सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनयुद्ध ऐतिहासिक स्मरण : राजन तिमल्सिना

नेपालमा २०५२ साल फागुन १ गते नेकपा (माओवादी) को नेतृत्वमा प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै, नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढ्यौं । विद्रोह जनताको अधिकार हो, जनयुद्ध जनयुद्ध जिन्दावाद ! भन्ने नाराकासाथ जनयुद्धको उद्घोष भएको थियोे । सर्वहारा वर्गले प्रतिक्रियावादी राज्यसत्तामाथि धावा बोलेको ऐतिहासिक दिन फागुन १ गतेलाई नेपाली श्रमजीवी वर्गले कहिल्यै भुल्न सक्दैनन् । नेपालमा माओवाद मान्ने जनयुद्ध लडेका शक्तिहरूले हरेक वर्ष जनयुद्ध दिवस धुमधामका साथ मनाउदै आएका छन । आजको दिनको ऐतिहासिक महत्वको अवसरका रुपमा शुभकामना आदानप्रदान, खुसी साटासाट, दीपावली लगायत विभिन्न कार्यक्रम गरेर स्मरण गर्ने काम गरिन्छ ।

२०५२ फागुन १ गते नेपालमा तीनवटै कमाण्डमा प्रहरी चैकीमाथि एकैदिन आक्रमण गरेर जनयुद्धको उद्घोष भएको थियो । विश्व कम्युनिस्ट आन्दोलनको एउटा टुकडी, नेपाली सर्वहारावर्गको अग्रदस्ता नेकपा (माओवादी) ले दीर्घकालीन जनयुद्धको बाटोबाट नेपालको संसदीय व्यवस्थासहितको राजतन्त्रलाई हटाएर जनताको जनवादी व्यवस्था ल्याउने नयाँ सपना देखाएको थियोे। हामीले जीवनका उर्जाशील समय देश, जनता र परिवर्तनप्रति गौरवपूर्ण रुपमा समर्पण गरेका थियौं । नयाँ इतिहास रच्ने यो अबसर अर्को पुस्ताले पाउने छैन ।

जनयुद्धको सुरुआतको दिन माओवादीसँग सीमित कार्यकर्ता, नगन्य मात्रामा साधनस्रोत र हतियार थिए । घरेलु हतियारहरु लाठी, खुकुरी र केही भरुवा बन्दुकबाट छापामार युद्ध सुरू भएको थियो । ३ वटा पुलिस चौकीहरु रुकुमको राडी चौकी, रोल्पाको होलेरी, सिन्धुलीको सिन्धुलीगढीमा एकैसाथ फागुन १ गते आक्रमण गरिएको थियो भने गोरखाको कृषि विकास बैङ्कमा पनि आक्रमण गरिएको थियो । प्रतिक्रियावादी सत्तालाई चुनौती खाडा गर्दै जनतालाई सशस्त्र पार्ने उदेश्य अनुरुप आक्रमण गरिए पनि उदेश्य अनुसार सफल हुन सकेन । पहिलो आक्रमणबाट केही विस्फोटक पदार्थ र लजिस्टिकहरु कब्जा गर्न सफल भयो । त्यस कारबाहीबाट फौजी भन्दा वैचारिक, राजनीतिक र सामरिक बहसलाई सतहमा ल्याईदियो ।

माओवादी सशस्त्र आन्दोलनले नेपाली राजनीतिक र सैन्य क्षेत्रमा ठूलो हलचल पैदा गर्यो । जनयुद्धका क्रममा विभिन्न कारबाहीहरू भए जुन नेपाली वर्गसङ्घर्षको इतिहासमा उच्च महत्वका छन । बि.सं. २०५२ देखि २०५४ सम्ममा सानासाना अनगिन्ती कारबाही र सेवोटेजहरु भए । ती कारबाही मध्ये रामेछापको बेथानमा २०५३ पुस १९ गते तीर्थ, फत्त, दिलमाया लगायतको क्षति सहित सफल फौजी कारबाही भयो । यो कारबाही नै उच्च बलिदान र सफल कारबाही बन्न पुग्यो ।

२०५५ साल मङ्सिर ८ गते सल्यानको झिम्पे रिपिटर टावरको कारबाहीबाट पश्चिम कमाण्डले सफल कारबाहीको खाता खोल्यो । त्यसपछि राप्तीमा छानिएको केन्द्रित टिम बनाएर कारबाही अघि बढायो । यस कारबाही पश्चात् देशभर पुलिसमाथि माओवादी जनसेना हाबी हुँदै गयो । रणनीतिक प्रत्याक्रमणको क्रममा २०५७ को अन्त्यतिरसम्मा प्रहरी पूर्ण रूपमा पराजित मानसिकतामा पुगेको थियो । प्रतिक्रियावादी राज्यसत्ता पराजयको अवस्थामा पुग्यो भने जनसत्ताको शक्ति एकपछि अर्को बलियो आधारको रूपमा उदाउँदै गयो । नेकपा माओवादीले २०५७ मा डोल्पाको सदरमुकाम दुनै कब्जापछि अर्को नयाँ कीर्तिमान खडा गर्यो । राजनीतिक र फौजी प्रत्याक्रमणले देशभरि माओवादी शक्ति हाबी हुँदै गयो प्रतिक्रियावादी शक्ति कमजोर बन्न पुग्यो । प्रतिक्रियावादी सत्ताले ढुंगामाटो, रुखविरुवादेखि सर्वसाधारण जनतालाई माओवादी देख्न थाल्यो र आम नरसंहारमा उत्रियो ।

सरकारको त्यस्तो रवैयाले पुरानो सत्ताप्रति जनताको आक्रोश र वितृष्णा बढायो भने माओवादी जनसत्ता र पार्टीप्रति आशा, भरोसा र विश्वास जगायो । माओवादी पार्टी जनताको रक्षकका रूपमा उदायो भने प्रतिक्रियावादी सत्ताप्रति जनताको आक्रोश बढ्न थाल्यो । सुरुआतको पश्चिम क्षेत्रमा पकड भएको जनाधार क्रमशः देशव्यापी बन्न पुग्यो । होलेरी प्रहरी चैकी कब्जापछि पुरानो सत्ताको पुलिस पूर्ण रूपमा पराजित भयो । पुलिस डिफेन्सिभ भएपछि राज्यले माओवादीसंग लड्ने छुट्टै फोर्सको रुपमा सशस्त्र प्रहरी बल गठन गर्यो । साथसाथै सरकार सेना परिचालनको गृहकार्यमा लाग्यो । तत्काल प्रतिक्रियावादी शक्तिभित्रकै आन्तरिक अन्तरविरोधका कारण सेना परिचालन सम्भव हुन सकेन । एकपछि अर्को सफलफौजी कारबाही अगाडि बढ्दै गएपछि सरकारले युद्धविरामको घोषणा गर्नुपर्ने स्थितिमा पुग्यो ।

नेकपा (माओवादी) ले पनि युद्धविरामलाई उच्चस्तरीय तयारी र अवसरको रुपमा प्रयोग गर्न युद्धविराम घोषणा गर्यो । चरणबद्ध रूपमा तेस्रो चरणसम्मको वार्ता गर्दा पनि परिणाममुखी वार्ता हुन नसकी वार्ता भङ्ग भई सेनासँगको लडाइँ माओवादी आफैँले सुरुआत गर्यो । घोराही सदरमुकाममा रहेको सैन्य ब्यारेकलगायत सम्पूर्ण कब्जा गरी माओवादीले सैन्य श्रेष्ठता कायम रहेको पुष्टि गर्यो । घोराही सदरमुकामलगायत स्याङ्जा सदरमुकाम र दुई दिनको फरकमा सोलु सदरमुकाम सल्लेरी कब्जा गरी शाहीसेनामाथि आक्रमणको थालनी भयो ।

त्यही बीचमा राजा वीरेन्द्रको वंशनास भयो भने ज्ञानेन्द्र सत्तासिन भएपछि पुरानो सत्तामा गंभिर संकट पदै भयो । माओवादी जनयुद्धभित्र पनि विभिन्न अन्तरविरोध पैदा भई चुनुवाङ बैठकले जनयुद्धको कार्यदिशालाई बदलेर गोलमेच सम्मेलन, सविधानसभा जस्ता शान्तिपूर्ण नारा तय गर्न पुग्यो । माओवादी भित्रको अन्तरविरोध र पुरानो सत्ताको संकटले माओवादी र संसदवादी शक्तिबीचमा ७ बुँदे (रोल्पा) सहमति र पछिल्लोपटक १२ बुँदे सहमति गर्ने वातावरण बन्न पुग्यो । यही सहमति पछि आएर माओवादी आन्दोलनको विघटन र विसर्जनको व्यावहारिक कडी बन्न पुग्यो । अन्ततः माओवादी आन्दोलन सम्पूर्ण रूपले विसर्जित भयो । सत्ता पूर्ण रूपले संसदवादीहरूको पोल्टामा पुग्यो र संसदवादीहरूको पल्ला भारी भयो । सामन्तवादको प्रतिनिधि राजतन्त्रको अन्त्य त भयो तर जनयुद्धको आधारभूत कार्यभार पूरा हुन सकेन । माओवादी आन्दोलनमा फूट र विभाजन भयो ।

जनयुद्ध दिवस उत्पीडकहरू, महिलाहरू, जनजाति, मधेसीहरू, दलित, मुस्लिमहरूले आफ्नो आवाज बुलन्द गरेको ऐतिहासिक दिन थियोे । जनयुद्धले सात सालदेखि अधुरा रहेका जनताका सपना संविधानसभा मार्फत नयाँ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा पूरा गर्ने कोशिस भएपनि आंशिक रुपमा केही उपलब्धि भए । जनयुद्ध यो युगकै सबैभन्दा चलायमान जनताद्वारा गरिएको नेपाली समाजलाई उथलपुथल पार्ने एउटा सचेत जनविद्रोह थियोे । जसले नेपाली समाजमा रहेको सामन्तवाद र त्यसको जरो किलो उखेलिदियो भने नेपाली जनताले आफ्नो संविधान आफैँ लेख्न वातावरण सिर्जना गर्यो । तर त्यो संविधान जनपक्षीय हुन सकेन । राजतन्त्रको अन्त भई नेपाली जनता साँच्चिकैको सार्वभौम भएको महसुस गर्न पएपनि जनताको जीवनस्तर बदलिन सकेन ।

२९औँ जनयुद्ध दिवस मनाइरहँदा जनयुद्धको ऐतिहासिकता, महत्व र सान्दर्भिकता झन् बढी उँचो बन्दै गइरहेको छ । नेपालमा जनवाद, समाजवाद र साम्यवादसम्म पुग्ने उद्देश्यसहित सुरु भएको जनयुद्ध बीचमा नै अलपत्र पर्यो । हाल माओवादी आन्दोलन फूट र बिभाजन भई संसदवादी र क्रान्तिकारी कित्तामा बिभाजन भएको छ । क्रान्तिलाई निरन्तरता दिन केही कोशिस भएपनि त्यसले गति लिन सकेको छैन । सही विचार कार्यदिशा र कार्यक्रम बिना जनयुद्धको बाँकी कार्यभार पूरा हुन सक्ने छैन । जनयुद्ध दिवसको अवसरमा महान सहिद र बेपत्ता योद्धाप्रति उच्चसम्मान, घाइते योद्धाहरुको स्वास्थ्यलाभको कामना, र जनयुद्धमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी सबैमा २९औँ जनयुद्ध दिवसको हार्दिक शुभकाकामना !

भर्खरै

सम्बन्धित खबर

Language »