सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया नै रद्द हुने सम्भावना

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका उम्मेदवारमध्ये आइतबारको अन्तर्वार्तामा दुईजना मात्रै उपस्थित भएका छन् ।

अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनालाई आइतबार कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । दिउँसो १२ : ४५ भित्र उपस्थित हुनुपर्नेमा २ जना मात्रै उपस्थिति भए, बाँकी ३ जना अनुपस्थित भएका हुन् ।

सिफारिस समितिले बोर्ड अध्यक्षका लागि कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था छ । धितोपत्रसम्बन्धी ऐनको दफा ७ को उपदफा ४ मा भनिएको छ, ‘समितिले नाम सिफारिस गर्दा यस ऐनबमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्नेछ ।’

पाँचमध्ये तीन जना अन्तरवार्तामा नै उपस्थित नभएपछि उपस्थित भएका दुईजनाको मात्रै नाम सिफारिस गर्न मिल्दैन । जसकारण कानूनी रुपमा सिफारिस प्रक्रिया नै रद्द हुने अवस्था आएको हो ।

सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै कार्यायोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि उपस्थित भए । सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईंले सल्लाह गरेरै अन्तर्वार्तामा नगएको एक विश्वस्त स्रोतले अनलाइनखबरलाई बतायो । माओवादी निकट मानिएका तीनजना अनुपस्थित रहनुमा राजनीतिक दाउपेचलाई नै प्रमुख कारण मानिएको छ ।

तर, ती तीन जनामध्ये एकजनाले आफू बाहिर रहेकाले आउन नसक्ने जानकारी दिएको अर्थ मन्त्रालयका सचिव तथा सिफारिस समितिका एक सदस्यले बताए । ‘एकजनाले अहिले आउन नसक्ने अवस्था छ, पछि आउँछु भन्ने जानकारी बिहान मात्रै पठाउनुभएको जानकारी पाइयो, अहिले भ्याइनँ पछि आउँछु भन्नेलाई अवसर दिनुपर्छ,’ उनले भने, ‘त्यसो हुँदा अहिलेको प्रक्रिया रद्द हुने र अर्को प्रक्रिया सुरु हुने भन्ने होइन ।’

पुस २० गतेदेखि तत्कालीन अध्यक्ष रमेशकुमार हमाल कार्यकाल सकेर बाहिरिएपछि बोर्ड नेतृत्वविहीन छ । अध्यक्ष नियुक्तिका लागि माघको पहिलो साता सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मिनबहादुर श्रेष्ठको नेतृत्वमा सिफारिस समिति गठन भएको थियो ।

फागुन दोस्रो साता सिफारिस समितिले अध्यक्ष पदका लागि आवेदन माग गरेको थियो । जसमा १९ जनाले आवेदन दिएका थिए । यीमध्येबाट चैतमा ५ जनाको नाम सर्टलिस्ट गरियो । सर्टलिस्टमा परेकालाई कार्ययोजना प्रस्तुत गर्ने समय विभिन्न बहानामा धकेलिँदै लगियो । अन्तर्राष्ट्रिय लगानी सम्मेलन, बजेटको तयारी जस्ता कारण देखाउँदै धकेलिएको अन्तर्वार्ता आइतबारका लागि तय गरिएको थियो ।

धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति गर्दा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्तिहरु मध्येबाट उपयुक्त व्यक्तिलाई अध्यक्षको पदमा नियुक्ति गर्ने व्यवस्था उल्लेख छ ।

बोर्ड अध्यक्ष नियुक्तिको विषय नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स प्रक्रियासँग जोडिएको छ । त्यसो हुँदा कसलाई अध्यक्ष बनाउने भन्ने विषयमा अर्थमन्त्री मात्रै होइन, प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रत्यक्ष चासो दिएको स्रोतको भनाइ छ ।

राजनीतिक शीर्ष नेतृत्व नै बोर्ड अध्यक्ष नियुक्तिमा खुलेर अघि आएपछि पाँच महिनादेखि अध्यक्ष नियुक्त हुन सकेको छैन । ‘नयाँ स्टक एक्स्चेन्ज सञ्चालनका लागि विभिन्न व्यवसायिक घरानाहरु लागेका छन्, उनीहरुले आअफ्ना उम्मेदवारहरु बोकेर राजनीतिक नेतृत्वलाई दबाब दिइरहेका छन्,’ स्रोतले भन्यो ।

एमाले अध्यक्ष केपी ओलीले बोर्ड अध्यक्ष नियुक्त गर्न आफूले ५ अर्ब खायो भन्ने हल्ला चलाइएको बताएका थिए । ओली र प्रचण्डले नियुक्त गर्न चाहेका उम्मेदवारलाई अध्यक्ष बनाउन अर्थमन्त्री पुन तयार नभएपछि अहिले समस्या आएको विश्वस्त स्रोतको भनाइ छ ।

‘ओली–प्रचण्डको उम्मेदवार एउटा छ, अर्थमन्त्रीको अर्कै,’ स्रोतले भन्यो, ‘आइतबार अन्तर्वार्ता दिन जाने र नजानेको समूहले पनि त्यही कुराको झल्को दिन्छ ।’

अन्तर्वार्ता दिन नगएको अधिकारी, चापागाईं र कार्कीलाई अनलाइनखबरले सम्पर्क गर्न खोज्दा उनीहरु सबैको फोन स्वीच अफ थियो । हाल नेप्सेको सीईओ रहेका कार्की र धितोपत्र बोर्डका कार्यकारी निर्देशक अधिकारी दुवैले आइतबार बिदा लिएर बसेको सम्बन्धित कार्यालय स्रोतले बताएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »