा भनिएको छ, ‘जङ्क फुड/पत्रु खाना चाउचाउ, लेज, कुरमुरे, चिप्स आदी तथा डिउ, कोकाकोला, फेन्टा, स्प्राइट जस्ता पेय पदार्थको सेवन/खानाले मानिसको स्वास्थ्यमा प्रतिकुल असर गरी क्यान्सर, मधुमेह, मृगौलामा समस्या हुने जस्ता डरलाग्दा र भयनक रोगहरु लाग्ने/हुने भनि विश्व स्वास्थ्य संगठनले प्रतिवेदन सार्वजनिक गरेको र लालीगुराँस नगरपालिकाको बाह्रौं नगरसभाले समेत जङ्क फूड/पत्रु खाना चाउचाउ, लेज, कुरमुरे, चिप्स आदी तथा पेय पदार्थहरु नगरबासीहरुलाई खान र बिक्रीवितरण गर्न निरुत्साहित तथा न्यूनिकरण गर्ने नीति लिए बमोजिम लालीगुराँस नगरवासी सबै आमाबुबा, दाजुभाई, दिदी बहिनीहरु क्यान्सर, मधुमेह, मृगौलामा समस्या हुने जस्ता भयनक र डरलाग्दा रोगहरुबाट बच्न र बचाउन आफ्नो घर, टोल, समुदाय, छिमेकमा हुने बिहे, पार्टी, व्रतवन्ध, मेलापात, काजक्रिया तथा सुधाई कार्यक्रममा जङ्क फूड/पत्रु खाना तथा पेय पदार्थ प्रयोग नगर्नु नगराउनु हुन र सबै व्यापारी वर्गहरुमा उल्लेखित जङ्क फूड /पत्रु खाना चा तथा पेय पदार्थहरु विक्रि वितरणमा निरुत्साहित तथा न्यूनिकरण गर्नु गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।’