सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युरोमा स्पेनको लोभलाग्दो लय

काठमाडौं । प्रशिक्षक लुइस डे ला फोन्टेले मुख्य स्ट्राइकरलाई सब्सिच्युट गरिसकेका थिए । अनि खेल १–१ को बराबरीमा पेनाल्टी सुटआउटतर्फ धकेलिँदै थियो ।

५१ औं मिनेटमा गोल गर्दै अग्रता लिए पनि त्यसलाई बचाउन नसक्दा स्पेन बराबरीको दबाबमा पुगिसकेको थियो । टाइब्रेकरको खराब ट्याग बोकेको स्पेनको हातबाट खेल फुत्किसकेको ‘लख’ खेलकुद विश्लेषकहरुले गर्न थालिसकेका थिए ।

अतिरिक्त ३० मिनेट समय सकिन मात्र १ मिनेट बाँकी छँदा डानी ओल्मोले लेफ्ट साइडबाट बल अघि बढाउँदै ‘हेडरेन्ज’ मा डी–बक्सभित्र बल फालिदिए । जर्मनीका डिफेन्डर रुडिगरको ‘ब्याक साइड’मा रहेका मिचेल मोरिनो ‘हावा’ बेगझै जम्प गर्दै यस्तो हेड गरे जर्मन गोलरक्षक म्यानुअल नुयर र डिफेन्डरले भेउ नै पाएनन् । खेलको ११९औं मिनेटमा स्पेनका मोरिनोले बल जाली चुमाएपछि जर्मनीविरुद्ध आफ्नो दबदबा फर्काइछाड्यो ।

सनसनीपूर्ण नतिजासँगै स्पेन लगातार दास्रो पटक युरोकपको सेमीफाइनलमा प्रवेश गर्‍यो । उपाधिको प्रमुख दाबेदार मानिएको जर्मनी भने गृहमैदानमा निराश बन्न पुग्यो ।

स्पेन र जर्मनीबीचको यो खेललाई खेलकुद विश्लेषकहरुले ‘फाइनल अघिको फाइनल’को संज्ञा दिएका थिए । नभन्दै खेल त्यस्तै रह्यो–जस्तो विश्लेषकहरुले भनेका थिए ।

यो खेल जित्नु अघि पनि स्पेनलाई युरोकप २०२४ को प्रमुख उपाधि दाबेदारको रुपमा हेरिएको थियो । युरोकपमा गरेको प्रदर्शनलाई लिएर स्पेनको अहिलेको स्पीरिटबारे अनेक तर्क–वितर्क हुन थालेका छन् । सन् २००८ मा युरोकप, २०१० मा विश्वकप र २०१२ मा युरोपक जित्दाको लय अहिलेको स्पेनिस टोलीमा देखिएको धेरैको विश्लेषण थियो ।

हुन पनि स्पेनले युरोकपमा सानदार सुरुवात गर्दै शतप्रतिशत नतिजा निकालेको छ । समूह चरणमा स्पेन यस्तो समूहमा परेको थियो, जसलाई ‘गु्रप अफ डेथ’ अर्थात् सबैभन्दा कठिन समूह भनिएको थियो । स्पेनसँगै डिफेन्डिङ च्याम्पियन इटाली, क्रोएसिया र अल्वानिया समूहमा थिए । तर लगातार जित निकाल्दै सेमीफाइनलमा स्पेनले फ्रान्ससँगको भेट पक्का गरेको छ ।

आलोचकहरुले स्पेनिस टिम लगाउने गरेको मुख्य आरोप हो–उनीहरु गोलका लागि खेल्दैनन्, बल पोसेसनका लागि खेल्छन् । यसअघिका खेलहरुमा स्पेनको शैली त्यस्तै थियो – टिकिटाका खेल्ने, बल पोसेसन आफ्नो पकडमा राख्ने ।

२०१० मा विश्वकप जित्दा समेत स्पेनले जम्मा ८ गोल गरेको थियो । त्यसपछिका वर्षहरु पनि स्पेनले टिकिटाकालाई निरन्तरता दियो । सुन्दर बल खेल्ने टिमको रुपमा चिनिएको स्पेन गोल गर्नबाट चुक्थ्यो ।

तर जारी युरोकपको सुरुवाती खेलबाटै स्पेनले आलोचकहरुलाई जवाफ दिएको छ– गोलको वर्षा गरेर ।

समूह चरणको पहिलो खेलमै बलियो मानिएको क्रोएसियामाथि स्पेनले ३–० को सानदार जित निकाल्यो । त्यसपछि डिफेन्डिङ च्याम्पियन इटालीमाथि पनि १–० को जित निकाल्यो ।

दुई खेलबाटै समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरिसकेको स्पेनले समूह चरणको अन्तिम खेल अल्विानियाविरुद्ध दोस्रो रोजाइका खेलाडी उतारेको थियो । अल्विानियालाई १–० ले हराउँदै समूह चरणमा शतप्रतिशत जित निकाल्ने एक्लो टोली स्पेन बन्यो ।

यतिमात्रै होइन, समूह चरणका खेल सकिँदा सबै टिमले गोल खाएका थिए, स्पेन अपवाद रह्यो । जारी प्रतियोगितामा पनि १ गोल पनि नखाई समूह चरण टुंग्याउने एक्लो टिम स्पेन बनेको छ । २००८ पछिको स्पेनको यो पहिलो रेकर्ड हो ।

स्पेनको अन्तिम १६ को खेल डार्क हर्स मानिएको जर्जियाविरुद्ध थियो । यो खेल स्पेनले पूरापुर आफ्नो पक्षमा राख्यो । ७५ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राखेको स्पेनले विपक्षीको पोष्ट ३५ पटक आक्रमण गरेको थियो । जहाँ स्पेनले ४ गोल गर्‍यो, एक आत्मघाती गोल खायो । डिफेन्डर नोर्यान्डले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल हानेका थिए । जारी युरोकपमा स्पेनले खाएको यो नै पहिलो गोल थियो ।

अन्तिम आठमा जर्मनीविरुद्ध २–१ को नतिजा निकाल्दै स्पेन सेमिफाइनलमा प्रवेश गर्‍यो । जारी प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने टिमको अग्रस्थानमा स्पेन नै छ ।

स्पेनले ११ गोल गरेको छ भने स्पेनसँगै जर्मनीले पनि ११ गोल गरेको छ । जमर्नका २ गोल पेनाल्टीमार्फत भएका हुन् भने स्पेनले बिना पेनाल्टी ११ गोल गरेको छ ।

सबभन्दा बढी गोल गर्ने टिमको पहिलो नम्बरमा स्पेन रहेपनि सबैभन्दा बढी गोल गर्ने खेलाडीहरुको सूचीमा भने स्पानिस खेलाडीहरु भने पछाडि छन् । यसको अर्थ गोलका स्पेन कुनै एक खेलाडीमा भर पर्नुपर्दैन, जो सुकैले गोल गर्न सक्छन् ।

अहिलेसम्म स्पेनले गरेको ११ गोलमा स्पेनका ८ फरक खेलाडीको योगदान छ । स्पेनका डिफेन्डर, मिडफिल्ड र स्ट्राइकर सबैले गोल गरेका छन् । मिडफिल्डर फाबियानो रुइज, डानी ओल्मोको नाममा समान २र२ गोल छ ।

यस्तै स्ट्राइकर अल्भारो मोराटा, निको विलियम्स, मिचेल मोरिनो, डिफेन्डर डानी कार्भाहाल, मिडफिल्डर रोड्रीको नाममा समान १र१ गोल छ ।

स्पानिस टिम अहिले यति सन्तुलित छ कि डिफेन्स लाइनदेखि मिडफिल्ड र फ्रन्टलाइनसम्म ब्यालेन्स मानिन्छ ।

डिफेन्स लाइनमा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट साउदी क्लब अल नासर गएका एमरिक लापोर्त, रियल मड्रिडका नाचो, रियल सोसिडाडका रोबिन ले नोर्‍म्यान्ड छन् ।

राइट र लेफ्ट साइड विङमा क्रमश रियल मड्रिडका कार्भाहाल र चेल्सीका कुकुरेला छन् ।

बलियो डिफेन्स रहेको स्पेनको तथ्यांकले पनि पुष्टि गरेको छ । पाँच खेल सकिँदासम्म स्पेनले जम्मा २ गोल मात्रै खाएको छ । त्यो पनि एक गोल आत्मघाती थियो भने अर्को गोल जर्मनीले गरेको थियो ।

यसअघिका खेलहरुमा स्पेनको मुख्य भूमिका गोलरक्षाको मानिन्थ्यो । स्पेनको पूरापूर खेल गोल रक्षकको भरमा पथ्र्यो । किनभने स्पेनिस खेल शैली टिकिटाका र ब्याक पास थियो । यस्तो खेल शैलीमा गोलरक्षकको भूमिका निकै महत्वपूर्ण मानिन्छ । बल समात्ने मात्रै होइन, किपरको खुट्टाको कौशल पनि स्पेनिस टिममा देखिन्थ्यो ।

तर यो पाली परिस्थिति फेरिएको छ । ‘ब्याक पास’ होइन, अब स्पेनिस अट्याकिङ लाइन तीव्र देखिएको छ ।

क्वार्टरफाइनलका खेल सकिँदासम्म विपक्षीका पोस्टमा सबैभन्दा बढी स्पेनले १०० पटक आक्रमण गरेको छ । स्पेनपछि दोस्रोमा रहेको जर्मनीको ९५, तेस्रो पोर्चुगलको ८८, फ्रान्सको ८७, नेदरल्याण्डको ७४, टर्कीको ७२ र इंग्ल्याण्डको ५८ छ । यो तथ्यांकले सबैभन्दा बढी अट्याकिङ खेलमा स्पेन अगाडि रहेको देखाउँछ ।

त्यसैगरी अन टार्गेट सटमा पनि स्पेन नै अगाडि छ । १०० वटा आक्रमण मध्ये ३६ आक्रमण अन टार्गेट छन् । त्यसपछि जर्मनीको ३४, पोर्चुगलको २६ अन टार्गेट सट छ ।

स्पेनको फ्रन्टलाइनका दुई मुख्य खेलाडी हुन् निको विलियम्स र लामिन यामल । उनीहरुको प्रदर्शन र प्रशिक्षकको रणनीतिले यो कुरा प्रष्ट पारिसकेको छ । जब खेल जित उन्मुख हुन्छ, तब प्रशिक्षक फोन्टेले दुई खेलाडीमा आराम दिन्छन् ।

फोन्टले जर्मनीविरुद्धको क्वाटरफाइनलमा पनि १–० अन्तरमा जित उन्मुख भएपछि विलियम्स र यामललाई सब्सिच्युट गराएका थिए । तर ८९औं मिनेटमा जर्मनीका फ्लोरिन वोरिट्जले गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

फोन्टेले यामल र विलियम्स दुबैलाई सब्सिच्युट गराइसकेकाले ३० मिनेटको अतिरिक्त समयमा फोन्टेको रणनीति फेल हुन आशंका गरिएको थियो । तर मोरिनो आफूलाई प्रमाणित गरेपछि फोन्टेको रणनीति सफल भयो ।

जारी युरोकपमा सबैभन्दा कान्छा खेलाडी यामलले हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । उनको नाममा ३ असिस्ट छ । जारी युरोकपमा सबैभन्दा असिस्ट प्रदान गर्ने खेलाडी नै यामल हुन् ।

उनीसँगै नेदरल्याण्डका जाभी सिमोनका नाममा पनि ३ असिस्ट छ । राइट साइडका यी विंगरको प्रतिभा देखेर ठूला क्लबहरुले आँखा समेत लगाइरहेका छन् ।

त्यसैगरी लेफ्ट साइडका अर्का विंगर विलियम्सले पनि तहल्का पिटिरहेका छन् । उनका नाममा १ गोल र १ असिस्ट छ । स्पेनकै ला–लिगा क्लब एथ्लेटिक बिल्बाओका २१ वर्षीय अट्याकर विलियम्सले पनि जारी युरोकपमा सनसनी प्रदर्शन गरेका छन् । विलियम्सको प्रदर्शन देखेर बार्सिलोनादेखि, लिभरपुल चेल्सीसम्मले विलियम्सलाई अनुबन्धन गर्न तिव्र लविइङ गरिरहेका छन् ।

जारी युरोकपमा उत्कृष्ट प्रदर्शन गरेका यी दुई अट्याकरबीच यस्तो संयोग छ, दुबैको नेटिभ ल्याण्ड भने स्पेन होइन । उपहार स्वरुप स्पेनले यी दुई डायमन्ड पाएको र उनीहरुकै प्रदर्शनमा युरोकपमा स्पेनले तहल्का गरिरहेको फुटबल विश्लेषकहरुको तर्क छ । हुन पनि यी दुबै खेलाडी फरक देशका हुन् । तर अहिले स्पेनको प्रतिनिधित्व गर्दै खेलिरहेका छन् ।

स्पेनको राष्ट्रिय टिमबाट खेलिरहेका यामलका बाबुआमा भने स्पेनिस होइनन् । उनको बाबु मोरक्कोका हुन् भने आमा गुएनाकी हुन् । १३ जुलाइ २००७ मा स्पेनमा जन्मिएका यामलले २०१२ देखि बार्सिलोनाको युथ टिमबाट खेलेका थिए । ५ वर्षको हुँदा उनी बार्सिलोनाको एकेडेमीमा पुगेका थिए । त्यसपछि उनले न मोरक्कोलाई रोजे न गुएनालाई । अहिले स्पेनबाट तहल्का मच्चाइरहेका छन् ।

त्यसैगरी विलियम्स पनि स्पेनले यस्तै उपहार पाएका अर्का खेलाडी हुन् । विलियम्सका बाबुआमा घानाका हुन् । भोकमरी लागेपछि अफ्रिका विलियम्सका बाबुआमा स्पेन पुगेका थिए । अनि स्पेनमै १२ जुलाई २००२ मा विलियम्सको जन्म भएको थियो । उनका दावु इनाकी विलियम्स पनि स्पेनमै जन्मिएका थिए । यद्यपी दाजु इनाकी विलियम्स भने अहिले घानाको राष्ट्रिय टिमबाट फुटबल खेल्छन् । भाइ निको विलियम्स स्पेनबाट विश्वकप युरोकप खेलिसकेका छन् ।

यी दुबै दाजुभाइ भने स्पेनकै एथ्लेटिक बिल्बाओ क्लबबाट व्यवसायिक फुटबल खेल्छन् । उपहार पाएका यी दुई ब्ल्याक डायमन्ड (विलियम्स र यामल) को सहयोगमा स्पेनले युरोकपमा सानदार प्रदर्शन गरिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »