काठमाडौं । पछिल्लो तथ्यांकले नेपालमा युवाको जनसंख्या ४२-४५ प्रतिशतको हाराहारीमा रहेको देखिन्छ। यो जनशक्ति कामको खोजी लगायत विभिन्न बहानामा प्रत्येक दिन विदेशिने गरेको देखिन्छ।
यसको दुष्प्रभाव विस्तारै समाजमा देखिन थालिसकेको छ। व्यवसाय सुक्दै गैरहेको छ। बजार सुक्नुका अनगिन्ती कारण हुनसक्छन् तर तीमध्ये एक कारण उपभोग्य जनशक्ति विदेशिनु पनि हो। यस्तो प्रवृत्तिले बजारले उपभोक्ता पाउन सकेको छैन।
देशमा अडिएका युवाहरू पनि धेरै बेरोजगारै बस्न बाध्य छन्। उनीहरूसँग भलाकुसारी गर्ने हो भने सबै विदेशिने तयारी गरिरहेको भान हुन्छ। यही गतिमा नेपालको अर्थतन्त्र अगाडि बढ्ने हो भने अगाडिका दिनहरू झन् असहज रहनेछन्।
त्यसो त नेपालमा उद्यम गर्ने चाहना भएका युवा नभएका पनि होइनन् तर उद्यम गर्नेहरूको लागि भनेर पाइने विशेष सहुलियतमा सबैको पहुँच छैन भने बजार अत्यधिक महँगो हुनाले उद्यमीलाई व्यवसाय चलाउनै मुस्किल छ। यस्तो जटिल परिस्थितिमा गाँठो फुकाउने नीति बन्न सक्छ अंशकालीन रोजगारी नीति ९पार्ट टाइम जब पोलिसी०।
अहिले नेपालको अनौपचारिक क्षेत्रको हिस्सा लगभग ६२ प्रतिशत रहेको अनुमान छ। यो क्षेत्रलाई औपचारिक रूपमा देशको अर्थव्यवस्थासँग जोड्न सके देशको अर्थतन्त्रको आकार पनि अलि फराकिलो हुनेथियो।
भारतमा नीति आयोगको प्रतिवेदन अनुसार सन् २०३० सम्ममा २ करोड ३५ लाख मानिस अनौपचारिक क्षेत्रमा हुने अनुमान गरी ‘गिग इकोनोमी पोलिसी’ लागू गरिंदैछ। अब नेपालमा पनि छिटोभन्दा छिटो अनौपचारिक क्षेत्रलाई राष्ट्रिय आर्थिक प्रणालीमा जोड्ने अनि पार्ट टाइम जब लागू गर्ने गरी नीति लिनु आवश्यक छ।
युवाहरू आर्थिक हिसाबले आत्मनिर्भर हुन चाहन्छन्। तर अहिले बुवा–आमासँग निर्भर हुनुपर्ने, बुवाआमा सम्पन्न नभए पढाइ नै छोडेर काम गर्न जानुपर्ने र धेरै जस्तो व्यावसायिक संस्थाले त सरकारले तोकेको न्यूनतम तलबसम्म पनि नदिने अवस्था छ।
यस्तो अवस्थामा नेपालमा युवाको लागि पार्ट टाइम कामको नीति हुने हो भने युवाहरू पढाइसँगै काम पनि गरेर आफैं आत्मनिर्भर हुनसक्ने थिए। बिहान क्याम्पस पढे दिउँसोको समय ५र६ घन्टा नै काम गर्न र दिउँसोमा पढाइ भए बिहान–बेलुका गरेर ४र५ घन्टा काम गर्न सक्छन्।
अहिले आर्थिक हिसाबले मध्यम वा उच्चवर्गीय परिवारमा खासै छोराछोरीलाई काम गर्न पठाउने चलन छैन, पढाइ सकेर काम गर्ने हो भन्ने सोच हावी छ। तर यही वर्गका युवा विदेश गए काम गर्न जाने गरेको देखिन्छ। अब नेपालमा पनि सबै घरहरूबाट आफ्ना छोराछोरीलाई काम गर्न प्रेरित गर्नुपर्ने देखिन्छ। समाजमा श्रम संस्कृतिको विकास गर्नुपर्ने देखिन्छ।
काम जस्तोसुकै होस् तर काम चैं गर्नुपर्छ भन्ने चेतना समाजमा हुनुपर्दछ। मान्छेले काम गर्दै गएपछि आफ्नो अनुभव र सीप अनुसार राम्रो रोजगारीको अवसर आफैं भेट्ने देखिन्छ। यसो हुँदा युवा आर्थिक हिसाबले आत्मनिर्भर हुँदै भविष्यमा राम्रो रोजगारी पाउने सम्भावना हुन्छ। पैसा कमाउन जति महत्वपूर्ण छ, जीवन पढ्न पनि उति नै महत्वपूर्ण छ। जीवनका गल्ती तथा अनुभवबाट पाठ सिक्न त्यति नै महत्वपूर्ण छ।
पार्ट(टाइम कामले आत्मनिर्भर युवा सहितको समाज सिर्जना गर्छ। अंशकालिक कामले युवा मूल्यवान् सीप र अनुभवद्वारा सुसज्जित हुन्छन्। समस्या समाधानको शिल्पले उनीहरूको आत्मविश्वास बढ्छ। सम्पर्क र सम्बन्धहरू विस्तार हुन्छन्।
पैसा कमाउँदाको दुःख बुझेपछि उनीहरूले पैसाको मौद्रिक मात्र होइन, अनेकौं आयामबाट मूल्यहरू बुझ्छन्। उनीहरूको वित्तीय साक्षरता बढ्छ र स्वतन्त्र नागरिक बन्ने आधार पैदा हुन्छ। यो नै आर्थिक समृद्धिको आधार बन्न सक्छ।
पार्टटाइम कामले युवा विद्यार्थीको सामाजिक जीवनको क्षितिज फराकिलो हुन्छ। आत्मखोज र सामाजिक संलग्नतामा वृद्धि हुन्छ। काममा जोडिनुअघि युवा विद्यार्थीले करिअरबारे सही निर्णय गर्न नसकिरहेका हुनसक्छन्। व्यावहारिक रूपमै काममा होमिएपछि उनीहरूको आफ्नो रोजाइको परीक्षण पनि हुन्छ।
आफूलाई गर्न मन लागेको काम गर्दा कतिपय युवापुस्ताको लागि अंशकालीन काम भविष्यको करिअर पत्ता लगाउने अवसर बन्न सक्छ। यसले युवापुस्तालाई कुलतको बाटोबाट पनि टाढा राख्न मद्दत पुर्याउँछ। पार्ट(टाइम कामको नीति लागू हुने हो भने अपाङ्गता भएका व्यक्ति, गृहिणी र सेवा निवृत्त ज्येष्ठ नागरिकसम्मले सहज रूपमा काम गर्न सक्ने वातावरण सिर्जना हुनसक्छ।
कोही युवाले स्टार्ट अप गर्न चाहन्छ भने पनि पार्ट टाइम काम गरेर आफ्नो ड्रिम प्रोजेक्टको लागि सेभिङ गर्ने र स्टार्ट(अप गर्ने पनि हुनसक्छ। उद्यम गर्नेको लागि एउटा राम्रो अवसर पनि हो। पार्ट(टाइम जब नीतिले देशमा धेरैभन्दा धेरै स्टार्ट(अपहरू जन्माउन पनि मद्दत पुग्छ जसको प्रत्यक्ष योगदान देशको अर्थतन्त्रमा हुन्छ।
अर्थतन्त्र चलायमान हुने र धेरैभन्दा धेरै कारोबार भइरहने कारणले यो नीतिले लक्षित वर्गलाई मात्र होइन देशको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी मा पनि योगदान पुर्याउन मद्दत पुग्छ। यो नीति लक्षित वर्गको लागि मात्र नभएर व्यावसायिक संस्था र उद्यमीहरूको लागि पनि उत्तिकै प्रभावकारी हुनेछ।
आफूलाई चाहिएको काम जिम्मा लिएर गर्ने व्यक्ति भए महिनाभरिको तलब दिएर कामदार राख्नुपर्ने झन्झटबाट मुक्त हुन सकिन्छ। यसले व्यावसायिक संस्थाको खर्च कम हुन्छ। साथै श्रम संस्कृतिको विकास गर्न सकिन्छ।
बजारमा धेरै युवा कामकै खोजीमा हुन्छन् र विभिन्न प्लेटफर्मको मद्दतले आफूलाई चाहिएको जस्तो सीपयुक्त कामदार खोज्न पनि सहज हुन्छ। मार्केटमा प्रतिस्पर्धा हुने हुँदा राम्रो नतिजा दिने कामदारको बढी माग हुने र कामदारले पनि राम्रो नतिजा दिने अभ्यासको विकास हुन्छ।
उपभोक्ताको लागि पनि यो नीतिले धेरै हदसम्म मद्दत पुर्याउँछ। बजार स्वतः प्रतिस्पर्धी हुने हुनाले गुणस्तर र सुलभ हुने गरी धेरै विकल्प उपलब्ध हुन्छन् र उपभोक्ताले आफ्नो चाहना अनुसारको उत्पादन वा सेवा मार्केटबाट पाउन सक्छन्।
अंशकालीन काम किताबमा पढेका सैद्धान्तिक ज्ञानलाई व्यावहारिक ज्ञानमा रूपान्तरण गर्ने महत्वपूर्ण अवसर सावित हुनेछ। यसले विद्यार्थीलाई कक्षाकोठा सिकाइको सीमितताबाट बाहिर निकाल्छ। कडा परिश्रम, समर्पण र लगनशीलताको मूल्य जगाउँछ।
यसले युवामा उद्यमशीलता र नवीनतालाई बढावा दिन्छ, व्यक्तिगत, पारिवारिक, आर्थिक, सामाजिक चुनौतीको नवीन समाधानहरू खोज्न अभिप्रेरित गर्छ, तिनीहरू परिवर्तन र प्रगतिको लागि उत्प्रेरक बन्छन्। जोखिम लिन सक्ने अनुभव र क्षमता बढ्छ। युवा पुस्तालाई उद्यमी, इन्नोभेटर र परिवर्तनकर्ता बन्ने बाटोमा हिंडाउन भूमिका खेल्छ।
त्यसैले युवाका लागि बहुआयामिक र दूरगामी फाइदा रहेका अंशकालिक रोजगार नीति बनाउन र त्यसको कार्यान्वयन गर्न ढिला गर्नुहुँदैन। यो अध्ययन र रोजगारीका लागि विदेशिने विशाल जमातलाई स्वदेशमै रोक्ने कामको पहिलो खुट्किलो बन्न सक्नेछ।