सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतीय विदेश मन्त्रीको नेपाल भ्रमण : नेपालसँग विभिन्न सहमति  र समझदारी

परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा एस जयशंकर नेपालको औपचारिक भ्रमणमा छन् । बिहीबार बिहान नेपाल आइपुगेका जयशंकर दिनभर विभिन्न भेटवार्तामा सहभागी भए भने दुईपक्षीय बैठकपछि नेपालसँग विभिन्न सहमति  र समझदारी पनि भएका छन्। 

जसअनसार नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकपछि जयशंकर र नेपाली समकक्षी साउदले  विभिन्न सम्झौता र समझदारीपत्र आदानप्रदान गरे । मन्त्रालयका अनुसार भारत र नेपालबिच नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) कार्यान्वयनका लागि सम्झौता भएको छ । नयाँ सम्झौतामा, एचआईसीडीपीहरूको कार्यान्वयनको लागि बजेटरी सिलिङ २० करोड बनाइएको छ ।

यस्तै भारत सरकार र नेपाल सरकारबिच दीर्घकालीन विद्युत् व्यापारका लागि सम्झौता भएको छ । यस सम्झौताअन्तर्गत १० वर्षको समयावधिभित्र नेपालबाट भारततर्फ विद्युत् निर्यातको मात्रा बढाएर १० हजार मेगावाट पु¥याउने उल्लेख छ ।  यसका लागि नेपालको जलविद्युत् उत्पादन क्षेत्र र प्रसारण पूर्वाधारमा पारस्परिक लाभकारी लगानीलाई प्रोत्साहित गर्न आवश्यक सबै कदम चाल्ने सहमति भएको छ । 

यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले विकास गरेको मुनाल स्याटेलाइटका लागि  प्रक्षेपण सेवा सम्झौता भएको छ । नेपाली विद्यार्थीले विकास गरेको यो भूउपग्रह भारतीय प्रक्षेपण रकेटबाट निःशुल्क प्रक्षेपण गरिने सहमतिपत्रमा उल्लेख छ । 

यस्तै नवीकरणीय ऊर्जा विकासमा सहयोगसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ । यो समझदारीपत्रले  नवीकरणीय ऊर्जामा सहकार्यका लागि सकारात्मक नतिजा हासिल हुने विश्वास गरिएको छ । 

यस्तै रक्सौल–परवानीपुर लाइनको दोस्रो सर्किट, कटैया–कुसाहा लाइनको दोस्रो सर्किटसहित तीन वटा १३२ केभी अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन भएको छ । 

यस्तै भारत सरकारले उपलब्ध गराएको जाजरकोट भूकम्पपछिको राहत सामग्रीको पाँचौँ किस्ता नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । 

यसबाहेक, जाजरकोटमा हालैको भूकम्पपछिको पुनर्निर्माणमा सहयोग पु¥याउन भारत सरकारले अनुदान सहायताअन्तर्गत करिब रु १००० करोडको आर्थिक सहायता प्याकेज उपलब्ध गराउने पनि विदेश मन्त्रालयले घोषणा गरेको छ ।

बिहीबार नै जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरे। यी भेटमा पारस्परिक हितका द्विपक्षीय विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा विदेशमन्त्रीले नेपालका अन्य वरिष्ठ राजनीतिक नेताहरूसँग पनि भेटवार्ता गरेका थिए । उनको सम्मानमा बिहीबार नै साउदले रात्रिभोजको पनि आयोजना गरेका थिए ।

यसैबीच भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको नयाँ भवन जयशंकरले भोलि  उद्घाटन गर्नेछन् । नेपालको कार्यक्रम सकेर उनी शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »