काठमाडौं । बानेश्वर र सिंहदरबार नजिकै रहेको अपार्टमेन्टको छ तल्लामाथिको आफ्नो कोठामा लुटपाट तथा कुटपिट भएको घटनामा कानुनी लडाईमा जाँदा समेत नेपाल प्रहरीले वास्ता नगरेको भन्दै शोभा पाठकले आफुमाथि भएको ज्यादतीको सत्य तथ्य बाहिर ल्याउने बताएकी छिन् ।
राष्ट्रिय स्तरका नेताको आफु संग भएको केहि प्रमाणहरु नष्ट गर्ने उदेश्यले यो लुटपाट र कुटपिट भएको पाठकको आरोप छ । कोठामा भएका आफ्ना गर गहना,मोबाईल, ल्यापटप ,नागरिकता,पासपोर्ट,एटिएम कार्ड, लगायत महत्वपुर्ण कागजातहरु लुटिएको भन्दै प्रहरीमा जाहेरी दिन पुगेकी पाठकलाई नेपाल प्रहरीले समेत वास्ता नगर्नुमा यो कार्य योजनाबद्ध ढंगले भएको पाठकले आरोप लगाएकी छिन् ।
अनुसन्धानमा दक्षिण एसियामै अब्बल मानिएको नेपाल प्रहरीले घटना भएको यतिकादिन सम्म पनि एक जना दोषि लाई पक्राउ गर्न नसक्नु भनेको नेपाल प्रहरीमाथि समेत शंका उत्पन्न भएको उनले बताईन् ।
उपल्ला तहका नेता तथा केहि भरौटेहरुको प्रभावमा परेर नेपाल प्रहरीले अनुसन्धान नगरेको हो भने आफुले बाध्य भएर सबै प्रमाण सहित मिडियामा आउने बताएकी छिन् ।
“कुनै अपार्टमेन्टको छ तल्ला माथिको बन्द कोठामा त एक नारी सुरक्षित छैन भने सामान्य परिवारका र सडकमा रहेका महिलाहरु कसरी सुरक्षित हुन सक्लान्” भन्दै पाठकले सरकार र सम्बन्धित निकाय प्रति आक्रोश ब्यक्त गरेकी छिन् ।
एकजना प्रभावशालि नेताले आफुलाई भेट्न आएको भन्दै ढोका खोल्दा २ जना अपरिचित व्यक्तिहरु कोठामा पसेर लुटपाट र कुटपिट गरेको भन्दै पाठकले घटना योजनाबद्ध भएको बताईन् ।
घटना योजनाबद्ध नभएको भए लुटपाट हुने बित्तिकै कसरी ति फोटाहरु सार्वजानिक भए ? लुटपाटको घटना भएको केहि समय पछि नै आफ्नो मोबाईलमा भएको फोटोहरु केहि मिडिया मार्फत सार्वजानिक भएको भन्दै लुटपाटको अनुसन्धानमा ति मिडियाहरुलाई समेत तान्नु पर्ने उनले माग गरेकी छिन् ।
सबै डाटाहरु डिलेट गर्न मोबाईल र ल्यापटप लगिएको भएपनि त्यस्ता कुनै पनि प्रमाण नष्ट नभएको तथा सबै डाटा आफु संग सुरक्षित रहेको पाठकले बताएकी छिन् । यो प्रबिधिको युगमा प्रबिधिको प्रयोग बारे आफुलाई ज्ञान भएकोले सबै डाटाहरु सुरक्षित राख्न सफल भएको उनको दावी छ ।
सत्यता र तथ्यहिन रुपमा आफ्नो व्यक्तिगत जिवनमाथि लान्छना र आरोप लगाउँदै बिभिन्न मिडिया र सामाजिक सन्जाल मार्फत चरित्र हत्या गरेको भन्दै पाठकले प्रेस काउन्सिलमा समेत उजुरी दर्ता गराएकी छिन् ।
प्रेस काउन्सिलमा उजुरी दर्ता गरेपछि केहि मिडियाहरुले त्यस्ता समाचार र भिडियो रिपोर्टहरु हटाएको समेत उनले बताईन् । सत्य तथ्य र प्रमाणमा आधारीत भएर समाचार संप्रेशण गर्न उनले मिडियाहरुलाई आग्रह समेत गरेकी छिन् ।
आफु बिरुद्ध राज्यको चौथो अंगको रुपमा रहेको मिडिया र अनुसन्धानमा अब्बल मानिने नेपाल प्रहरी समेतको प्रयोग गरेर सिध्याउन खोजेको भए पनि आत्मबल बलियो बनाएर कानुनी लडाईमा गए पछि केहि साहस पैदा भएको पाठकले बताईन् ।
आफुलाई आत्महत्या गर्न समेत बाध्य बनाउन सक्ने सम्मको स्थिति पैदा गरिएपनि आफु संग पाँच बर्ष देखिको सबै प्रमाणहरु सुरक्षित रहेकोले त्यसैको आधारमा कानुनी लडाई जित्ने उनले बताईन् ।
करीब ५ बर्ष देखि आफुलाई बिभिन्न प्रलोभन र प्रभावमा पारि स्वार्थ पुरागर्ने व्यक्तिकै संलग्नता र योजनामा यस्तो घटना घटाईएको भन्दै उ संग भएको म्यासेन्जर च्याट देखि गरिएका सबै कुराकानीहरुको रेकर्ड आफु संग सुरक्षित रहेको र कानुनी कार्बाहीमा जाँदा सम्बन्धित निकायलाई बुझाउन आफु तयार रहेको समेत उनले बताईन् । यी सबै घटनाको पछाडी हात रहेको ब्यक्तिको विवरण पत्रकार सम्मेलन मार्फत सप्रमाण सार्वजानिक गर्ने भन्दै पाठकले सत्यको जितहुने बिस्वास लिएको बताईन् ।