सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बागमतीका मुख्यमन्त्री प्रचण्डकै बाटो पछ्याउँदै

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै बाटो पछ्याइरहेको देखिन्छ । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम अनुसार संघमा नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत सामना गर्ने योजना बनाएका छन् ।

केन्द्रमा बनेको गठबन्धनकै आधारमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल पनि अल्पमतमा परिसकेका छन् । मुख्यमन्त्री जम्कट्टेलले पनि प्रधानमन्त्री प्रचण्डले झैँ विश्वासको मत सामना गर्ने योजना बनाएका छन् ।

बागमती सरकारबाट नेकपा एमालेले समर्थन फिर्ता लिइसकेको छ भने एमालेका मन्त्रीले समेत राजीनामा दिइसकेका छन् । प्रदेश सरकारबाट एमाले संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले राजीनामा दिएका हुन् ।

एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्रीको पक्षमा प्रदेश सभामा २९ जना सांसदमात्र सीमित भएका छन् ।

आइतबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिन तयार भएका हुन् । एमाले–कांग्रेस गठबन्धन अनुसार प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति बनेको र संसद्को दुई ठुला दल मिलेर सरकार बनाउँदा सहजै बहुमत पुग्ने भएकाले राजीनामा दिएर बाहिरिने तरखरमा मुख्यमन्त्री थिए । तर, संसदीय दलको बैठकले विश्वासको मत फेस गर्न सुझाव दिए अनुसार मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिन तयार भएका हुन् ।

गत २०७९ पुस २५ गते प्रदेश सरकारको नेतृत्व सम्हालेका मुख्यमन्त्री जम्कट्टेलले ३ पटक विश्वासको मत लिएर सरकार टिकाएका थिए । उनले एमाले, राप्रपा माओवादी केन्द्रको गठबन्धनबाट २०७९ माघ ३ मा विश्वासको मत लिएका थिए । सो समयमा उनले १०५ सांसदको समर्थन पाएका थिए ।

२०७९ फागुन १० मा एमाले र राप्रपा बाहिरिएपछि प्रदेश सरकार फेरि अल्पमतमा पर्यो । सो पश्चात् कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट चैत १० मा विश्वासको मत लिएका उनले ६७ सांसदको समर्थन पाए । उक्त समीकरण २०८० फागुन २१ मा ढले पश्चात् एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा उनले चैत १९ मा विश्वासको मत लिए । सो समय उनले सरकार गठन र टिकाउन आवश्यक सामान्य बहुमत अर्थात् ५६ सांसदको समर्थन पाएका थिए ।

११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »