सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दोषी ठहर प्रधानाध्यापकलाई चार भ्रष्टाचार मुद्दामा तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साहलाई तीन वर्ष कैद सजाय तोकेको छ । एकै दिन चारवटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका प्रधानाध्यापक साहलाई विशेष अदालतले आइतबार कसुर निर्धारण गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारिबाबु श्रेष्ठको इजलासले उनलाई १३ लाख ३२ हजार रुपैंया विगो कायम राख्दै त्यति नै थप रकम जरिवाना गर्ने फैसला गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।

चौथो मुद्दामा साढे २ वर्षदेखि ४ वर्षसम्म कैद हुनसक्ने भएकाले विगो र कसुर निर्धारणका आज सुनुवाइको मिति तोकिएको थियो । विशेष अदालतले २४ पुसमा उनलाई दुई फरक मुद्दामा एक वर्ष ६ महिना कैद निर्धारण गरेको थियो । तेस्रो मुद्दामा ६ महिना कैद फैसला गरेको थियो ।

विद्यालयका लागि निकासा भएको रकम हिनामिनाका चार फरक मुद्दामा उनलाई दोषी ठहर गरेको हो । तीन मुद्दामा उनलाई करिव १६ लाख विगो र त्यति नै जरिवानाको फैसला भएको थियो ।

प्रधानाध्यापक साहले जिल्ला शिक्षा कार्यालयबाट ट्रस भवन निर्माण बापतको रकम दुरुपयोग गरेका थिए । झुटा प्रतिवेदन र बिल बनाई रकम दुरुपयोग गरेको आरोप उनीमाथि थियो ।

विद्यालयमै ल्याब बनाउने र शैक्षिक सामग्री खरिदको रकम दुरुपयोग गरेको अर्को मुद्दा थियो । विद्यार्थीले पाएको छात्रवृत्ति, पोशाक, झोलाको रकम समेत फर्जी कागजातका आधारमा दुरुपयोग गरेकोमा पनि मुद्दा चलेको थियो ।

अनि छात्रा शौचालयको रकम समेत दुरुपयोग गरेको भन्दै थप मुद्दा परेको थियो । उनले विद्यालय व्यवस्थापन समितिको समेत नक्कली निर्णय बनाएको आरोप थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »