सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा स्क्रबटाइफस रोगका बिरामी संख्या बढ्यो


नेपालगन्ज, गत केही समय यता बाँकेका अस्पतालहरुमा स्क्रब टाइफस रोगका बिरामी बालबालिका उपचारका लागि आउनेक्रम बढेको छ ।

दैनिकजस्तो स्क्रबटाइफसका बिरामी बालबालिकाहरु अस्पतालमा उपचारका लागि आउनेगरेको कान्ति आरोग्य हस्पिटलका वरिष्ठ बालरोग विशेष डा. रोमा वोराले जानकारी दिनुभयो ।

उहाँले बालबालिकामा स्क्रबटाइफस देखिन थालेपछि उपचारका लागि अस्पताल आउनेहरु बढ्दैगएको बताउनुभयो । डा. वोराका अनुसार स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग किर्नाजस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जिवाणुबाट लाग्ने गर्दछ ।

उहाँका अनुसार माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ । सबै उमेर समुहका व्यक्तिहरुलाई यसले प्रभावित पार्नेगरेको जनाउँदै बालरोग विशेषज्ञ डा. बोराले समयमा उपचार नभए विरामीको ज्यान समेत जाने जोखिम हुनेगरेको बताउनुभयो ।

यसैगरी अर्का बालरोग विशेषज्ञ डा. सकिल अहमदले पनि केही दिन यता स्क्रबटाइफसबाट पीडित भएका बालबालिकाहरु उपचारका लागि आफ्नो क्लिनिकमा पनि आउनेक्रम बढेको बताउनुभयो ।

उहाँले मुसामा लाग्ने किर्नाजस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा यो रोग सर्ने हुँदा सरसफाइमा बिशेष ध्यान दिनुका साथै बालबालिकालाई धेरै ज्वरो आएमा, आँखा रातो भएमा र झाडापखाला लागेमा तत्काल चिकित्सकलाई जँचाउनु पर्ने बताउनुभयो ।

खेतबारीमा काम गर्दा वनजंगल र झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउनुका साथै घाँसवारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर मात्र बस्नु पर्ने, खाट वा अग्लो ठाउँमा सुत्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् ।

स्क्रब टाइफस लागेको शंका लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्ने जनाउँदै औषधि सेवनपछि रोग निको हुने नेपालगन्जका अर्का बालरोग विशेषज्ञ डा. पियुष कनोडियाले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »