कपिलबस्तु , नेपाली नारीहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा लायन्स क्लब कपिलवस्तु प्राचिन तौलिहवाको आयोजनामा “श्भकामना आदान प्रदान कार्यक्रम – २०८०” सम्पन्न भएको छ । कार्यक्रममा लायन्स क्लब कपिलवस्तु प्राचिन तौलिहवाका अध्यक्ष राजेश ज्ञवालीको अध्यक्षता रहेको थियो भने कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
सो अवसरमा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले यस्ता पर्वले एकताको सूत्रमा ल्याउँदै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न र एकापसमा खुसी साटासाट तथा मनोरञ्जन गर्ने अवसर समेत प्रदान गर्दै आएको भन्दै सम्पुर्ण महिलाहरुलाई तीजको शुभकामना समेत दिएका थिए ।
सो अवसरमा लायन्स क्लब कपिलवस्तु प्राचिन तौलिहवाका पूर्व अध्यक्ष रविन्द्रनाथ ठाकुरले सम्पूर्णमा तीजको शुभकामना व्यक्त गर्दै आपसी सद्भाव कायम राख्न सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यले हरितालिका तीज पर्वले आफ्नो धर्म, संस्कृतिको जगेर्ना गर्न र सद्भाव वृद्धि गर्न योगदान पु¥याउने विश्वास रहेको व्यक्त गर्नुभयो ।
यस्तै क्लबका अध्यक्ष राजेश ज्ञवालीले तीज पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर भगवान शिव–पार्वतीको पूजा आराधना गर्ने भएकोले तीजले नेपाली समाजमा विद्यमान लैगिंक, वर्गीय विभेद र सबै किसिमका असमानताहरूको अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई सम्मुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना दिएका थिए ।
कार्यक्रममा क्लबका पदाधिकारीहरु तथा पूर्व पदाधिकारी तथा सदस्यहरू लगायत आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो भने तराई मधेश र पहाड मा बसोबास गर्ने महिलाहरु दर खाएर एक साथ नाचगान गर्दै रमझम का साथ मनाएका हुन् ।