सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहरिएका कर्मचारी मृत भेटिए

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले गरेको सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा भ्रष्टाचार भएको प्रकरणमा दोषी ठहरिएका एक जना कर्मचारी मृत फेला परेका छन् ।

सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल बिहीबार झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ । घरमा सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

प्रहरी स्रोतका अनुसार, सुसाइड नोटमा आफ्नो मृत्युको जिम्मेवारी आफैं भएको भन्दै कसैको दोष नरहेको लेखिएको छ ।

प्रहरी वृत्त, ठिमीका अनुसार, केएमसी मेडिकल कलेज दुवाकोटमा बिहीबारै उनको शवको पोष्टमार्टम भइसकेको छ । परीक्षणको प्रतिवदेन आउन बाँकी छ ।

पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नु अघि,उनी वन तथा वातावरण मन्त्रालयमा उपसचिव स्तरमा कार्यरत थिए ।

विशेष अदालतले ११ जेठमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित पोखरेल, इञ्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान र मेपटेक बिल्डिङ सर्भिसेसका निर्देशक भुवन महर्जनलाई दोषी ठहर गरेको थियो ।

उनीहरुलाई दोषी ठहर गर्दै जेल र जरिवाना सजाय सुनाएको थियो । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका अरु ५ जनाले भने सफाइ पाएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »