सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उद्योग बाणिज्य सङ्घमा एक महिनामा सपथ


नेपालगन्ज, नेपालगन्ज उद्योग वाणिज्य सङ्घको निर्वाचन सम्पन्न भएको करिब एक महिनापछि शुक्रबार प्रमाणपत्र वितरण तथा सपथग्रहण कार्यक्रम भएको छ । भदौं २ गते सङ्घको निर्वाचन अन्तर्गत मतदान भएकोमा भदौं ४ गते मत गणना सम्पन्न भएको हो । महासचिवका उम्मेदवारको विजयी घोषणामा असन्तुष्ट भई उच्च अदालत नेपालगञ्ज ईजलाशमा मुद्दा दर्ता भएपछि लामो समयसम्म सपथग्रहण रोकिएको हो । अदालतले महासचिव पदमा विजयी उम्मेदवारलाई सपथग्रहणमा रोक लगाएपछि शुक्रबार महासचिव बाहेक अध्यक्ष टंकप्रसाद धामी सहितका पदाधिकारी र सदस्यहरुको सपथग्रहण सम्पन्न भएको हो ।

बिवादका बीच आयोजित सपथग्रहणमा अध्यक्ष धामीले निर्वाचनको परिणाम आईसकेपछि अब सङ्घमा सबै पक्षलाई मिलाएर उद्योगी ब्यवसायीको हकहितमा प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
नव निर्वाचित अध्यक्ष धामीले भन्नुभयो, ‘सबै पक्षको सहमतिका आधारमा सङ्घ अघि बढ्नेछ, निर्वाचनको समयका प्यानल अब समाप्त भएका छन् , दुवै समुहको घोषणापत्र अनुसार अघि बढिनेछ ।’
महासङ्घका निवर्तमान अध्यक्ष अव्दुलवाहिद मन्सुरीले सबै पक्षलाई मिलाएर लैजान र सदस्य सम्मलाई उचित जिम्मेवारी दिएर नेतृत्वका विकास गर्न सुझाव दिनुभयो ।

पुर्व अध्यक्ष सुनीलकुमार शर्माले २०२४ सालमा स्थापित सङ्घको विवाद पहिलो पटक अदालत पुगेको भन्दै निर्वाचन आयुक्तको कमजोरी रहेको दावी गर्नुभयो । उहाँले अदालतलाई प्रभावित पार्नका लागि हतारमा सपथग्रहण गरिएको बताउनुभयो ।
सङ्घको निर्वाचनमा टंक धामी नेतृत्वको समावेशी प्यानल र ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक प्यानलबीच प्रतिष्पर्धा भएको थियो । अध्यक्षमा धामी
उपाध्यक्ष (उद्योग)मा चिरञ्जीवी ओली,उपाध्यक्ष (वाणिज्य) मा हरिलाल न्यौपाने,उपाध्यक्ष (महिला) मन्दिरा पाण्डे,उपमहासचिवमा टेकबहादुर खड्का, कोषाध्यक्षमा मख्खन धामी विजयी हुनुभएको छ । विजयी मध्ये खड्का र धामी मात्रै रौनियार प्यानलको रहनुभएको छ ।

सङ्घको १० सदस्यमा विष्णु श्रेष्ठ, डम्बर बहादुुुुर चन्द, शिवप्रसाद श्रेष्ठ, इन्दिराकुमारी शाही, टोपबहादुर थापा, सुदन के. सी., युवराज ढकाल, टीकामणि उपाध्याय, बुद्धिबहादुर वि.के. र सन्तोषकुमार पौडेल,एशोसियट सदस्यमा कमलकुमार कार्की र प्रदीपकुमार गुप्ता, सम्बद्ध सदस्यमा किशन गुरुङ, हिमनाथ पौडेल र विनय श्रेष्ठ विजयी हुनुभएको छ ।
महासचिवमा विवाद
निर्वाचन समितिले मतगणना गर्नेक्रममा अत्यन्त प्रतिष्पर्धा रहेको महासचिव पदको परिणाम घोषणामा विवाद भएको हो । निर्वाचन समितिले धामी नेतृत्वको प्यानलका उम्मेदवार भीमबहादुर रानाभाट ६ मतले विजयी भएको औपचारिक जानकारी सार्वजनिक गरेको थियो । रानाभाटले एक हजार ९२६ मत र उहाँका प्रतिद्वन्द्वी टंकप्रसाद शर्माले एक हजार ९२० मत ल्याएको निर्वाचन समितिको भनाई थियो । तर शर्मा पक्षले मतगणनामा क्रममा महासचिवको भन्दा अन्य मतपेटिकामा खसेको सम्पूर्ण मतपत्र गणना नभएका कारण अन्तिम परिणाम घोषणा नगर्न दबाब दिएको थियो । निर्वाचन समितिको घोषणापछि समितिका पदाधिकारीलाई तालाबन्दी गरि थुनिएकोमा अर्को दिन पुन मतगणना गर्ने सहमति भएको थियो । निर्वाचन आयुक्त टिकाजंग सिंहले पछि पुन मतगणना गराउन नमानेपछि यो विषय अदालतमा बिचाराधिन रहेको छ । सपथग्रहण कार्यक्रममा निर्वाचन आयुक्त सिंहले अदालतमा विचाराधिन विषयमा टिप्पणी गर्नुभएन । तर सङ्घको विधान अनुसार आफुले निर्णय गरेको दावी गर्नुभयो । उहाँले निर्वाचनमा विवाद हुनु सामान्य भएको दावी गर्नुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »