सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रहरी महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय पाल्पामा नवनिर्मित भवनहरू उद्‍घाटन

पाल्पा, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय पाल्पा परिसरमा नवनिर्मित निवास, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले स्रोत साधन र संरचनाहरूको अभावमा समेत कुनै सम्झौता नगरी नेपाल प्रहरीले आफ्ना जिम्मेवारी पूरा गर्दै आइरहेको उल्लेख गर्दै नव-निर्मित संरचनाहरूले प्रहरीलाई थप हौसला उर्जा र मनोवलका साथ व्यवसायिक तवरले स्तरीय सेवा प्रवाह गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो । संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धिदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगबाट संगठनलाई संस्थागत रूपमा मजबुत, दक्ष र सक्षम बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध र प्रयासरत रहेको बताउनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी दक्ष, सक्षम र व्यावसायिक हुनु भनेको राज्य र आमनागरिकहरू लाभान्वित हुनु हो र यसले समस्त देश र दीगो विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह हुने निश्चित रहेको उल्लेख गर्नुभयो । सुरक्षाको अभावमा शान्ति र शान्तिको रिक्ततामा समृद्धि प्राप्तिको यात्रा पक्कै पनि सहज नहुने चर्चा गर्दै उहाँले भन्नुभयो, “सुरक्षा निकाय उपर हुने लगानी अन्तत: राष्ट्रको समृद्धिको यात्रातर्फको एक कोशेढुंगा हो भनेर सबैले बुझ्न जरूरी छ ।”

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले र रामपुर नगरपालिकाका प्रमुख रमण वहादुर थापा लगायतले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई.रोशन सारूले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल ६ करोड ९५ लाख ५५ हजार ४ सय ३९ रूपैयाँ ३१ पैंसाको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।

उद्‍घाटन समारोहमा जिल्लाका १० वटै पालिकाका प्रमुखहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »