सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संसद्‌को गतिरोध अन्त्यका लागि चार दलको बालुवाटारमा छलफल

काठमाडौँ ।  संसद्‌को गतिरोध अन्त्य गर्ने विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीच बालुवाटारमा छलफल भएको छ । कांग्रेसले सहकारीको रकम हिनामिना छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागका विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार अपराह्न बैठक बसेको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल संसद्‌को गतिरोध अन्त्यका लागि कांग्रेसहित निर्णायक वार्ताका लागि चार दलको बैठक बोलाएका थिए । कांग्रेसहित छलफलअघि प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरेका थिए । त्यसपछि कांग्रेससहित चार दलको बैठकमा सहकारीको रकम ठगीको छानबिन गर्न संसदीय समितिको कार्यक्षेत्रमाथि छलफल भएको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम ठगीमा संलग्न भएको भन्दै विगतमा उनी संलग्न सहकारीको नामै तोकेर अनुसन्धान गर्नुपर्ने प्रस्ताव गरेको छ भने सत्तारुढ दल संकटग्रस्त सहकारी केन्द्रित संसदीय छानबिन समिति बनाउने बताएको छ । आइतबार संसद्‌को गतिरोध अन्त्य भएमा मात्र सोमबार प्रधानमन्त्री दाहालले विश्वासको मत लिने वातावरण बन्ने छ । त्यसैले दाहालले कांग्रेससँग निर्णायक वार्ता गरी संसद्‌को गतिरोध अन्त्य गर्न चाहेका छन् ।

सत्तारुढ दलले सहकारी ठगी सम्बन्धमा लामिछानेमाथि प्रश्न उठेकाले उनले संसद्‌मा आफ्नो प्रस्टिकरण दिन पाउनुपर्ने, त्यसपछिमात्र संसदीय छानबिन समिति गठन प्रक्रिया अघि बढाउने बताउँदै आएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »