सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उत्पादन बढाउन कृषि यन्त्र, मल खाद्य र सिँचाइको व्यवस्था गरिने

नेपालगन्ज, लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले कृषि उत्पादन बढाउन सरकारले आधुनिक कृषि यन्त्रको पहुँच बढाउनुका साथै सिँचाइ र मल खाद्यको उचित व्यवस्था गर्ने बताउनुभएको छ । बाँकेको नेपालगन्ज १९ पुरैनी शान्ति चोकमा आयोजना गरिएको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव कार्यक्रममा बोल्दै मन्त्री यादवले सरकारले कृषि उत्पादन वृद्धिका लागि किसानलाई सबै प्रकारका सहयोग गर्ने बताउनुभएको हो ।

लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चेत नारायण आचार्य, जलश्रोत, ऊर्जा तथा सिचाई मन्त्री कृष्णा केसी नमुना, कृषि मन्त्री भण्डारीलाल यादव र आन्तरिक मामिला मन्त्री दिनेश पन्थी गरेर चार जना मन्त्रीहरू सहभागी हुनु भएको सो महोत्सवमा बोल्ने अधिकांश मन्त्रीहरूले कृषिमा युवालाई आकर्षित गर्न नसकेसम्म बेरोजगारी समाप्त गर्न नसकिने र आर्थिक विकासलाई पनि अगाडी बढाउन समस्या हुने कुरामा जोड दिनुभयो । सो अवसरमा कृषि मन्त्री यादवसहित आर्थिक मामिला मन्त्री आचार्य र आन्तरिक मामिला मन्त्री पन्थीले बोल्नुभएको थियो ।

औपचारिक कार्यक्रमपछि सहभागी चारै जना मन्त्री मन्त्रालयका सचिव, विभाग प्रमुख, कृषि ज्ञान केन्द्रका कर्मचारी, स्थानीय किसान र सर्वसाधारणले सामूहिक रोपाई पनि गर्नु भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद खाँले बताउनुभयो । उहाँका अनुसार सो कार्यक्रममा कृषि मन्त्रालयका निमित्त सचिव श्रीधर ज्ञवाली, कृषि विकास निर्देशनालयका महानिर्देशक यम नारायण देवकोटा, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, बाँकेका प्रहरी प्रमुख तुल बहादुर कार्की, सशस्त्र प्रहरीका एसपी विमल डाँगी लगायतको पनि सहभागिता रहेको थियो ।

सोही प्रकारले बाँकेको खजुरा १ सैनिकमा विशेष कार्यक्रम गरेर धान दिवस मनाइएको नेकपा एमाले बाँकेका उपसचिव किशोर थापाले बताउनुभयो । उहाँले सो अवसरमा ठुलो सङ्ख्यामा जम्मा भएका स्थानीय किसानले सामूहिक रोपाइ गरेर दिवस मनाएको बताउनुभयो ।

यसैगरि जिल्लाका अन्य विभिन्न स्थानमा पनि विभिन्न कार्यक्रमहरू गरेर २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । बाँकेमा धान रोपाइँ हुने कूल ३६ हजार ५०० हेक्टर खेतीयोग्य जग्गा छ । गत वर्ष पनि सोही क्षेत्रफल खेतमा धानखेती गरिएको थियो । अहिले पनि सबै क्षेत्रफलमा धानखेती हुने अनुमान रहेको कृषि ज्ञान केन्द्रका प्रमुख शकिल अहमदले बताउनुभयो । उहाँका अनुसार गत वर्ष बाँकेमा चार मेट्रिकटन प्रतिहेक्टरका दरले एक लाख ४६ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुने अनुमान छ ।

भर्खरै

सम्बन्धित खबर

Language »