सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फिर्ता बोलाइएका राजदूत फर्किन किन हुन्छ ढिलाइ ?

काठमाडौँ । केही साता अगाडि सरकारले विभिन्न देशमा रहेका नेपाली राजदूतलाई फिर्ता बोलायो । फिर्ता बोलाइएका ११ जना राजदूतमध्ये हालसम्म एक जनामात्र नेपाल फर्किएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार सरकारले फिर्ता बोलाएकामध्ये हालसम्म अमेरिकाबाट निवर्तमान राजदूत श्रीधर खत्री मात्र मन्त्रालयको सम्पर्कमा आएका छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले अमेरिकाबाट फर्केका नेपाली राजदूत खत्री सम्पर्कमा आए पनि अरुको बारेमा प्रस्ट जानकारी नरहेको बताए । ‘अझै समय छ, आउँदै हुनुहुन्छ होला,’ उनले भने, ‘राजदूत फिर्ता हुने समय असार ३१ गतेसम्म छ ।’

फिर्ता बोलाइएका राजदूत असार ३१ गतेपछि सम्बन्धित देशमा कूटनीतिक सुविधा लिएर बस्न नमिल्ने राईले बताए । कसैलाई फर्किन समय लाग्यो भने त्यसको दायित्व सरकारले नलिने नीति रहेको उनले प्रस्ट पारे ।

मन्त्रालयका एक अधिकारीका अनुसार तोकिएको समयभन्दा बढी समय लाग्ने भएमा प्रमाणसहित परराष्ट्र मन्त्रालयलाई जानकारी गराउनुपर्छ ।

मन्त्रालयलाई मनासिव लागेमा सचिवले त्यसलाई केही समयका लागि सिफारिस गर्न सक्ने तर विशेष अवस्था रहेमा प्रमाणसहित खुलाएर मन्त्रालयलाई जानकारी गराउनुपर्ने प्रावधान छ । कुनै राजदूत तोकिएको समयभन्दा बढी समय त्यहाँ बस्यो भने त्यहाँ हुने खर्च सम्बन्धित व्यक्तिको नाममा बेरुजु देखाउँछ । त्यही भएर सरकारले तोकिएको समयभित्रै फर्किनु पर्ने हुन्छ । प्रायः सरकारले दिएको समयभित्रै फर्किने गरेका छन् ।

पूर्वराजदूत विजयकान्त कर्ण भन्छन्, ‘सरकारले पत्र पठाउने बित्तिकै फर्किने कुरा हुँदैन, फर्किने कुरा पनि कूटनीतिक मार्यादाभित्र पर्छ, त्यहाँका सरकार प्रमुखदेखि लिएर विदेश मन्त्रीहरूसँग भेटघाट गरेर फर्किनु पर्छ ।’

कतिपय ठाउँमा सरकार प्रमुखले नै बिदाइ कार्यक्रम गर्ने उनले बताए । राष्ट्रप्रमुखले गर्न भ्याएन भने विदेशमन्त्रीले कार्यक्रम आयोजना गर्ने र त्यो कूटनीतिक मर्यादाभित्रै पर्ने उनको भनाइ छ ।

राजदूतको जिम्मेवारी लिएर जाँदा जति प्रक्रिया पूरा गर्नुपर्छ, फर्किंदा पनि त्यति नै प्रक्रिया पूरा गर्नुपर्ने उनले प्रस्ट पारे ।

फर्किनका लागि अरु देशभन्दा युरोपेली मुलुकबाट फर्किन ढिलो हुने गरेको पाइन्छ । ती देशमा राष्ट्र प्रमुखलाई समय व्यवस्थापन गर्न नै कठिन हुने गर्दछ ।

राजदूत भएर लामो समय बसिसकेपछि ती देशका विभिन्न संघ, संस्था तथा व्यक्तिहरूसँग सम्बन्ध भइसकेका हुन्छन् । फर्किने बेलामा उनीहरूले पनि विभिन्न कार्यक्रम आयोजना गरेर बिदा गर्ने भएकाले पनि फर्किन ढिला हुने गर्दछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दिल्ली जान लागेको बेला भारतलगायत अन्य देशका राजदूतलाई सरकारले फिर्ता बोलाएको थियो । आफू भ्रमणमा जान लागेको देशकै राजदूतलाई फिर्ता बोलाएको भन्दै त्यतिबेला आलोचनासमेत भएको थियो ।

भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री प्रचण्डले राजदूत फिर्ता बोलाउने सन्दर्भमा केही त्रुटि भएको स्वीकार गरेका थिए ।

भारतका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्मासहित अमेरिकाका लागि राजदूत श्रीधर खत्री, बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, साउदी अरबका लागि राजदूत नवराज ढकाल, कतारका लागि राजदूत नरेशविक्रम ढकाल, मलेसियाका लागि राजदूत डिल्लीराज पौडेल, इजरायलका लागि राजदूत कान्ता रिजाल, डेनमार्कका लागि राजदूत डा। रामस्वार्थ राय, स्पेनका लागि राजदूत शर्मिला पराजुली ढकाललाई सरकारले फिर्ता बोलाएको छ ।

पोर्चुगलका लागि नियुक्त भएका तर जान नपाएका राजदूत सनिल नेपालको नियुक्ति पनि मन्त्रीपरिषद्ले बदर गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »